कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिलो बादी मेयर : जसले झोला छोइँदा कुटाइ खाएका थिए

हरि गौतम

रुकुम पश्चिम — कक्षा ४ पढ्दा साथीको झोला छोइएपछि पुष्प बादीले दुई व्यक्तिबाट कुटाइ खाए । एउटा झोलावाला साथी र अर्को शिक्षक । झोलाभित्रको रोटी छोइएको निहुँमा साथीले कुटिन् भने पढाउने शिक्षकबाट पनि उल्टै पुष्पले कुटाइ खाए । आफूलाई कुटेको खबर लिएर शिक्षकहाँ पुग्दा उल्टै रोटी किन छोइदिएको भन्दै शिक्षकबाट कुटिएपछि पुष्पले विभेदबारे थाहा पाउन थाले ।

पहिलो बादी मेयर : जसले झोला छोइँदा कुटाइ खाएका थिए

त्यही कारण केही दिन उनी विद्यालय नै गएनन् । विद्यालय नगएपछि बाबुले यसबारे सोधखोज गरे । विद्यालयमा भएको घटनाबारे बताएपछि बाबुले विभेदको थप अवस्थाबारे बताए । त्यसपछि पुष्प विद्यालय त गए तर कसैको केही छोइन्छ कि भन्दै डराउँदै बसे । बाहिर व्यक्त नगरे पनि भित्रभित्रै चिढिएका पुष्प विस्तारै राजनीतिक संगठनमा संगठित हुन थाले ।

मान्छे-मान्छेबीच विभेद बुझ्दै गएपछि समूह बनाउने, छलफल गर्ने र यसको प्रतिरोध गर्ने काम थालेका पुष्प विस्तारै राजनीतिमा सक्रिय भए । तिनै बादी यसपटक स्थानीय सरकारको प्रमुखमा निर्वाचित भएका छन् । सम्भवत: नगरप्रमुखमा निर्वाचित हुने उनी बादी समुदायका एक मात्र व्यक्ति हुन् । चौरजहारी नगरपालिकामा एमाले–कांग्रेस गठबन्धनका कांग्रेस उम्मेदवार प्रेमबहादुर ओलीलाई ५ सय ७१ मतान्तरले जितेर पुष्प नगर प्रमुखमा चुनिए । सुरुमा विभेदविरुद्ध आवाज उठाउन भन्दै नेपाल उत्पीडित मुक्ति समाजमा आवद्ध भएर विभेदको विरोध थालेका पुष्प माओवादीले थालेको सशस्त्र आन्दोलनमा सहभागी भए ।

माछा मारेर, मादल बनाएर, सुल्पा बनाएर परिवार पाल्ने मान्छे विभेद अन्त्यकै लागि पूर्णकालीन कार्यकर्ता भए । दिनभर माओवादीको कार्यकर्ता बनेर काम गर्ने उनी राति घरमा आएर माछा मारेर परिवारको जोहो गराउँथे ।

‘विद्यालयदेखि नै विभेद देखें र भोगें,’ उनले भने, ‘यसको अन्त्यका लागि परिवार पाल्नुपर्ने भूमिका थियो । तैपनि परिवार छाडेर युद्धमा होमिएँ ।’ युद्धमै हुँदा परिवार पाल्न मुस्किल हुने भएपछि हरेक रात माछा मारेर छाड्ने गरेका उनले बिहान श्रीमतिले त्यही माछा बेचेर गुजारा गर्थिन् । पार्टी भन्दा पनि उनी दलित मोर्चामा नै धेरै क्रियाशील रहे ।

‘मैले धेरै विभेद देखें, भोगेको र महशुस गरेकाले पनि हुन सक्छ, म पार्टीमा कम र दलित मोर्चामा धेरै केन्द्रित भएर लागेको हुँ,’ उनले भने । उनले संगठनभित्र पनि धेरै संघर्ष गर्नुपर्‍यो । संगठन निर्माण गरे । २०५७ सालमा माओवादीको पूर्णकालीन कार्यकर्ता भएका बादी बल्ल पार्टीको वैकल्पिक केन्द्रीय सदस्य छन् । चौरजहारी नगरपालिकाको पार्टी इन्चार्ज रहेका उनलाई पार्टीले सर्वसम्मत नगर प्रमुखको टिकट दिएको थियो । उनी दलित मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्यसमेत बने ।

कर्णाली प्रदेशको इन्चार्ज, सहइन्चार्ज र संयोजकको भूमिका उनले निर्वाह गरिसकेका छन् । अब आफू अमुक समुदायको मात्रै प्रमुख नभएको उनी बताउँछन् । ‘हिजोसम्म एउटा भूमिकामा थिएँ, अब अर्को भूमिकामा आएपछि म सबैको साझा भएको छु’ उनले भने, ‘मेरो भूमिका निर्वाह पनि त्यसरी नै हुन्छ ।’ समृद्ध चौरजहारी बनाउन आफूले खास योजना बनाएको र त्यसै अनुसार अघि बढ्ने उनले बताए ।

पुष्प अब जनप्रतिनिधिको रुपमा सबैलाई समान व्यवहार गर्ने बताउँछन् । उनले भने, ‘तर मैले भोग्दा जस्तो विभेद अहिले छैन ।’ गरिब, विपन्न, असहायका लागि विशेष कार्यक्रम बनाउने, उनीहरुको सशक्तिकरणका लागि काम गर्ने बादीले बताए । पहिलो स्थानीय सरकारले ५ वर्षसम्म गरेका कामको स्थायित्व, अपूरा काम पूरा गर्ने, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रमा बढी काम गर्ने गरी योजना बनाएको बादीको भनाइ छ । भौतिक पूर्वाधारमा पहिलो स्थानीय सरकारले गरेका कामलाई निरन्तरता दिँदै आर्थिक उपार्जन, रोजगार र स्वरोजगारमा विशेष जोड दिइने गरी घोषणापत्र बनाइएको छ । त्यसको पूर्ण कार्यान्वयनका लागि आफू सबै समूह, पार्टीको साथ लिएर अघि बढ्ने उनी बताउँछन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?