प्रमुख नेता गृहजिल्लामा कति सफल ?- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

प्रमुख नेता गृहजिल्लामा कति सफल ?

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो जिल्लामा कांग्रेसलाई जिताउन निकै कसरत गर्नुपर्‍यो, अन्य दलका शीर्षस्थ नेताहरुलाई पनि प्रतिष्ठा जोगाउन हम्मे परेको छ
कलेन्द्र सेजुवाल

काठमाडौँ — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा यसपटकको स्थानीय तह निर्वाचनमा गृहजिल्ला डडेलधुरामा यति धेरै सक्रिय भए कि जति मिहिनेत उनी आफैं प्रतिस्पर्धी रहेको निर्वाचनमा समेत गर्दैनथे । उनी निर्वाचनको ४ दिनअघि डडेलधुरा पुगेर स्थानीय तहमा कांग्रेसलाई जिताउन खटिएका थिए ।

डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्ल समूहले कांग्रेस (बीपी) का नाममा जिल्लाभरि एमालेसँग मिलेर प्रतिस्पर्धा गरेपछि उनी प्रतिष्ठा जोगाउने परीक्षामा आफैं होमिएका थिए । ‘अपेक्षाअनुसार नतिजा नआएको भए उहाँ (देउवा) माथि थुप्रै राजनीतिक र नैतिक प्रश्न उठ्ने थिए, तर कांग्रेसले राम्रो गरेपछि प्रतिष्ठा जोगियो,’ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत डडेलधुराका राजनीतिक विश्लेषक योगेश जोशीले भने ।

डडेलधुराका ७ स्थानीय तहमध्ये कांग्रेस एक्लैले ५ वटामा जितेको छ । २०७४ को निर्वाचमा कांग्रेसले ४ स्थानीय तहमा जितेको थियो । गत निर्वाचनमा दुई स्थानीय तह जितेको एमालेले कुनै पालिकामा नेतृत्व जितेको छैन । माओवादीले दुई पालिका जितेको छ । जिल्लाभर एमालेसँग तालमेल गरेको कांग्रेस (बीपी) दुईटा वडाध्यक्षमा सीमित भएको छ । उसले एउटा वडामा भने देउवाको घर रहेको गन्यापधुरा–१ मा कांग्रेसलाई पराजित गरेको हो ।

विश्लेषक जोशी चुनावी नतिजाले कांग्रेसभित्रको अन्तरद्वन्द्व सकिएको र मल्ल समूह रहेको कांग्रेस (बीपी) को हैसियत पनि कमजोर सावित भएको बताउँछन् । ‘यसपटक मल्ल समूहले देउवालाई ठूलै चुनौती दिन खोजेको थियो तर देउवाले सहजै निस्तेज पार्नुभयो,’ उनले भने, ‘एक किसिमले भन्ने हो भने आफ्नो प्रतिष्ठा जोगाउन सफल हुनुभयो ।’

राजनीतिक दलका अन्य शीर्षस्थ नेताहरूलाई भने गृहजिल्लामा प्रतिष्ठा जोगाउन हम्मे भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नी छोरी रेनु प्रतिस्पर्धी रहेको भरतपुर महानगरमा केन्द्रित भइरहँदा चितवन जिल्लाका अन्य स्थानीय तहमा उनको पार्टीले नराम्रो धक्का खाएको छ । माओवादी केन्द्रले सत्तारूढ दलसँगको चुनावी गठबन्धनमा चितवनका ७ स्थानीय तहमध्ये भरतपुर र माडीमा प्रमुख तथा इच्छाकामना, कालिका र खैरहनीमा उपप्रमुख पाएको थियो । भरतपुरको मत गणना चलिरहेको छ भने अन्य सबै स्थानीय तहमा प्रमुख–उपप्रमुख माओवादीले हारेको छ । दाहालको निर्वाचन क्षेत्रसमेत पर्ने माडीको पराजयले उनलाई थप दबाब सिर्जना गरेको भरतपुरका कानुन व्यवसायी उद्धव लोहनी बताउँछन् । ‘हरेक निर्वाचनमा माओवादीका लागि माडी प्रतिष्ठाको क्षेत्र हुने गर्छ, त्यही ठाउँमा गठबन्धन गरेर पनि हारेको छ,’ उनले भने, ‘यसले पार्टी अध्यक्ष दाहालका आगामी चुनावी राजनीतिलाई असर पार्नेछ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका १५ स्थानीय तहमध्ये बिहीबार रातिसम्म ६ वटाको नतिजा सार्वजनिक भएको छ । तीमध्ये ३ तहमा कांग्रेस, २ तहमा एमाले र एक तहमा राप्रपा विजयी भएका छन् । मत गणना जारी रहेका अन्य स्थानीय तहमा एमालेलाई ढुक्क हुने अवस्था देखिँदैन । ओलीको गृहनगर दमकमै राप्रपाले अग्रता लिइरहेको छ । त्यहाँ राप्रपा, कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएको थियो । एमालेले २०७४ को निर्वाचनमा ७ स्थानीय तहमा प्रमुख जितेको थियो । यसपटक राप्रपाका साथै सत्तारूढ दलबीच भएको चुनावी गठबन्धनका कारण एमालेलाई स्थानीय तहमा अघिल्लो पटकको हैसियत कायम राख्न मुस्किल परेको छ ।

झापामै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि प्रतिष्ठाको परीक्षामा छन् । राप्रपाले २०७४ को निर्वाचनमा झापाका ३ वटा स्थानीय तहमा प्रमुख जितेको थियो । यसपटक पार्टी अध्यक्ष रहेका उनीमाथि पुरानो परिणामलाई कायम राख्ने चुनौती छ । लिङ्देनको गृहपालिका हल्दीबारीमा उनका माहिला भाइ राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाले जितेको छ । दमकमा अग्रता लिइरहेको छ भने गत निर्वाचनमा जितेको गौरीगन्जमा बिहीबार रातिसम्मको मत गणनामा तेस्रो स्थानमा छ ।

एकीकृत समाजवादीले देशभर अपेक्षाअनुसार परिणाम नआएको भनिरहेका बेला अध्यक्ष माधवकुमार नेपालको जिल्ला रौतहटले भने इज्जत धानिदिएको छ । एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको एकीकृत समाजवादीले गौर नगरपालिका र राजदेवी नगरपालिकामा प्रमुख–उपप्रमुख जितेको छ । यी दुवै पालिका नेपालको निर्वाचन क्षेत्रमा पर्छन् । बिहीबार रातिसम्मको मत गणनामा वृन्दावन नगरपालिकामा पहिलो र गुजरा नगरपालिकामा एकीकृत समाजवादी दोस्रो स्थानमा छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल राय यादव रौतहटले आफ्नो पार्टीका लागि ‘शुभ संकेत’ दिएको बताउँछन् । ‘नयाँ पार्टीले स्थापनाको छोटो समयमै एक्लै लडेर पालिकाहरूमा जितेको छ, यसले अध्यक्ष (नेपाल) लाई उत्साहित बनाएको छ, जिल्लालाई पनि राम्रो भएको छ,’ उनले भने ।

जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका लागि गृहजिल्ला गोरखाले निराश बनाएको छ । जिल्लाका ११ स्थानीय तहमध्ये एउटैमा पनि उनको पार्टीले जित्न सकेन । उनको घर रहेको पालुङटार नगरपालिकामा कांग्रेसको सहारा लिए पनि सफलता पाउन सकेनन् । राजपाका प्रेमबहादुर गुरुङ माओवादी उम्मेदवार विवश चिन्तनसँग पराजित भए । गोरखामा ८ स्थानीय तहमा माओवादी केन्द्रले जितेको छ भने दुइटामा कांग्रेसले जितेको छ । मत गणना जारी रहेको चुमनुव्री गाउँपालिका अध्यक्षमा जसपाको उम्मेदवार छैन भने उपाध्यक्षमा चौथो स्थानमा छ । ‘उहाँले काठमाडौं बसेर कांग्रेस सभापतिसँग तालमेलको प्रयास गर्नुभयो, तर बेलैमा जिल्लामा आएर चुनाव जिताउन प्रयास गर्नुभएन,’ जसपाका एक जिल्लास्तरीय नेताले भने, ‘यसले गर्दा आफ्नै जिल्लामा शून्य अवस्था देख्नुपर्‍यो ।’ स्थानीय तहको निर्वाचन परिणामले आगामी संसदीय निर्वाचनमा पनि भट्टराईलाई दबाब सिर्जना गर्ने उनले बताए ।

विराटनगर महानगरको निर्वाचन कांग्रेस नेता शेखर कोइरालाको प्रतिष्ठासँग जोडिएको छ । देउवाइतर समूहको नेतृत्व गर्ने कोइरालानिकट नागेश कोइराला गठबन्धनका तर्फबाट विराटनगर महानगरमा प्रमुखको उम्मेदवार बनेका छन् । उनी प्रतिस्पर्धी एमाले उम्मेदवार सागर थापाभन्दा करिब ५ हजार मतले अगाडि छन् । सुरुमा कांग्रेसभित्र चुनावी गठबन्धन गर्न नहुने धारणा राख्दै आएका कोइरालाले पछिल्लो समय गठबन्धनको निर्णयलाई समर्थन गरेका थिए । ‘उहाँ चुनावभन्दा अगाडिदेखि विराटनगरमै हुनुहुन्छ, नागेशको जित–हार उहाँको प्रतिष्ठासँग जोडिएको छ,’ मोरङका कांग्रेसका एक नेताले भने ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०५:५९
प्रतिक्रिया
पठाउनुहोस्

दोहोरिने लोभले पराजित

‘मतदाताको नयाँपनको रूचिलाई दलहरुले उम्मेदवार चयनमा बेवास्ता गर्दा पुराना जनप्रतिनिधि पराजित भए’
कलेन्द्र सेजुवाल

काठमाडौँ — २०७४ को स्थानीय तह निर्वाचनमा अछामको चौरपाटी गाउँपालिकामा एमालेका हर्कबहादुर साउद कांग्रेसका भीमबहादुर साउदलाई १ मतको अन्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका थिए । यस पटक हर्कबहादुरले एकीकृत समाजवादीका तर्फबाट पुनः अध्यक्षमा प्रतिस्पर्धा गरे तर उनलाई तेस्रो स्थानमा सीमित गर्दै भीमबहादुर अध्यक्ष निर्वाचित भए । 

अघिल्लो निर्वाचनमा इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष निर्वाचित डिकेन्द्र इधिंगो र उपाध्यक्ष निर्वाचित सुनिता सुब्बाले पनि दोहोरिने चाहना पूरा गर्न सकेनन् । त्यतिबेला पराजित भएका हेमन्त राई र विनोदकुमार नेम्बाङ यस पटक इधिंगो र सुब्बालाई हराउँदै अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भए ।

स्थानीय तहमा पुनः दोहोरिने लोभ गर्दा पराजित हुने यी केही प्रतिनिधि पात्र हुन् । पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका अन्य जनप्रतिनिधिले समेत यस्तै नतिजा व्यहोरिरहेका छन् । दैलेखमा ७ जना प्रमुख–उपप्रमुख दोहोरिन चाहेकामा कसैको पनि सपना पूरा हुन सकेन । गुराँस गाउँपालिकाका खेमराज वली र दीपाकुमारी बीसी, नौमुले गाउँपालिकाका भदे बुढा र अमृता सिंह, डुंगेश्वर गाउँपालिकाका नगेन्द्र मल्ल, महाबु गाउँपालिकाका जंगबहादुर शाही र भैरवी गाउँपालिकाकी पदमकुमारी बिष्ट पनि यस पटक पराजित भएका छन् ।

दार्चुलाका १३ जनप्रतिनिधि यस पटक पनि प्रतिस्पर्धामा थिए तर दुई जनाबाहेक सबै पराजित भए । मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी र लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले मात्र जित दोहोर्‍याएका छन् । मतगणना जारी रहेका कतिपय स्थानीय तहमा पनि निवर्तमान जनप्रतिनिधिका लागि पुनः कुर्सीमा पुग्नु चुनौतीपूर्ण देखिएको छ । सुदूरपश्चिम प्रदेशमा मात्र ५१ जना प्रमुख–उपप्रमुख पुनः प्रतिस्पर्धामा थिए । सोमबार साँझसम्म २२ जना पराजित भइसकेका छन् । मतगणना जारी रहेका १८ जनाले पनि जित्ने सम्भावना कम बन्दै गएको छ । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेसका नृपबहादुर वडका लागि पुनः नगरप्रमुख बन्ने सपना चुनौतीपूर्ण बन्दै गएको छ । सोमबार रातिसम्मको मतगणनामा वडलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले २ हजार ३ सयभन्दा बढी मतले पछाडि पारेका छन् ।

कर्णाली प्रदेशमा ४१ जना प्रतिनिधि पुनः निर्वाचनमा सहभागी भएका थिए । तीमध्ये डोल्पामा ४ जना निर्विरोध र अन्य ४ जना प्रतिस्पर्धाबाट निर्वाचित भएका छन् ।

मत परिणाम कुरिरहेका बाँकी २६ जनामध्ये आधाको अवस्था पराजय उन्मुख छ । कालीकोटको खाँडाचक्र र सान्नीत्रिवेणी नगरपालिकामा स्वतन्त्र उम्मेदवारले निवर्तमान प्रमुखलाई पराजित गरेका छन् । खाँडाचक्रमा एमालेबाट पुनः प्रमुखमा उठेका जशीप्रसाद पाण्डेलाई स्वतन्त्र उम्मेदवार कमलबहादुर शाहीले पराजित गरेका छन् । एकीकृत समाजवादीनिकट उनलाई माओवादी केन्द्रले सहयोग गरेको थियो । सान्नीत्रिवेणीमा माओवादी केन्द्रबाट निर्वाचित निवर्तमान नगर प्रमुख डम्बरबहादुर शाहीलाई सोही दलका बागी उम्मेदवार मोहनबहादुर केसीले पराजित गरेका हुन् ।

पदमा रहँदा जनताको मन जित्न नसक्नु नै जनप्रतिनिधिका लागि पुनः पदमा दोहोरिने सपनाको बाधक हो । अधिकांश जनप्रतिनिधिले गत निर्वाचनमा जनतासँग गरेका बाचा पूरा गर्न सकेनन् । यसले गर्दा उनीहरूलाई यस पटक मत माग्न पनि कठिन भयो । ‘भोट माग्न जाँदा जनताले अघिल्लो पटक चुनाव जिताएकै थियौं तर न विकास दिनुभयो न जागिर दिनुभयो भन्दै असन्तुष्टि व्यक्त गरे,’ गाउँपालिका अध्यक्षमा पराजित कर्णालीका एक उम्मेदवारले भने, ‘तर हामीलाई चुनावका बेला बाध्यता, सीमा र समस्या सुनाउने छुट थिएन ।’ जनताको गुनासो र असन्तुष्टिमा प्रतिस्पर्धी उम्मेदवारले फाइदा लिएको उनले बताए ।

कतिपयले जानाजान जोखिम मोलेर चुनाव लड्दा हार व्यहोरेका छन् । अघिल्लो पटक माओवादी केन्द्रबाट बागलुङको ताराखोला गाउँपालिका प्रमुखमा निर्वाचित प्रकाश घर्तीमगरले यस पटक टिकट नपाएपछि बागी उम्मेदवारी दिए । उनलाई पार्टीका उम्मेदवार धनबहादुर विकले पराजित गरे । पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका उपाध्यक्ष रहेकी मीनाकुमारी राना पार्टीले टिकट नदिएपछि उपाध्यक्षमै बागी उठिन् । सोमबार रातिसम्म कांग्रेसकी कला भुजेलले ५ हजार १ सय ३३ मत ल्याउँदा उनले ९० मतमात्रै पाएकी छन् ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल पहिलो पटक निर्वाचित हुँदा जनतालाई सन्तुष्ट पार्ने गरी काम गर्न नसक्नु हारको प्रमुख कारक हुन सक्ने बताउँछन् । ‘पदमा रहेकासँग जनताका धेरै अपेक्षा हुन्छन् तर काम गर्ने आधार कम भएपछि असन्तोष बढेर चुनावमा प्रकट हुन्छ,’ उनी भन्छन्, ‘यसका साथै चुनाव हार्नुमा उम्मेदवारका व्यक्तिगत कारण पनि सहयोगी हुन सक्छन्, पदमा रहँदा कस्तो प्रदर्शन गर्न सक्यो भन्नेले पनि धेरै अर्थ राख्छ ।’ चुनावी गठबन्धन भएपछिको उथलपुथलको अवस्थाले समेत हारजितमा भूमिका खेलेको हुन सक्ने उनले बताए ।

मतदाताको नयाँपनको रुचिलाई दलहरूले उम्मेदवार तय गर्दा बेवास्ता गरेको कारण पुराना जनप्रतिनिधि पराजित भएको खनालको भनाइ छ । विशेषगरी युवाले नयाँ विकल्प खोज्दा जनप्रतिनिधिमा दोहोरिने सपना पूरा हुन नसकेको उनले बताए । ‘राष्ट्रिय राजनीतिमा देखिएको उथलपुथल, मतदाताको नयाँपनको रुचि र कतिपय स्थानीय कारणले पनि पुनः निर्वाचित हुन अवरोध गरेको हुन सक्छ,’ उनले भने । पुनः निर्वाचित हुन नसकेका उम्मेदवारले आफ्नो व्यक्तिगत कमजोरीभन्दा पनि दलभित्रको आन्तरिक किचलोलाई हारको कारकका रूपमा देखाउने गरेका छन् । कांग्रेसका उम्मेदवारले अन्तरघात भएका कारण हार व्यहोर्नुपरेको बताउने गरेका छन् भने एमालेका उम्मेदवारले विपक्षमा बनेको बलियो गठबन्धनलाई कारक देखाएका छन् ।

गुराँस गाउँपालिका अध्यक्षमा पराजित भएपछि खेमराज ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बागी तानेको नाटक मञ्चन गरियो, सबै हिसाबकिताब गरेर चुनाव हराउनकै लागि मिलेमतोमा विज्ञप्ति निकाल्न लगाई चुनाव हराइयो ।’ गुराँसमा कांग्रेसकै पमबहादुर मल्लले बागी उम्मेदवारी दिए पनि मतदानको अघिल्लो दिन उनले विज्ञप्ति निकालेर ओलीलाई समर्थन गरेका थिए । २०७४ को निर्वाचनका बेला ओलीले अर्को पटक अध्यक्ष बनाउने भनेर प्रतिबद्धता दिए पनि पुनः आफैं उठेपछि बागी हाल्नुपरेको उनको भनाइ थियो । कालीकोटको सान्नीत्रिवेणीमा नगर प्रमुख पराजित डम्बरबहादुर शाहीले पनि पार्टीका नेताहरूकै कारण पराजित हुनुपरेको बताएका छन् । ‘मलाई टिकट त दिइयो तर बागी उम्मेदवारलाई जित्ने वातावरण बनाउने काम भयो,’ उनले भन्ने गरेका छन् । हिमाली जिल्लाहरूमा भने अधिकांश उम्मेदवार पुनः निर्वाचित भएका छन् । डोल्पामा ७ जना दोहोरिएका छन् । हुम्लाको खार्पुनाथमा कर्णबहादुर रावल पुनः निर्वाचित भएका छन् । मनाङका चारमध्ये तीन पालिकामा पहिलेकै अध्यक्ष दोहोरिएका छन् । मुस्ताङको लो–घेकर–दामोदरकुण्डमा लोप्साङ छोम्पेल बिष्ट, बारागुङ मुक्तिक्षेत्रमा रिङजिङ नामगेल गुरुङ र मुगुको मुगुमकर्मारोङमा छिरिङ क्याप्ने लामा पुनः निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०५:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×