कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हेटौंडामा कसरी भत्कियो एमालेको लालकिल्ला ? 

प्रताप विष्ट

हेटौंडा — तीन दशकदेखि एमालेको लालकिल्लाका रुपमा रहेको हेटौंडा उपमहानगरपालिका उसैबाट विभाजित भई गठित एकीकृत समाजवादीकी मीनाकुमारी लामाले कांग्रेस र माओवादी केन्द्रको सहयोगमा भत्काएकी छन् ।

हेटौंडामा कसरी भत्कियो एमालेको लालकिल्ला ? 

सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीकी लामा र उपमेयरमा कांग्रेसका राजेश बाँनियालाई उम्मेदवार बनाएको थियो । लामाले एमालेका अनन्त पौडेल र बाँनियाले एमालेकै सुमित्रा काफ्लेलाई पराजित गरेर एमालेको लालकिल्ला भत्काएका हुन् ।

२०७४ सालको निर्वाचनमा एमालेबाट लामा हेटौंडाको उपमेयरमा विजयी भएकी थिइन् । त्यतिबेला कांग्रेस र माओवादीको गठबन्धनलाई पराजित गरेर मेयरमा एमालेको हरिबहादुर महत र उपमेयरमा लामा विजयी भएकी थिइन् । एमाले विभाजित हुने क्रममा उनले एकीकृत समाजवादी पार्टीलाई रोजेकी थिइन् । लामाले अहिले कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट एमालेलाई पराजित गरेकी छन् । पाँच वर्षअघिको चुनावी गठबन्धनलाई पराजित गरेर उपमेयर बनिन्, अहिले गठबन्धनबाट एमालेमाथि विजय प्राप्त गरेर मेयर बन्ने सौभाग्य उनलाई जुरेको थियो ।

मेयरमा लामाले २३ हजार ७५ मत प्राप्त गरेर विजयी भएकी छन् । उनको प्रतिद्वन्द्वी एमालेका पौडेलले २० हजार ९ सय ८ मत पाएका थिए । उपमेयरमा बाँनियाले ३२ हजार ५ सय ९३ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेलाई ८ हजार ६ सय ८४ले मतले पराजित गरेका थिए । काफ्लेले २३ हजार ९ सय ९ मत पाएकी थिइन् । हेटौंडा उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ मत खसेको थियो । उपमहानगरपालिकामा १ लाख ४ हजार ५ सय १३ मतदाता रहेका थिए ।

२०४९ सालदेखि एमालेले हेटौंडा उपमहानगरपालिकालाई 'राज' गर्दै आएको थियो । २०७९ वैशाख ३० मा भएको निर्वाचनले एमालेको नेतृत्वबाट हेटौंडा उपमहानगरपालिकाले ३० वर्षपछि मुक्ति पाएको छ । २०७४ मा भएको निर्वाचनमा हेटौंडाको मेयर, उपमेयरसहित १२ वडामा एमाले विजयी भएको थियो । यस निर्वाचनमा एमालेले मेयर, उपमेयरमात्र गुमाएको होइन ९ वडाध्यक्षमा सिमित हुन पुगेको छ । अघिल्लो निर्वाचनमा ५ वटा वडाध्यक्षमा सिमित रहेको कांग्रेस अहिले उपमेयरसहित ८ वडामा जित हासिल गरेको छ । एकीकृत समाजवादी र माओवादी केन्द्रले एक-एक वडामा अध्यक्ष जितेका छन् । हेटौंडा उपमहानगरपालिकामा १९ वडामा छन् ।

सत्तारुढ दलको गठबन्धनमध्ये धेरै मतदाता भएको र ठूलो दल कांग्रेस भित्रको चर्को विवाद र एकीकृत समाजवादीको संगठनको आधार कमजोर रहेको अवस्थामा उमेदवारीसँगै विजयको माला लगाइरहेको एमालेले यस्तो नतिजा आउँछ भनेर कल्पनासमेत गरेको थिएन । त्यतिमात्र होइन, राप्रपाको तर्फबाट एक्कासी दिपकबहादुर सिंहले मेयरको उम्मेदवारी दिएपछि अझ एमाले हौसिएको थियो । राप्रपाका सिंहले लामाको मत काट्छ भन्ने एमालेको ठम्याइ थियो ।

राप्रपाका सिंहलाई कांग्रेस भित्रका असन्तुष्टहरूले मत हाल्ने 'खाल्टे' उमेदवारको रुपमा उभ्याएका थिए । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी लामालाई कमजोर देखाउनका लागि एमाले नेताका सार्वजनिक रुपमै 'हाम्रो प्रतिस्पर्धा लामासँग होइन, सिंहसँग हो' भन्ने अभिव्यक्तिले सिंहले उत्साहित हुँदै आफूतिर मत आकर्षित गर्न सबै किसिमका हर्कतहरू गरे । उनका विविध खाले हर्कतले एमालेका सोझासिधा कार्यकतालाई आकर्षित गर्‍यो । सिंहका विगतका चरित्र र प्रवृत्तिहरूका बारेमा एमाले मौन रह्यो जसले गर्दा नयाँ र तल्लो पिँधमा रहेका कार्यकर्ताहरूको मत राप्रपाले लिन सफल भयो । एमालेका १५ देखि १७ प्रतिशत मतदाताले ६ वटा सूर्य र मेयरमा हलो चिह्नमा मतदान गरे ।

मकवानपुरको एमाले नेतृत्वमा कार्यकर्ताहरूको भावना नबुझ्ने,व्यक्तिवादी एवं गुटगत चिन्तन, पुस्तान्तरण नगर्ने र पार्टीभित्र अलोकतान्त्रिक प्रणालीलाई प्रश्रय दिएका कारणले हेटौंडा उपमहानगरपालिकालगायत सिंगो जिल्लामा पराजय भोग्नु परेको वाम वुद्धिजिवी देवप्रसाद श्रेष्ठको विश्लेषण छ । उनले भने, ‘पार्टीभित्र अलोकतान्त्रिक पद्धति अपनाउने कुनै पनि दलले लोकतन्त्रमा विजय हासिल गर्न सक्तैन।’

एमालेले कमल थापा नेतृत्वको राप्रपा, नेपालसँग तालमेल गरेर पार्टी विभाजनको क्षति रोक्ने प्रयास गरेको थियो । त्यसले पनि पराजयलाई रोक्न सकेन । हेटौंडाका राप्रपा, नेपालका कार्यकर्ताहरूले राप्रपाका उम्मेदवार सिंहलाई मतदान गरेका थिए । एमालेको अधिकांश नेतृत्वले कम्युनिस्ट आचरण र जीवनशैली छाड्दै गएकाले आधारभूत जनताले पनि उनीहरूलाई क्रमशः पत्याउन छाडेका छन् । यहाँका एक वाम बुद्धिजीवीले भने,‘यो निर्वाचनको परिणामल उनीहरूको चेत खुल्छ कि !’

सादा जीवनशैली, हसिलो अनुहारकी लामाले जनजाती, आदीवासी र महिलाहरूको मत आकर्षण गर्न सफल भइन् । कांग्रेसभित्रको विवादका विषयमा निर्वाचनभरि पक्ष र विपक्षमा नबोलिकन कांग्रेसी मत बढीभन्दा बढी आफूतिर तान्न सफल भइन्‚ जसले गर्दा लामाले विजयको माला पहिरिइन् । गठबन्धनमा रहेको माओवादी केन्द्रले पनि इमान्दारपूर्वक गठबन्धनका उमेदवारहरूलाई मतदान गरेका थिए । २०४६ सालदेखि विद्यार्थी जीवनबाट राजनीति सुरु गरेकी लामाले समाजशास्त्रमा एमए र एलएलबी गरेकी छन् । उनी २०३३ सालमा हेटौंडा उपमहानगरपालिका ११ जन्मेकी हुन् ।

उपमहानगरपालिकाको सेवालाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने, सफा, सुन्दर र स्वच्छ हेटौंडा बनाउने उनको योजना छ । नगरभित्रका लोपोन्मुख र सीमान्तकृत समुदायको उपमहानगरपालिकाले स्वास्थ्य बिमा गरिदिने बताएकी छन् । हेटौंडाको समग्र विकास गर्न अधिकार सम्पन्न हेटौंडा विकास प्राधिकरण गठन गर्ने उनको योजना छ ।

वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगपालिकाको नेतृत्वमा महिला पुगेको यो नै पहिलो पटक हो । वाग्मती प्रदेशको योमात्र एक उपमहानगरपालिका हो । मुलुकमा रहेको ११ वटा उपमहानगरपालिकामध्ये सम्वभतः महिलाले नेतृत्व गरेको योमात्र एक उपमहानगरपालिका हो । उपमहानगरपालिकामा २०७८ सालको जनगणनाअनुसार १ लाख ९५ हजार ९५१ जनसंख्या रहेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?