कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
तेह्रथुममा एमाले विभाजन र गठबन्धन असर

वडामै हारे खापुङका उम्मेदवार, गुरुङ थप शक्तिशाली

तेह्रथुम — यहाँ जन्मिएका नेकपा एमालेका अध्यक्ष केपी ओलीदेखि कृष्णप्रसाद सिटौला, विजय सुब्बा र परशुराम खापुङसम्म राष्ट्रिय राजनीतिमा सक्रिय छन् । तर, यी नेता जिल्लाबाट चुनाव लड्दैनन् । यहाँ ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट एमालेका भवानीप्रसाद खापुङ दोस्रो पटक निर्वाचित भए ।

वडामै हारे खापुङका उम्मेदवार, गुरुङ थप शक्तिशाली

एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका खापुङ अहिले स्वास्थ्य राज्यमन्त्री छन् । त्यो बेला खापुङले तत्कालीन भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङलाई पराजित गरेका थिए ।

पाँच वर्षअघि सामने–आमने भएका वर्तमान राज्यमन्त्री खापुङ र पूर्वराज्यमन्त्री गुरुङ यसपटकको स्थानीय तह निर्वाचनमा एकै ठाउँमा उभिए, गठबन्धन गरेर । तर, जिल्लाको चुनावी परिणामले खापुङ र गुरुङको राजनीतिक धरातलमा उथलपुथल ल्याएको छ ।

यो चुनावले खापुङको राजनीतिक धरातल धरमरायो । तर, कांग्रेसकी केन्द्रीय सदस्य गुरुङ जिल्लामा थप बलियो बनेकी छिन् । खापुङको पार्टी नेकपा एकीकृत समाजावादीका उम्मेदवार उनकै वडामा समेत पराजित भएका छन् ।

स्वास्थ्य राज्यमन्त्री खापुङ आचारसंहिता भुलेर चुनावको एक महिनाअघि नै आफ्नो गाउँ मेन्छ्यायेम गाउँपालिका–६, मोराहाङमा केन्द्रित बनेका थिए । चुनावमा उनी गाउँ नै बसे । गठबन्धनमा तालमेलको वातावरण बनाउनेदेखि चुनावी रणनीति बनाउनेसम्म सक्रिय भए । उनी चुनावी प्रचार प्रसारमा पनि राम्रै खटे । तर, नतिजा भने उल्टो भइदियो ।

एमालेमा हुँदा आफैंले उभ्याएको संगठनसँग अहिले उनले रोजेको नयाँ पार्टी एकीकृत समाजवादी पराजित भयो । कांग्रेससहितका दलसँग गठबन्धन गरे पनि खापुङले आफ्ना उम्मेदवार जिताउन सकेनन् । खापुङले आफ्ना पार्टीका कार्यकर्तालाई कतिपय ठाउँमा कांग्रेसको रुख चिन्हबाटै समेत लडाए, तर यसपटकको नतिजाले उनको राजनीतिक यात्रामै धक्का लाग्न सक्ने देखिएको छ ।

एमालेमा हुँदा तत्कालीन मोराहाङ गाविसका अध्यक्षसमेत भइसकेका खापुङ एमालेबाटै तीन पटक चुनाव लडे, दुई पटक निर्वाचित भएर अहिले राज्यमन्त्री छन् । शिक्षक पेसाबाट कम्युनिस्ट राजनीतिमा हाम फालेका खापुङ केन्द्रमा महासचिव पद्दति हुँदा जिल्लामा सचिव र पार्टीको जिल्ला अध्यक्ष समेत भए । तर, पार्टी फुटेपछि वडामै उनको प्रभाव कमजोर बनेको पुष्टि भएको छ । एमालेमा हुँदा दुई पटक सांसद भएर पनि मन्त्री नपाएका खापुङले पार्टी फेरेपछि गठवन्धन सरकारमा मन्त्री त हत्याए, तर उनकै वडामा पार्टीका एक जना सदस्य पनि विजयी गराउन सकेनन् ।

खापुङको स्थायी घर रहेको मेन्छ्यायेम गाउँपालिका–६ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । निवर्तमान वडाध्यक्ष प्रदीप बुढाथोकी पुनः विजयी भए । खापुङले आफ्नै वडामा चुनावी प्रतिष्पर्धामा उतारेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णप्रसाद खापुङ बुढाथोकीसंग २ सय ८२ मतान्तरले पराजित भए ।

राज्यमन्त्री खापुङको मात्रै होइन, जसपाका वरिष्ठ नेता परशुराम खापुङ समेतको गृहपालिका मेन्छ्यायेम गाउँपालिकामा गठबन्धनका अध्यक्ष उम्मेदवार पराजित भए । खापुङले जोडवल लगाए पनि यहाँको गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार निवर्तमान अध्यक्ष यादवबहादुर खापुङ नै पुनः विजयी भए ।

राज्यमन्त्री खापुङकै निर्देशनमा आठराई गाउँपालिकामा अध्यक्षबाट राजीनामा दिएर ७ नम्बर वडाको वडा सदस्यमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता मानवहादुर लिम्वु पनि वडा सदस्यमै पराजित भए । उनलाई गठबन्धनले जिल्ला समन्वय समितिको प्रमुख बनाउने सहमति थियो । उनी वडामै पराजित भएपछि गठबन्धनमा समन्वय समितिको प्रमुख कसलाई बनाउने भन्ने खोजी चलिरहेको छ ।

खापुङ सँगसँगै जिल्ला छिरेकी पूर्वराज्यमन्त्री गुरुङले भने गठबन्धनको बलमा जिल्लाका स्थानीय तहमा कांग्रेसको पकड बढाउन सफल भएकी छिन् । आठराई गाउँपालिका–४, इवाकी स्थायीवासी गुरुङको नेतृत्व वडादेखि पालिकासम्म कांग्रेसका उम्मेदवार विजयी गराउन सफल भएको छ । अघिल्लो स्थानीय चुनावमा माओवादी केन्द्रसँग गठबन्धन गरेर पनि एउटामात्रै जितेको कांग्रेसले यसपटक छ स्थानीय तहमध्ये तीन वटामा बहुमत जितेको छ ।

एमाले अध्यक्ष ओलीको जन्मस्थल र गुरुङको वडा एकै हो, आठराई गाउँपालिका–४, साविकको इवा गाविस । ०७४ मा इवामा एमालेले प्यानलै जितेको थियो । तर, यसपटक इवामा कांग्रेसका खगेन्द्र गुरुङको प्यानलै जितेको छ । गुरुङको सक्रियतामा गठबन्धन दलको सहयोगमा कांग्रेसले वडामा मात्रै होइन, सिंगो गाउँपालिका प्रमुख, उपप्रमुखसहित बहुमत वडामा जित्यो । गाउँपालिका अध्यक्षमा कांग्रेसका दिलकुमार पाहिम विजयी भए । गत निर्वाचनमा आठराईका एउटामात्रै वडामा कांग्रेसले जित्दा यी नै पाहिम वडाध्यक्ष थिए ।

कांग्रेसले लालीगुराँस नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत सिट जितेको छ । कांग्रेसका अर्जुन माबोहाङ मेयरमा दोहोरिएका छन् । मेन्छ्यायेम गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी गीतादेवी तिम्सिना दोहोरिएकी छिन् । कांग्रेसले यसपटक फेदाप र आठराई गाउँपालिकाको अध्यक्ष आफ्नो पोल्टामा पारेको हो । फेदाप गाउँपालिकाको अध्यक्षमा केशवप्रसाद भेटुवाल निर्वाचित भएका छन् ।

गएको निर्वाचनमा ६ मध्ये ५ पालिकामा नेतृत्व जितेको एमाले यसपटक तीन पालिकामा खुम्चिएको छ । एमालेले म्याङलुङ नगरपालिका र छथर गाउँपालिकामा प्रमुख, उपप्रमुखसहित बहुमत जितेको छ भने मेन्छ्यायेम गाउँपालिकामा अध्यक्ष जितेको छ । एमालेबाट म्याङलुङको मेयरमा सञ्जय तुम्बाहाङफे दोहोरिएका छन् । छथर गाउँपालिकाको अध्यक्षमा सन्तवीर लिम्बु र तारा खरेल तथा मेन्छयायेम गाउँपालिकाको अध्यक्ष यादबहादुर खापुङ दोहोरिएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?