१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

धरानमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार हर्कराज 

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले प्रमुख राजनीतिक दलका उम्मेदवारसँगको अग्रता कायमै राखेका छन् । 

धरानमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार हर्कराज 

काठमाडौं महानगरपालिकामा वालेन्द्र साहले अग्रता लिइरहेका बेला धरानमा पनि हर्कराजले सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवारलाई उछिनेका हुन् ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार हर्कराजले १५ हजार ७ सय १ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका सत्ता गठबन्धनका उम्मेदवार किशोर राईले १३ हजार ३२ मत ल्याएका छन् । एमाले उम्मेदवार मन्जु भण्डारी सुवेदीले १० हजार ५ सय ३२ मत पाएकी छिन् । उपमेयरमा गठबन्धनका माओवादी केन्द्रका अइन्द्र विक्रम वेघा १५ हजार ७ सय ८१ मतसहित अग्रस्थानमा रहेका छन् । एमालेका पदम इस्वोले १४ हजार २ सय ६७ मतसहित उनलाई पछ्याइरहेका छन् ।

पञ्चायतकालदेखि ०७४ सम्मको चुनाव कम्युनिस्टले नै जितेकाले धरान वामपन्थी गढ मानिन्छ । एमालेका लागि इतिहास फर्काउने अवसर र कांग्रेसका लागि ०७६ को जित कायम गरेर अर्को इतिहास बनाउने अवसरका रूपमा चर्चा भइरहँदा स्वतन्त्र उम्मेदवार हर्कराजले अर्कै इतिहास रच्ने अनुमानसमेत गरिएको छ ।

हर्कराजले पार्टी पनि नभएको र संगठन पनि नभएकाले धरानका २० वटा वडामध्ये कतिपयमा त भोट माग्न पनि जान भ्याएनन् । उनले नमागेको वडाहरुबाटै पनि अपेक्षा गरेभन्दा बढी भोट प्राप्त भएको छ ।

हर्कराज लामो समय राजनीति गरेका व्यक्ति होइनन् । वैदेशिक रोजगारमा करिब आधा दशक बिताएर आएका उनी धरानको खानेपानी समस्यालाई एकसूत्रीय एजेन्डा बनाएर अघि बढेका थिए । अहिले स्थानीय तहको चुनावमा पनि उनले यही एजेन्डालाई मुखर बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

धरानमा ६२ हजार ८ सय ९७ मत खसेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ ७, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?