१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

धनगढीको उपमेयरमा रोचक प्रतिस्पर्धा

मोहन बुडाऐर

धनगढी — धनगढी उपमहानगरको उपमेयर पदमा प्रारम्भिक चरणदेखि अग्रता लिइरहेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई एमालेकी उम्मेदवार कन्दकला रानाले उछिनेकी छन् ।

धनगढीको उपमेयरमा रोचक प्रतिस्पर्धा

एमालेकी कन्दकला रानाले ९८ मतले पहिलोपटक अग्रता लिएकी छन् । मुख्य निर्वाचनको कार्यालय धनगढीले बिहान सार्वजनिक गरेको मतपरिणाम अनुसार रानाले १० हजार ८ सय ८० मतसहित अग्रता लिएकी हुन् ।

माओवादीकी अधिकारी १० हजार ७ सय २ मतसहित दोस्रो स्थानमा छिन् । उपमहानगरका ८, ९, १२, १३ र १४ वडाको मतगणना भइरहेको बेला एमालेकी राना अगाडि पुगेकी हुन् ।

उपमहानगरको ८ देखि १४ सम्मको वडामा राना समुदायकोको बसोवास बढी छ । वडा नम्बर ८ र ९ एमालेकी रानाको गृह वडा पनि हो । उपमहानगरको १३ वडाको गणना सम्पन्न भइसक्दा एमालेकी कन्दकलाले माओवादीकी अधिकारीलाई ५ देखि ७ सय कम मतले पन्छ्याउँदै आएकी थिइन् ।

अहिलेसम्म ५१ हजार ६५ बढी मत गणना भइसकेको छ । उपमहानगरका कुल मतदाता ९३ हजारमध्ये ६३ हजारले मतदान गरेका छन् । मेयरपदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार मतले अगाडि छन् । हमालले २२ हजार ५ सय ४१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नृप बहादुर वडले ११ हजार ५ सय ४४ मत प्राप्त गरेका छन् । यस्तै एमालेका रण बहादुर चन्दले अहिलेसम्म ६ हजार ४ सय २३ मत पाएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?