१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
स्थानीय तह निर्वाचन

जसले दलका उम्मेदवारलाई हराए 

मकर श्रेष्ठ

काठमाडौँ — महोत्तरीको बर्दिबास नगरपालिकामा प्रमुख, उपप्रमुख र चार वडाध्यक्षसहित ९ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । बर्दिबासमा १२ जना प्रमुखसहित ३ सय १० जना उम्मेदवार थिए । उनीहरुमध्ये स्वतन्त्रबाट प्रमुखमा प्रह्लादकुमार क्षेत्री र सुभाषचन्द्र झाले उम्मेदवारी दिएका थिए । क्षेत्रीले १४ हजार २ सय १० मत ल्याएर माओवादी केन्द्रका राजु खड्कालाई हराएका हुन् । खड्काले ८ हजार ३ सय २३ मतमात्रै ल्याएका छन् । एमाले तेस्रो स्थानमा छ ।

जसले दलका उम्मेदवारलाई हराए 

एमालेका टेकबहादुर बलम्पाकीले ३ हजार ५ सय २६ मतमात्रै ल्याएका छन् । कांग्रेसका चिरंजीवी हमालले १ हजार २ सय ६३ मत ल्याएका छन् ।

उपप्रमुखमा १० जना उम्मेदवार थिए । उनीहरुमध्ये स्वतन्त्र उम्मेदवार तारा देवीले ९ हजार ७ सय ३६ मत ल्याएर विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकै कृष्णमाया गौतमले ८ हजार १ सय ८५ मत ल्याएकी छन् । एमालेकी दुर्गाकुमारी दाहालले ४ हजार ८ सय ३ मत ल्याएकी छन् । बर्दिबासको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार भोला खड्का, ७ नम्बरको वडाध्यक्षमा रामस्वगारथ यादव, वडा नम्बर १३ मा लक्ष्मण सिंह, वडा नम्बर १४ मा विजयकुमार महत्तो निर्वाचित भएका छन् । बर्दिबासको वडा नम्बर १ को २ खुला सदस्य, एक महिला सदस्यसमेत स्वतन्त्रबाटै निर्वाचित भएका छन् ।

त्यस्तै बैतडीको डीलासैनी गाउँपालिकामा अध्यक्षसहित १५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । पालिकामा १ सय २५ जना उम्मेदवार थिए । उनीहरुमध्ये २६ जना स्वतन्त्र उम्मेदवार थिए । स्वतन्त्र उम्मेदवारी दिएकामध्ये १५ स्वतन्त्रलाई मतदाताले ५ वर्षका लागि आफ्नो प्रतिनिधि छानेका हुन् । पालिकाको अध्यक्षमा सन्तोषकुमार जोशी निर्वाचित भएका हुन् । वडा नम्बर ४, ५ र ७ को वडा अध्यक्षदेखि नगर सदस्यसमेत स्वतन्त्रले जितेका छन् ।

पालिका अध्यक्षमा स्वतन्त्रबाटै गणेश सिंह बोहरा पनि उम्मेदवार दिए । सन्तोष प्रकाश जोशीले ३ हजार १ सय ८९ मत ल्याएर अरु ४ जनालाई पछि पारेका हुन् । उनका निकतम प्रतिद्वन्द्वी माओवादीका लोकेन्द्रबहादुर रानाले २ हजार ६ सय ५१ मत ल्याएका थिए । एमालेका अक्कलबहादुर रानाले २ हजार ५ सय ५७ मत मात्रै ल्याएका थिए । स्वतन्त्र उम्मेदवार बोहराले २३ मतमात्रै ल्याएका थिए ।

बर्दिबास र डीलासैनी जस्तै देशैभरी स्वतन्त्र उम्मेदवार दिएर जित्ने लहर बढ्दै गएको छ । काठमाडौं महानगरमा जारी रहेको मतगणनामा वालेन्द्र साहले दलको उम्मेदवारले पाएको भन्दा झण्डै दोब्बर मत पाइसकेका छन् । धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्कराम राईले पनि शुक्रबार साँझसम्म दलका उम्मेदवारलाई उछिनेका छन् । त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिकामा पनि दलको आधिकारिक उम्मेदवारले पाएको भन्दा दोब्बर पाएका छन् । निर्वाचन आयोगको शुक्रबार साँझसम्म अपडेट भएको सिस्टममा ३ सय ४६ जना स्वतन्त्र उम्मेदवारले जितिसकेका छन् । यसमा गाउँपालिका अध्यक्ष ६ जना, नगरपालिका प्रमुख ३, उपप्रमुख एक, उपाध्यक्ष दुई र वडाध्यक्षमा १ सय २१ जनाले जितिसकेका छन् । खुला वडा सदस्यमा १ सय ९ जनाले जितेका छन् । महिला सदस्य ५४ र दलित महिला सदस्य ५० जनाले जितेका छन् ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका, ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, हुम्लाको चंखेली गाउँपालिका र बैतडीको डीलासैनीमा स्वतन्त्र उम्मेदवारबाट अध्यक्ष जितेका हुन् । प्रमुखमा महोत्तरीको बर्दिबास, चन्दननाथ खाँडाचक्र नगरपालिकाको प्रमुखमा स्वतन्त्रको उम्मेदवारले जितेका हुन् । उपप्रमुखमा बर्दिबास नगरपालिका र उपाध्यक्षमा शे फोक्सुन्डो गाउँपालिका, मनाङ डिस्याङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले जितेका हुन् । यसरी जित्नेमा अधिकांश धेरैजसो दलले टिकट नदिएपछि स्वतन्त्रबाट निर्वाचनमा सहभागी हुन् । स्वतन्त्रबाट पालिकाको प्रमुख जितेका बर्दिबासका प्रल्हाद क्षेत्रीलाई कांग्रेसले उम्मेदवारको टिकट दिए पनि खोसिएको थियो । त्यसपछि उनले आफूसहित वडामा समेत स्वतन्त्र उम्मेदवार खडा गरेका थिए । त्यस्तै बैतडीको डीलासैनीमा सन्तोष जोशीलाई एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरी स्वतन्त्रको हैसियतमा उम्मेदवार भएका थिए । उनले पनि वडास्तरमा प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।

स्वतन्त्रबाट जित्नेमा प्रदेश १ मा २ पालिका अध्यक्षसहित ५७ जना, मधेस प्रदेशमा १ पालिका प्रमुखसहित ४२ जना छन् । वाग्मतीमा १६ वडाध्यक्षसहित ३४ जना निर्वाचित भइसकेका छन् । लुम्बिनीमा १२ वडाध्यक्षसहित ३६ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । कर्णालीमा प्रमुख र अध्यक्ष ४ सहित ६८ स्वतन्त्र उम्मेदवारले जितेका छन् । सुदुरपश्चिममा पालिका प्रमुख १ सहित ५६ जना जितेका छन् ।

प्रदेश १ को ताप्लेजुङको सिदिङवा गाउँपालिकामा एक वडाध्यक्षसहित ६ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । पाँचथरको फालेलुङ १ मा वडाध्यक्षसहित चार जना स्वतन्त्रले बाजी मारेका छन् । झापाको गौरादहको ३ र ५ को वडा अध्यक्ष नै निर्वाचित भएका छन् । झापाकै बाह्रदशी गाउँपालिका ४ मा वडाध्यक्षसहित ५ जनौ स्वतन्त्रका उम्मेदवार विजयी भएका हुन् । तेह्रथुमको लालिगुरास नगरपालिका ५ मा पनि वडाध्यक्ष सहित पुरै सेट स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मोरङको विराटनगर महानगरपालिकामा पनि १८ नम्बर वडामा वडाध्यक्षसहित ३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिकामा पनि २ नम्बरको वडाध्यक्षसहित चार जना स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् ।

प्रदेश २ को सिराहाको सिराहा नगरपालिकाको वडा नम्बर २१ र कर्जन्हा नगरपालिकाको पुरै सेट स्वतन्त्रले कब्जा गरेका छन् । सिराहाको वडा नम्बर २१ मा पुरै सेट वडा अध्यक्षमा सुरेन्द्र मण्डल, महिला सदस्यमा जीवक्षीदेवी पासवान, दलित महिला सदस्यमा गुलजारदेवी पासवान, सदस्यमा रंजित मुखिया र सहदेव यादव विजयी भएका हुन् । कर्जन्हाको ७ मा वडा अध्यक्षमा राम सेवक यादव, महिला सदस्यमा रानीवती देवी, दलित महिला सदस्यमा लिलादेवी सदा र खुला सदस्यमा गणेश यादव र जितलाल यादवले जितेका हुन् । जनकुपुर उपहामनगरपालिकाको २३ नम्बर वडा पनि वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य, वडा सदस्य सबै स्वतन्त्रले जितेका छन् । सर्लाहीको लालबन्दी नगरपालिकाको १ नम्बर वडामा एक सदस्यबाहेक सबै स्वतन्त्र उम्मेदवारले जितेका छन् । बाराको आदर्शकोटल गाउँपालिका ५ मा वडाध्यक्ष, दलित महिला सदस्य र सदस्यमा स्वतन्त्रले जितेका छन् ।

वाग्मती प्रदेशको दोलखाको तामाकोसी, धादिङको नीलकण्ठ, काठमाडौंको कीर्तिपुर, काभ्रेपलाञ्चोकको नमोबुद्ध, बेथानचोक, सिन्धुपाल्चोकको भोटेकोसीमा पनि स्वतन्त्रले जितेका छन् । नीलकण्ठमा ८ वडामा अध्यक्षसहित पुरै सेट स्वतन्त्रले जितेका छन् । दोलखाको तामाकोसी गाउँपालिका २ मा वडाध्यक्षसहित चार जना स्वतन्त्र छन् । कीर्तिपुरको ४ नम्बर वडाध्यक्षसहित स्वतन्त्रले जितेका हुन् ।

लुम्बिनी प्रदेशको गुल्मीको चन्द्रकोट, रुपन्देहीको गैडहवा, रोल्पाको गंगा गाउँपालिका, प्युठानको प्युठान नगरपालिकामा पनि स्वतन्त्रले जितेका छन् । बर्दियाको राजापुर नगरपालिका ५ मा स्वतन्त्रको वडाध्यक्षसहित सबैले जितेका छन् । नवलपरासीको बर्दघाट सुस्ता पश्चिमको बर्दघाटको ३ मा पनि वडाध्यक्षसहित स्वतन्त्रले जित हासिल गरेका हुन् ।

कर्णाली प्रदेशमा ६८ स्वतन्त्रले जितेका छन् । मुगुको सोरु गाउँपालिकामा ३ वडाध्यक्षसहित १० स्वतन्त्रले जितेका हुन् । जुम्लाको कनकासुन्दरीमा १ वडाध्यक्षसहित ९ जनाले जितेका छन् । त्यस्तै हुम्लाको चंखेलीमा पालिका अध्यक्ष, तीन वडाध्यक्षसहित ७ जना स्वतन्त्रले जितेका छन् । हुम्लाकै नाम्खा गाउँपालिकामा जित्नेमध्ये ३ वडाध्यक्षसहित ९ जना स्वतन्त्र छन् । जाजरकोटको नलगाड ११ मा वडाध्यक्ष चार जना, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको १ नम्बर वडामा वडाध्यक्षसहित पुरै सेट स्वतन्त्रले जितेका हुन् ।

सुदूरपश्चिममा ५६ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । बाजुराको खप्डत छेडेदह गाउँपालिकामा अध्यक्षबाहेक चारजनै स्वतन्त्र निर्वाचित भएका छन् ।

बाजुराको त्रिवेणी, बझाङको केदारस्यूँ गाउँपालिका, बझाङको छबिसपाथिभेरामा पनि स्वतन्त्रले जितेका छन् । बझाङका बुंगल नगरपालिकाको ५, ६, ८ र १० वडामा २ वडा अध्यक्षसहित ८ जना स्वतन्त्रले जितेका छन् । कैलालीको गोदावरी नगरपालिका ११ मा वडाध्यक्षसहित चार जना स्वतन्त्रले जितेका छन् ।

  • अध्यक्ष ६ जना
  • प्रमुख ३
  • उपप्रमुख १
  • उपाध्यक्ष २
  • वडा अध्यक्ष १२१
  • सदस्य १०९
  • महिला सदस्य ५४
  • दलित महिला सदस्य ५०
  • प्रदेश १ मा २ पालिका अध्यक्ष सहित ५७ जना
  • मधेश प्रदेशमा १ पालिका प्रमुख सहित ४२ जना
  • वाग्मतीमा १६ वडा अध्यक्ष सहित ३४ जना
  • लुम्बिनीमा १२ वडा अध्यक्ष सहित ३६ जना
  • कर्णालीमा प्रमुख र अध्यक्ष ४ सहित ६८
  • सुदुरपश्चिममा पालिका प्रमुख १ सहित ५६ जना

पूर्व विवरण

प्रकाशित : जेष्ठ ७, २०७९ ०१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?