धरानमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार हर्कराज
सुनसरी — सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले प्रमुख राजनीतिक दलका उम्मेदवारसँगको अग्रता कायमै राखेका छन् ।
काठमाडौं महानगरपालिकामा वालेन्द्र साहले अग्रता लिइरहेका बेला धरानमा पनि हर्कराजले सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवारलाई उछिनेका हुन् ।
जारी मतगणनाको पछिल्लो परिणामअनुसार हर्कराजले १५ हजार ७ सय १ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका सत्ता गठबन्धनका उम्मेदवार किशोर राईले १३ हजार ३२ मत ल्याएका छन् । एमाले उम्मेदवार मन्जु भण्डारी सुवेदीले १० हजार ५ सय ३२ मत पाएकी छिन् । उपमेयरमा गठबन्धनका माओवादी केन्द्रका अइन्द्र विक्रम वेघा १५ हजार ७ सय ८१ मतसहित अग्रस्थानमा रहेका छन् । एमालेका पदम इस्वोले १४ हजार २ सय ६७ मतसहित उनलाई पछ्याइरहेका छन् ।
पञ्चायतकालदेखि ०७४ सम्मको चुनाव कम्युनिस्टले नै जितेकाले धरान वामपन्थी गढ मानिन्छ । एमालेका लागि इतिहास फर्काउने अवसर र कांग्रेसका लागि ०७६ को जित कायम गरेर अर्को इतिहास बनाउने अवसरका रूपमा चर्चा भइरहँदा स्वतन्त्र उम्मेदवार हर्कराजले अर्कै इतिहास रच्ने अनुमानसमेत गरिएको छ ।
हर्कराजले पार्टी पनि नभएको र संगठन पनि नभएकाले धरानका २० वटा वडामध्ये कतिपयमा त भोट माग्न पनि जान भ्याएनन् । उनले नमागेको वडाहरुबाटै पनि अपेक्षा गरेभन्दा बढी भोट प्राप्त भएको छ ।
हर्कराज लामो समय राजनीति गरेका व्यक्ति होइनन् । वैदेशिक रोजगारमा करिब आधा दशक बिताएर आएका उनी धरानको खानेपानी समस्यालाई एकसूत्रीय एजेन्डा बनाएर अघि बढेका थिए । अहिले स्थानीय तहको चुनावमा पनि उनले यही एजेन्डालाई मुखर बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।
धरानमा ६२ हजार ८ सय ९७ मत खसेको छ ।
सम्बन्धित समाचार
प्रकाशित : जेष्ठ ७, २०७९ १७:४९