रौतहटको ईशनाथ नगरपालिकाको मेयरमा लोसपाकी कौशल्या देवी विजयी
रौतहट — रौतहटको ईशनाथ नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कौशल्या देवी ६ हजार २ सय ८२ मत ल्याई विजयी भएकी छन् ।
उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सन्तोषकुमार मेहतालाई ९ सय ७५ मतान्तरले पराजित गरिन् । मेहताले ५ हजार ३ सय ७ मत ल्याएका छन् । मेहता निवर्तमान नगरप्रमुख हुन् ।
निर्वाचन अधिकृतको कार्यालय ईशनाथका अनुसार मेयरका लोकतान्त्रिक समाजवादी पार्टीकै मोहम्मद परवेज ५ हजार ७ सय ४९ मतको साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार हुसने आराले ५ हजार ९७ मत पाइन् ।
नेपाली कांग्रेसमा लामो समय राजनीति गरेकी कौशल्या देवी टिकट नपाएपछि लोसपाबाट मेयरमा उठेकी थिइन् । कांग्रेसले अन्जु झालाई नगरप्रमुखको उम्मेदवार बनाएको थियो । उनी तेश्रो स्थानमा परिन् ।
निर्वाचनको कार्यालयका अनुसार ९ वटा वडा रहेको ईशनाथमा लोसपाले १, २, ३ र ४ नम्बर वडामा वडाध्यक्ष जितेको छ । त्यस्तै ५, ७, ८, ९ मा एमाले र ६ नम्बर वडामा मात्र कांग्रेसले वडाध्यक्ष जितेको छ ।
प्रकाशित : जेष्ठ ६, २०७९ १४:५४