१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गठबन्धनका उम्मेदवारलाई हराउँदै स्वतन्‍त्रबाट २३ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको कटारी नगरपालिका–८ को अध्यक्षमा २३ वर्षीय नविनकुमार तामाङ निर्वाचित भएका छन् । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका तामाङ कांग्रेस माओवादी(सत्ता गठनबन्धन)का तर्फबाट माओवादीबाट उम्मेदवार बनेका कमलबहादुर श्रेष्ठलाई हराउँदै विजयी हासिल गरेका हुन् ।

गठबन्धनका उम्मेदवारलाई हराउँदै स्वतन्‍त्रबाट २३ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

शनिबार सर्वजनिक मतगणनाको अन्तिम परिणममा तामाङले १२ मतको अन्तरमा निर्वतमान वडाध्यक्ष समेत रहेका श्रेष्ठलाई हराएका हुन् । तामाङले ५ सय ५३ मत ल्याउँदा माओवादीका श्रेष्ठले ५ सय ४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजकुमार राउतले बताए ।

तामाङ स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नु हुँदैन भन्ने पक्षमा थिए । उनले सामाजिक सजालमा व्यापक रुपमा गठबन्धनको विरोध गर्दै आएका थिए । त्यसैले उनलाई कांग्रेस पार्टीले उम्मेदवार नबनाएको स्थानीयले बताए । तामाङ काग्रेसको १४ औं अधिवेशनमा कटारी – ८ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित सदस्य हुन् ।

‘पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार दिएँ, ’ निर्वाचित तामाङले भने, ‘पार्टीले विश्वास नगरेपनि जनताले विश्वास गरेर जिताइ दिए ।’ अब जनताको मतलाई कदर गर्दै काम गर्ने उनले बताए ।

स्वतन्त्र उम्मेदवारी दिएका मध्ये अहिलेसम्म तामाङसहित उदयपुरबाट ३ जनाले विजय हासिल गरिसकेका छन् । तामाङसँगै लिम्चुङबुङ गाउँपालिका–३ बाट २८ वर्षीय गुरुमणि कुमाई र उदयुरगढी गाउँपालिका–२ बाट इन्द्रबहादुर राउत निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?