२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दमकमा ओली र एमालेको अहमताको राजनीति सकियो : नवनिर्वाचित मेयर थापा

अर्जुन राजवंशी

बिर्तामोड — नवनिर्वाचित मेयर राम थापाले दमकमा एमालेको ‘अहमताको राजनीति’ गर्ने समय समाप्त भएको बताएका छन् । उनले नगरपालिकाबाट एमालेले जनमुखीभन्दा आफन्तमुखी सेवा प्रवाह गरेकाले दमकवासीले यस पल्ट नगरपालिकाको नेतृत्व परिवर्तन गरेको बताए ।

दमकमा ओली र एमालेको अहमताको राजनीति सकियो : नवनिर्वाचित मेयर थापा

‘दमकमा केपी ओली र एमालेको अहमता निकै बढेको थियो । मैले जे गरे पनि हुन्छ । मैले जे बोल्छु त्यही हुन्छ भन्ने भ्रम र अहमता ओलीमा थियो । गठबन्धनले योपल्ट ओलीको अहमता तोड्ने काम गरेको छ,’ थापाले भने । नवनिर्वाचित थापाले दमकमा तीन वटा योजनामा केन्द्रित भएर आफूले काम गर्ने बताए ।

दमक नगरपालिकालाई सेवामुखी सरकारी कार्यालय बनाउने बताए । उनले भने,‘नगरपालिकालाई जनताले सहज रूपमा सेवा पाउने कार्यालय बनाउँछु ।’ यसअघि एमालेले नगरपालिकाको कार्यालयलाई सरकारी कार्यालयभन्दा बढी आफ्नो पार्टी कार्यालयको रूपमा स्थापित गरेको उनको आरोप छ । उनले आफ्ना आफन्त र कार्यकर्ताका लागि अनावश्यक जागिर नखुलाउने प्रतिबद्धता व्यक्त गरे ।

दमकका सुकुम्वासीलाई धनीपुर्जा वितरण गर्ने पनि उनले बताए । ‘दमकमा करिब ५ हजार सुकुम्वासी, अव्यवस्थित बसोबासी छन् । उनीहरुलाई जग्गा धनीपुर्जा वितरण गर्ने प्रक्रिया तत्काल सुरु गर्छु,’ उनले भने । उनले एमाले नेतृत्वको अघिल्लो सरकारले दमकका सुकुम्वासीलाई विस्थापित हुन बाध्य बनाएको आरोप पनि लगाए । उनले दमकमा सरकारी, ऐलानी, पर्ती जग्गाको खोजी गरी असली सुकुम्वासीलाई धनीपुर्जा वितरण गर्न इमान्दार काम नभएको बताए ।

थापाले आफ्नो तेस्रो योजनाको रूपमा शिक्षा क्षेत्रको विकास गर्ने रहेको सुनाए । उनले नगरका सामुदायिक विद्यालयको विकास हुन नसकेकाले त्यसतर्फ विशेष योजना ल्याउने बताए । दमकमा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल भएको थियो । तालमेलअन्तर्गत दमकको मेयरमा राप्रपाका राम थापा र उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई प्रसाईं निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?