कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कोइराला विरासत अब नागेशको काँधमा

प्रकाश धौलाकोटी

काठमाडौँ — २०७४ मा मेयर र उपमेयर दुवै पद नेपाली कांग्रेसले एकलौटी जितेको ठाउँ, त्यसमाथि अहिले पाँच दलको गठबन्धन सक्रिय बनेको थियो । कांग्रेसका केन्द्रीय सदस्य र सांसद भइसकेका नेताहरू नै पूर्वको ठूलो सहर विराटनगरको साँचो लिएर राजनीतिक भविष्य सुरक्षित गर्ने दाउमा थिए ।

कोइराला विरासत अब नागेशको काँधमा

उम्मेदवार छान्दा महानगर समितिले सिफारिस गरे पनि प्रदेश समितिले केन्द्रमा पठाएको सिफारिस सूचीमा मेयरका लागि केन्द्रीय सदस्यत्रय डिला संग्रौला, अमृत अर्याल र भीम पराजुलीको नाम थियो । त्यसबेला पार्टीको सिफारिसमै नपरेका नागेश कोइराला अहिले प्रदेश १ को राजधानी विराटनगरको मेयरमा निर्वाचित भएका छन् ।

महानगर समितिले सात जनाको नाम सिफारिस गर्दा एक नम्बरमा परेका नागेशको नाम प्रदेश समितिले काटिदियो । तर, मेयरको टिकट भने उनैले पाए । कोइराला परिवारको आधारभूमि मानिएको विराटनगरमा नागेशलाई उम्मेदवार बनाउन नेता शेखर कोइराला र शशांक कोइरालाले अडान लिएका थिए ।

विधानबमोजिम प्रदेशले नै नाम नपठाएपछि नागेशलाई टिकट दिने निर्णय गर्न नेताहरूबीच चर्काचर्की नै भएको थियो । तर, शेखर र शशांकले नागेशलाई अघि सारे । हेभीवेट नेताहरूलाई पछि पार्दै पार्टीको जिल्ला उपसभापतिमात्रै रहेका नागेश विराटनगरको मेयर उम्मेदवार बनेँ । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनेका नागेशले ८ हजार ७१५ मतान्तरसहित ३० हजार १७० मत पाएर विराटनगरको मेयर जितेका छन् ।

चुनाव जितेसँगै नागेशको सार्वजनिक पदको राजनीतिक परीक्षा सुरू भएको छ । विराटनगरको मेयर बनेका उनी कांग्रेसभित्र भने कोइराला विरासतको नयाँ नेतृत्वका रूपमा उदाएका छन् । उनलाई मेयर बनाउन शेखर र शशांक दुवैले लगाएको जोडबलले पनि त्यसलाई पुष्टि गरेको छ ।

त्यसो त विराटनगरको मेयर बन्ने कोइराला परिवारबाट उनी तेस्रो व्यक्ति हुन् । यसअघि नेता शेखरका पिता केशवप्रसाद कोइराला विराटनगरको पहिलो जननिर्वाचित मेयर थिए भने ०४९ सालमा पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भाइ अशोक कोइराला मेयरमा निर्वाचित भएका थिए ।

कांग्रेसमा स्वर्गीय सुशील कोइरालापछि कोइराला परिवारको पकड कमजोर बन्यो । अहिले केन्द्रमा शेखर, शशांक र सुजाता कोइराला नेतृत्व तहमा छन् । तर, गएको १४ औँ महाधिवेशनमा यी नेता एक ठाउँमा उभिन सकेनन् । आन्तरिक प्रतिस्पर्धा र पारिवारिक बेमेलका कारण पार्टीमा कमजोर बन्नुपरेको यी नेताको बुझाइ छ । शेखर, शशांक र सुजातापछि पार्टीमा परिवारको विरासत थाम्ने नेतृत्वको खोजी भइरहेका बेला पुर्वको एकमात्रै महानगरको मेयर बनेका नागेशलाई कांग्रेसभित्र कोइराला विरासत थाम्ने नयाँ नेतृत्वको रुपमा हेरिएको छ ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफु सक्रिय राजनीतिमा हुँदै सुशीलसँगै छोरी सुजातालाई पनि अघि सारेका थिए । तर, अब शेखर, शशांक र सुजाताबाहेक कांग्रेसको राजनीतिमा सक्रिय अर्को नाम छैन, न त उनीहरूका परिवारका सदस्य नै राजनीतिमा छन् । शेखर र शशांकका एक–एक छोरी छन्, तर कांग्रेसको राजनीतिमा दुवै छैनन् ।

शेखर विराटनगरको मेयरमा नागेशलाई अघि सारेपछि उनीमाथि परिवारको राजनीति गर्न खोजेको आरोप समेत लागेको छ । कांग्रेसकै नेताहरू शेखरले नागेशलाई कोइराला विरासत थेग्ने नेतृत्वका रूपमा अघि सारेको बताउँछन् । ‘उहाँले त्यसरी भन्नुभएको छैन, तर कांग्रेसमा कोइराला विरासत भनेको सत्ता हो, अहिलेको पुस्तापछि कांग्रेसमा कोइराला विरासतको नेतृत्व कसले गर्छ भन्ने प्रश्न उठिरहेकै बेला नागेशजीलाई सार्नुभएको देखिन्छ,’ एक नेताले भने ।

नागेश र शेखर वा शशांकका बीचमा नजिकको पारिवारिक सम्बन्ध भने छैन । विराटनगरमा उनीहरू एकै परिवारकै झैँ रहेका छन् । तर, नाता भने पुस्तौँ अन्तरको छ । त्यसो त राजनीतिमै पनि नागेश ‘एन्टी कोइराला’ अभियानबाट उदाएका नेता हुन् । विद्यार्थी कालदेखि नै राजनीतिमा लागेका उनी ०५४ पछि भने सक्रिय राजनीतिमा आए । त्यसबेला नेपाल तरुण दल मोरङको कोषाध्यक्ष भएका उनी २०५६ सभापति भए । देउवाले पार्टी फुटाउँदा उनी कांग्रेस प्रजातान्त्रिकनिकट नेपाल तरुण दलको जिल्ला अध्यक्ष थिए ।

कांग्रेस एकीकरणपछि पनि उनी तरुण दलको अध्यक्ष भए । त्यसपछि पार्टी राजनीतिमा आएका उनी २०६६ सालमा कांग्रेस मोरङको कोषाध्यक्ष र २०७२ मा सचिव भएर काम गरे । गत मंसिरको महाधिवेशनले उनलाई जिल्ला उपसभापति चुन्यो । कांग्रेस एकतापछि देउवाको साथ छोडेर परिवारिक राजनीतिमै सक्रिय बनेका उनी ४९ वर्षको उमेरमा विराटनगरको मेयर बनेका छन् ।

राजनीतिसँगै व्यवसाय गर्दै आएका नागेशले विभिन्न संघसंस्थामा रहेर सामाजिक सेवामा सक्रिय थिए । ‘नागेशजी सार्वजनिक पदमा नयाँ मान्छे हो, तर पार्टी र सामाजिक क्षेत्रमा लामो समयदेखि काम गरेको मान्छे हो,’ नेता गुरुराज घिमिरेले भने, ‘वास्तवमा उहाँ फ्रेस युवा हो । उहाँसँग युवा जोस् र काम गर्न सक्ने ऊर्जा छ । उहाँबाट विराटनगरले आफ्नो आशा पूरा गर्न सक्छ जस्तो लाग्छ ।’

विराटनगरमा कांग्रेसका नागेशले मेयर जितेपनि बहुमत सिट भने एमालेले जितेको छ । १९ वटा वडामध्ये कांग्रेसले छ वटा जित्यो भने एमालेले ९ वडा जितेको छ । गठबन्धनबाट उपमेयर उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पराजित भएका छन् । एमालेकी उपमेयर उम्मेदवार शिल्पा कार्की निर्वाचित भएकी छिन् ।

बहुमत एमालेसँग भएकाले मेयर कोइरालालाई काम गर्न सजिलो नभएको नेताहरू बताउँछन् ।

यहाँका १९ वडामध्ये एमालेले १, २, ३, ४, ८, १०, ११, १४ र १९ मा जितेको छ भने कांग्रेसले ५, ६, ७, ९, १५ र १६ जितेको छ । त्यस्तै, १२ र १७ मा जसपा, १३ मा राप्रपा र १८ मा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ २२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?