मोरङमा साख गुमाउँदै जसपा

देवनारायण साह

मोरङ — मधेसवादी दलहरूले स्थानीय तहको निर्वाचनमा मोरङमा अस्तित्व जोगाउनै संघर्ष गरिरहेका छन् । अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जनता समाजवादी पार्टी) ले अध्यक्ष र उपाध्यक्ष जितेको जहदा गाउँपालिकामा यसपालि दुवै पद कांग्रेसले जित्यो । प्रदेश १ का १४ जिल्लामध्ये मधेस आन्दोलनको उर्वर भूमि मोरङमा यसपटक जसपाले साख जोगाउन सकेन । मधेस आन्दोलनका क्रममा मोरङमा नौ जनाले सहादत प्राप्त गरेका थिए ।

मोरङमा साख गुमाउँदै जसपा

मोरङका १७ पालिकामध्ये सीमावर्ती जहदा, कटहरी, धनपालथान गाउँपालिका, रंगेली, सुनवर्षी र रतुवामाई मधेसी बाहुल्य र विराटनगरमा मधेसी र पहाडी समुदाय बराबर छन् । बुढीगंगा, ग्रामथान गाउँपालिका पनि मधेसी समुदाय बहुलता भएको क्षेत्र हो । त्यसमध्ये एउटा पनि पालिकामा मधेसवादी दलले प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमा जित हात पार्न सकेन । मोरङको दक्षिणी क्षेत्रस्थित विराटनगर महानगर, रतुवामाई, सुनवर्षी, रंगेली नगरपालिका धनपालथान, कटहरी र जहदा गाउँपालिकामध्ये महानगर, रतुवामाई र रंगेली नगरपालिकामा कांग्रेससँग गठबन्धन गरेर जसपाले उपमेयरमा उम्मेदवार उठाएको थियो । तीनवटै पालिकाको जारी मतगणनामा उपमेयरमा एमाले उम्मेदवारको अग्रता छ । यसपालि जसपाले जहदाका दुई, कटहरी गाउँपालिकामा चार र विराटनगर महानगर–१७ मा मात्र जितेको छ । ०७४ मा संघीय समाजवादीले जहदामा ७ र विराटनगरका ६ वडा जितेको थियो । जसपाको सुनवर्षीमा प्रमुख र उपप्रमुख, धनपालथान, कटहरी, जहदा र बुढीगंगामा अध्यक्ष र उपाध्यक्षमा उठेका उम्मेदवारमध्ये जहदाबाहेक पालिकामा निकटतम प्रतिद्वन्द्वीमै आउन सकेनन् ।

युवा मधेसीको सहादतको मान राख्न नसकेका जसपा र लोसपाको धरातल नै कमजोर बन्दै गएकाले अहिले स्थिति आएको राजनीतिक विश्लेषक तथा महेन्द्र मोरङ क्याम्पस विराटनगरका पूर्वक्याम्पस प्रमुख प्राध्यापक महेन्द्रनारायण यादवको टिप्पणी छ । ‘उपेन्द्र यादवले सुरु गरेको मधेस आन्दोलनमा मुलुकभरिका सबै दलका मधेसीले उपस्थिति जनाएका थिए तर त्यसपछि बनेका मधेसवादी पार्टी नै मधेसको रहन नसकेकाले अहिलेको परिस्थिति आएको हो,’ उनले भने । मधेस आन्दोलनमा सुरुदेखि नै होमिएका विराटनगरका युवा मो. नसरुल अन्सारीले जसपाका नेताहरू नाम मात्रकै भएकाले पार्टीको अस्तित्व संकटमा परेको गुनासो पोखे ।

मधेस आन्दोलनबाट राजनीतिमा उदाएका प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले पार्टीभित्र एकअर्काप्रति समर्पण भाव नहुनु र उम्मेदवार बन्न अधिकांश नेता–कार्यकर्ता महत्त्वाकांक्षी हुनु नै अहिलेको पराजयको कारण रहेको बताए ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?