कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंका तीन वडामा एमालेको प्यानलै विजयी

मधु शाही

काठमाडौँ — काठमाडौं महानगरपालिकाका ३ वटा वडामा एमालेको प्यानल नै निर्वाचित भएको छ । बिहीबार बेलुकासम्मको मत परिणामअनुसार वडा–२, ३, र ४ मा एमालेको प्यानल विजयी भएको हो । मतगणना सकिएका वडा–१ र ५ मा भने मिश्रित नतिजा आएको छ ।

काठमाडौंका तीन वडामा एमालेको प्यानलै विजयी

राजेन्द्रकुमार श्रेष्ठ नेतृत्वको एमालेको प्यानल वडा–२ को नेतृत्वमा आएको छ । श्रेष्ठले १ हजार ३ सय ७९ मत ल्याउँदा कांग्रेसका सूर्यलाल महर्जनले ९ सय २७ मत मात्रै पाए । वडा सदस्यमा पदमकाजी महर्जन, विमल गुरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजक र दलित महिला सदस्यमा ईश्वरी परियार निर्वाचित भए । वडा–३ मा प्रेम थापा अध्यक्ष चुनिएका छन् । एमालेका उम्मेदवार उनले २ हजार १ सय ३८ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेश अधिकारीलाई १ हजार ४ सय ९१ मात्रै मत मिलेको छ ।

त्यस्तै, खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा पनि एमालेकै क्रमशः कृष्णराज चालिसे, केशवप्रसाद श्रेष्ठ, सीता थापा र शर्मिला परियार निर्वाचित भएका छन् । वडा–४ मा दिनेश महर्जन नेतृत्वको एमालेको प्यानल नै विजयी भएको छ । दिनेशले ४ हजार ६ सय ४ मत ल्याए । खुल्ला सदस्यमा नवीन मैनाली, सरु अधिकारी निर्वाचित भए भने महिला सदस्यमा सन्ध्यादेवी खनाल र दलित महिला सदस्यमा कल्पना सार्की (बयलकोटी) चुनिएका छन् ।

वडा–१ मा भने अध्यक्ष र एक वडा सदस्य एमालेले जित्दा अन्य पदमा कांग्रेसले बाजी मारेको छ । एमालेका भरत लाल ६ सय २२ मत ल्याउँदै अध्यक्षमा विजयी भएका हुन् । कांग्रेसका किरण श्रेष्ठले ५ सय ९८ मात्रै मत ल्याउन सके । वडाको खुला सदस्यमा कांग्रेसका रोशन श्रेष्ठ र शुभरत्न नेपाली विजय भए । महिला सदस्यमा एमालेकी रसला तण्डुकार र दलित महिला सदस्यमा कांग्रेसकी मीना सुनार छानिए ।

यसैगरी, वडा–५ मा को अध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । वीरेन्द्र प्रजापति १ हजार ८ सय १८ मतसहित वडाध्यक्ष बनेका हुन् । उनले कांग्रेसका रमेश डंगोल (१५७५ मत) लाई हराएका हुन् । एमालेबाट खुला सदस्यमा हरिबहादुर महर्जन र दलित महिला सदस्यमा आरती सुनार निर्वाचित भए । अन्य २ सदस्यमा कांग्रेसका विजय कर्माचार्य र मीना सिंह विजयी भएका छन् ।

हाल वडा–६,७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना जारी छ । महानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अघि छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?