कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जसले पुरुष उम्मेदवारलाई हराए

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका-९, बिम्दाबेंसीकी पदमा गुरुङले शिक्षण पेशालाई बिट मारेर उपप्रमुखमा चुनाव लडिन् । शिक्षण पेशामा उनको १५ वर्ष ४ महिना लामो अनुभव र लगानी सहयोगी बन्यो, उनले चुनाव जितिन् ।

जसले पुरुष उम्मेदवारलाई हराए

एमालेबाट उम्मेदवार बनेकी उनले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हरिजंग तामाङलाई ४ हजार १५ मतको फराकिलो अन्तरले पराजित गरिन् । गाउँकै चन्द्रज्योति आधारभूत विद्यालयमा पेन्सन पाक्नै लागेको जागिर छोडेर चुनाव लडेकी उनले गठबन्धनका हरिजंगलाई हराउन मतदाताले ८ हजार ७ सय १४ मत दिए ।

‘मलाई पार्टीले पत्यायो । जागिर छोडेर निर्वाचनमा होमिएँ । म जित्छु भन्ने अठोटका साथ अघि बढें र जितें पनि’ उनले भनिन्, ‘यो महिला, यो पुरुष, पुरुषले जित्छ, महिलाले हार्छ भन्ने भनाइहरुलाई मैले निरर्थक गरिदिएको छु ।’

घरमा साँझबिहान खाना पकाउने, परिवारलाई खुवाउने, भाँडाकुँडा माझ्ने काममा उनको साँझबिहान बित्थ्यो । बेंसीसहरको ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) नामक संस्थाका अध्यक्षसमेत रहेकी उनको मुख्य काम दिउँसो विद्यार्थीलाई पढाउनु थियो ।

‘म शिक्षक भएकाले म राजनीतिक दलको ‘पोर्टफोलियो’ मा बसिनँ । शिक्षकको हकहित, महिला, बालबालिकाको हकहितमा लागें । मलाई बाबाआमा, दाजुभाइ, दिदीबहिनी सबैले पत्याइदिनुभयो । म उहाँहरुले प्रश्न उठाउने गरी काम गर्ने प्रयास गर्छु’ उनले भनिन् ।

साँझबिहान घरमा खाना बनाउने, दिउँसो महिलाका हकअधिकारमा बहस पैरवी गरी उनीहरुको पक्षमा लागेकी भवानी केसी सुन्दरबजार नगरपालिकाको उपप्रमुखमा विजयी भइन् । एमाले जिल्ला कमिटी सदस्य उनका पति खत्रीठाँटी–काठमाडौंको आफ्नै माइक्रोमा ओहरदोहर गर्छन् ।

सुन्दरबजार नगरपालिका ६, खत्रीठाँटीकी ५१ बर्षीया भवानी २०७४ को स्थानीय तह चुनावमा वडा सदस्यमा निर्वाचित भइन् । उनी कार्यपालिका सदस्य समेत भइन् ।

‘कार्यपालिका सदस्यमा बसेर योजना अनुगमन मुल्यांकन समितिमा बसियो । जनप्रतिनिधि हुँदा मैले गरेको काम, मैले पार्टीलाई पुर्‍याएको योगदान, मप्रतिको भरोसाले होला, पार्टीले मलाई टिकट दियो,’ उनले भनिन्, ‘अहिले उपप्रमुखमा जितेको छु । आफ्नो कर्तव्य इमान्दारीपूर्वक निर्वाह गर्छु । महिला, बालबालिका, जेष्ठनागरिकलाई खुसी बनाउने प्रयास गर्छु ।’ पार्टीमा उनी २०४२ देखि भूमिगत भएर बहुदल आएपछि मात्रै सार्वजनिक भएकी हुन् ।

उनले ५ हजार १८ मत ल्याएकी छन् । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रले ४ हजार ४ सय ७५ मत ल्याएका छन् । सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार एकीकृत समाजवादीका रामबाबु अधिकारीले २ हजार २ सय ४ मत ल्याएका छन् । भवानीको मत स्वतन्त्र उम्मेदवार द्धारिकाको भन्दा ५ सय ४३ मतले बढी छ भने गठबन्धनका आधिकारिक उम्मेदवारभन्दा २ हजार ८ सय १४ ले बढी हो ।

मध्यनेपाल नगरपालिका- ७, करापुटार रामबजारकी ४१ वर्षीया सीता गुरुङ व्यवसायी हुन् । पार्टीमा उनी जिल्ला कमिटी सदस्य हुन् । ८ कक्षा पढ्दादेखि नै अनेरास्ववियुमा लागेकी उनको अहिले हार्डवेयर र किराना पसल छ ।

‘म आफ्नो व्यवसाय गर्छु । मेरो रुची राजनीति र समाजसेवा हो, मेरो योगदानलाई कदर गरेर पार्टीले चुनावमा उठायो । मैले आफ्नो खुबी प्रस्तुत गरें । पुरुष भनेर मैले आँट हारिन’ उनले भनिन्, ‘एकमनले गठबन्धन छ, हारिन्छ कि झैं पनि लागेको थियो । चुनाव प्रचारमा महिला दिदीबहिनीको हौसला देखेर उत्साह जाग्यो । त्यही उत्साहले चुनाव जितें । संघर्ष त यसै गर्नु छ, गर्छु ।’

सत्ता गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार उपेन्द्र अधिकारीलाई उनले १ हजार ३ सय २४ मतान्तरले हराइन् । उपप्रमुखमा उनले ६ हजार ४ सय १६ मत पाइन् ।

मर्स्‍याङ्दी गाउँपालिका-४, ताघ्रिङ रामबजारकी ५४ वर्षीया जुनामाया थापा घरगृहस्थीमै बस्दै आएकी थिइन् । पार्टीको अनेमसंघ, वडाको महिला सञ्जालमा आवद्ध उनी पार्टीको मर्स्‍याङ्दी गाउँपालिका कमिटी उपाध्यक्ष हुन् ।

२०५२ मा पार्टी संगठनको सदस्य लिएका उनले गाउँकै आमा समूह, महिला समूहलागयतमा रहेर सेवा गरिन् । स्थानीय तह निर्वाचन २०७९ मा उनले सत्ता गठबन्धन उम्मेदवार माओवादी केन्द्रका अजय तामाङलाई १ हजार ८ सय ८५ मतले हराए । जुनामायाले ५ हजार ८ सय ९५ मत ल्याउँदा अजयले ४ हजार १० मत ल्याए ।

क्व्होलासोंथर गाउँपालिकामा एमाले र कांग्रेसबाट उपाध्यक्षमा दुवै महिला चुनावी मैदानमा उत्रिएका थिए । कांग्रेस उम्मेदवार सिर्जना गुरुङलाई १ हजार ६ सय ४९ मतान्तरमा उपाध्यक्ष हासिल गरेकी हुन् । गमीमायाले ३ हजार ९ सय ८९ मत पाएकी छन् । सिर्जनाले २ हजार ३ सय ४० मत पाएका छन् । जिल्लाका ७५ वडामध्ये एमालेले वडाअध्यक्षमा उठाएका बेंसीसहर नगरपालिका ८ का वडाअध्यक्ष पवित्रा थापा राना र दोर्दी गाउँपालिका ७ का रिसमाया गुरुङ निर्वाचित भएका छन् ।

लमजुङको ४ नगरपालिका र ४ गाउँपालिकामध्ये एमालेले हरेक स्थानीय तहको उपप्रमुखमा महिला उम्मेदवार बनाएको थियो । राइनास नगरपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकामा भने पराजित भएका छन् । अन्य ५ वटा स्थानीय तहमा भने एमालेले उपप्रमुख तथा उपाध्यक्ष जितेका छन् । गठबन्धनले भने क्व्होलासोंथरको उपाध्यक्षमा बाहेक प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षमा महिला उम्मेदवार उठाएनन् ।

गठबन्धनबाट कांग्रेसले क्व्होलासोंथरको उपाध्यक्षमा महिला उम्मेदवार उठाएको थियो । उनी पराजित भएकी छन् । गठबन्धनले अरु ठाउँको प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षमा महिला उठाएनन् । कुल ७५ वडामा कांग्रेसले ६१ र माओवादी केन्द्रले १४ वडा पाएकोमा कांग्रेसले वडाअध्यक्षमा महिला उठाएनन् । माओवादी केन्द्रले सुन्दरबजार नगरपालिका-१ मा सन्तोषी गौलीलाई उठाए पनि पराजित भइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?