१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गुजरा नगरपालिकाको मतगणनास्थल बाहिर ढुंगामुढा, प्रहरीद्वारा अश्रुग्यास प्रहार

शिव पुरी

रौतहट — रौतहटको गुजरा नगरपालिकामा मतपरिणामको विषयलाई लिएर विवाद बढेपछि स्थानीयले मतगणनास्थलको गेट तोडफोडको प्रयास गरेका छन् ।

गुजरा नगरपालिकाको मतगणनास्थल बाहिर ढुंगामुढा, प्रहरीद्वारा अश्रुग्यास प्रहार

उम्मेदवारका समर्थकहरुले ढुंगामुढा गर्दै भित्र प्रवेश गर्न खोज्दा तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ । यस नगरपालिकामा कर्मचारीले मतपरिणाम सार्वजनिक गर्दा पटक-पटक त्रुटि गर्दै आएका छन् । पछिल्लो पटक उम्मेदवारका समर्थक भने ढुंगामुढामा उत्रिएका हुन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरीको थप मद्दत टोलीसमेत त्यस क्षेत्रमा पुगेको छ । अहिले मतदानस्थल बाहिरको अवस्था तनावपूर्ण छ । मतपरिणाम नै गलत सुनाएपछि मतगणना दिउँसोबाट रोकिएको छ । अन्तिम चरणमा पुगेको मतगणना निर्वाचन अधिकृत बद्रीनारायण शर्माका कारणले रोकिएको मतगणनामा खटिएका एक कर्मचारी बताउँछन् ।

'गणना भएको मतसंख्या लेख्ने क्रममा त्रुटि भएको थियो । पछि सच्याइएको छ,' ती कर्मचारीले बताए । परिणाम गलत आउन थालेपछि मतगणनास्थल बाहिर बसेका उम्मेदवारका समर्थकले नाराबाजी गरेका थिए । त्यसपछि ढुंगामुढा गर्दै मतगणनास्थलको मुख्य ढोका फोरेर भित्र प्रवेश गर्न लागेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले मतपरिणाम गलत लेख्ने कर्मचारीलाई हटाइएको बताएका छन् । ‘मैले तथ्यांक राख्ने कर्मचारीलाई हटाएर अर्को राख्न भनिसकेको छु,’ उनले भने, ‘बाहिर केही विवाद र नाराबाजी गरे पनि भित्रको अवस्था शान्त छ । अहिले सेना र थप प्रहरी त्यहाँ पुगेको छ ।’

नगरप्रमुख पदका उम्मेदवार जसपाका शन्तलाल चौधरीको छाता छाप र वडा नम्बर ५ का स्वतन्त्र उम्मेदवार शेख जमालुद्दिनले पाएको मत परिणाम गलत सुनाएपछि विवाद बढेको हो । अहिले कांग्रेस, एमाले र एकीकृत समाजवादीलगायत दलले पुन: मतगणनाको माग अघि सारेका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?