बुढीगंगामा मतगणना कि चुनाव ?

एमालेले ४ र कांग्रेसले २ वटा वडामा बुथ कब्जा गरेर ९९ प्रतिशतभन्दा बढी मत खसाएका थिए
अर्जुन शाह

बाजुरा — बाजुराका सात पालिकाको नतिजा घोषणा भएर जनप्रनिधिहरुले शुक्रबारदेखि पदभारसमेत ग्रहण गरिसकेका छन् । तर, वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा भने विवादका कारण अझै मतगणना हुन सकेको छैन । निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेसले पुनः मतदानको माग गरेको छ । एमालेले भने यथास्थितिमा मतगणना हुनुपर्ने अडान राखेको छ । एक साता बितिसक्दा पनि निर्वाचन आयोगले निर्णय नदिएपछि अन्योल बढ्दै गएको छ ।

बुढीगंगामा मतगणना कि चुनाव ?

बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद छ । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ । २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफूअनुकूल मतदान गरेका थिए । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए । ती वडामा बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएको थियो भने सुरक्षाकर्मीले मतेपटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए । विवादका कारण स्थगित एउटा वडामा भने पुनः मतदान भइसकेको छ ।

निर्वाचनका दिन पालिकास्थित निर्वाचन अधिकृतलाई नियन्त्रणमा राखिएको थियो । उनले असुरक्षित भएको भन्दै राजीनामा दिएका थिए । मतपेटिकाहरु निर्वाचन कार्यालयले बुझ्न नमानेको लगायत घटना पनि भएका थिए । कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा राखेर मतदान भएको भनिएकामध्ये वडा ४ स्थित थुमा मावि मतदानस्थलमा १ हजार ७ सय ९ मतदाता रहेकामा १ हजार ६ सय ९९ मत खसाइएको छ । यो ९९.४१ प्रतिशत हो । यस्तै एमालेले नियन्त्रणमा राखेर मतदान गरेको भनिएकामध्ये वडा ९ स्थित त्रिशक्ति मावि मतदानस्थलमा १ हजार ४ सय ८३ मतदाता संख्या रहेकामा १ हजार ३ सय ४७ मत खसेको छ ।

स्वतन्त्र मतदान हुन नसकेका मतदानस्थलबाट वडाध्यक्षका उम्मेदवारहरु लखेटिएका थिए । वडा ७ स्थित शारदा मावि मतदानस्थलमा मतदान सुरु भएको करिब दुई घण्टामै धाँधली सुरु भएपछि लाममा लागेका मतदाता लखेटिएका थिए । वडाध्यक्ष पदका एमाले उम्मेदवार मन्नामे विष्टले आफूमाथि मतदान स्थलभित्रै कुटपिट भएपछि भागेर ज्यान जोगाएको बताए । डरत्रासका कारण त्यसपछि आफू दिनभर मतदानस्थलमा फर्किन नसकेको र लुकेर बस्नुपरेको उनले सुनाए ।

यस्तै वडा ५ को भानोदय माविको मतदान स्थलबाट कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार खडक थापासमेत लखेटिएका थिए । मतदानस्थलमा झडप सुरु भएपछि मतदाताको भागाभाग भएको थियो । झडपपछि मतदान स्थललाई एमाले कार्यकर्ताले नियन्त्रणमा लिएपछि आफूसहित कांग्रेस कार्यकर्ता मतदानस्थलमा फर्किन नसकेको अध्यक्षका उम्मेदवार थापाले बताए । ‘भोट हाल्नकै लागि एक साताको छुट्टी लिएर भारतबाट आएँ, तर भोटै हाल्न नपाएकोले धेरै चित्त दुखेको छ,’ वडा ७ का मतदाता कर लोहारले भने, ‘बिहानै कुटाकुट भइहाल्यो । बलियाले कमजोरलाई लखेटेपछि अरु मतदाताको बुथमा जाने हिम्मतै भएन ।’ वडा ५ का मतदाता चेतराज रेग्मीले धनगढीबाट भोट हाल्न गाउँ आए पनि मतदान केन्द्र रणभूभिजस्तो भएकाले मत दिनै नपाइएको बताए ।

सुरक्षाकर्मीहरु वडा २, ३, ५ र ९ का मतदानस्थलबाट अपराह्नतिर मतपेटिकासमेत मतदानस्थलमै छाडेर हिँडेका थिए । १० वटै वडाका मतदान केन्द्रका मतपेटिकाहरु निर्वाचनमा खटिएका कर्मचारीहरुलाई साथमै राखेर पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको थियो । तर मतदानको दोस्रो दिनभर पनि सुरुमा पालिकास्थित निर्वाचन अधिकृतले मतपेटिका बुझ्न मानेका थिएनन् । तर साँझतिर भने पार्टीका कार्यकर्ताहरुले निर्वाचन अधिकृतलाई बुझ्न लगाएका थिए ।

बुढीगंगामा खटिएका निर्वाचन अधिकृत उपसचिव कृष्ण सापकोटाले आफू असुरक्षित रहेको र हुलहुज्जत हुन सक्ने भन्दै निर्वाचन आयोगमा राजीनामा पठाएका थिए । पालिकाका विभिन्न केन्द्रमा स्वतन्त्र तथा निष्पक्ष मतदान हुन नसकेको भन्दै निर्वाचनको दिन कांग्रेस कार्यकर्ताले निर्वाचन अधिकृत सापकोटालाई नियन्त्रणमा राखेको र आफू असुरक्षित रहेको उनको भनाइ थियो । मतदानको दोस्रो दिन उनी दिउँसो कार्यालय छाडेर सदरमुकाम मार्तडी आउँदै गर्दा एमाले कार्यकर्ताले बार्जुगाढबाट नियन्त्रणमा लिएर सापकोटालाई पालिकास्थित निर्वाचन कार्यालयमा फर्काएर मतपेटिका बुझ्न लगाएका थिए ।

बुढीगंगाको विवाद अध्ययन गर्न गत आइतबार निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा बाजुरा आएको थियो । सुरुमा सदरमुकाम मार्तडी आएर उनले सुरक्षा निकाय प्रमुख, राजनीतिक दलका प्रमुख, मतदानमा खटिएका निर्वाचन अधिकृतलगायतसँग घटनाबारे बुझेका थिए । दोस्रो दिन बुढीगंगास्थित भानोदय माविको स्थलगत अध्ययन गर्न पुगेका थिए । तर, आयोगको निर्णय भने अझै आएको छैन । एमाले र कांग्रेसका नेताहरु भने माग पूरा नभए अदालत जाने तयारीमा रहेको बताइरहेका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?