अर्धकट्टीसहितका मतपत्र भेटिएपछि धुलिखेलको मतगणना पुन: स्थगित 

नगेन्द्र अधिकारी

काभ्रे — मतदाताले हस्ताक्षर वा औंठा छाप लगाएको अर्धकट्टीसहितको ६१ वटा मतपत्र भेटिएपछि स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत धुलिखेलको मतगणना रोकिएको छ । धुलिखेल–११ को मतगणनाका क्रममा एकै निर्वाचन चिह्नमा संकेत भएका त्यस्ता मतपत्र भेटिएपछि गणना स्थगित भएको सहायक निर्वाचन अधिकृत शेषराज दाहालले जानकारी दिए ।

अर्धकट्टीसहितका मतपत्र भेटिएपछि धुलिखेलको मतगणना पुन: स्थगित 

उनले आफू मतगणना स्थलबाट केही समय निस्किएको र अर्धकट्टी सहितका मतपत्र भेटिएकोले छलफलका लागि रोकिएको जानकारी पाएको बताए । उनले ‘भुलवश’ पर्न गएका त्यस्ता मतपत्र अलग्गै राखेर गणना गर्न निर्वाचन निर्देशिकाले भनेको बताए । धुलिखेल–११ का दुई मतदान केन्द्रबाट २ हजार ४ सय ६८ मत खसेको थियो ।

यसअघि पनि उम्मेदवार नभएको चिह्न र अन्य चिन्ह दुवैमा संकेत भएको मत सदर वा बदर के गर्ने ? भन्ने विषयमा विवाद भएपछि मतगणना मंगलबार दिउँसोबाट रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले समाधानका लागि आयोगलाई पत्र लेखेको थियो । आयोगले वडा नं ८ सम्मका १२ हजार ५ सय ४० मतमध्ये दुई वटा निर्वाचन चिह्नमा मत संकेतलाई समेत सदर गर्ने गरी भएको गणनालाई मान्यता दिँदै बाँकीको हकमा निर्वाचन निर्देशिका अनुसार गर्ने निर्देशन दिएको थियो ।

मतगणना सुरु हुनुअघि दलहरूसहितको बैठकले एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा छाप छ भने उम्मेदवार भएको पदमा त्यो संकेत सदर मान्ने सहमति गरेको थियो । वडा नम्बर ९ को मतगणना गर्ने बेलामा निर्देशिकाविपरीत सहमति भएकोमा आफ्नो गल्ती महसुस गर्दै मुख्य जिल्ला न्यायधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले नयाँ व्यवस्थाअनुसार गणना गर्न अनुरोध गरेका थिए ।

नगरप्रमुख पदका प्रत्यासी विदुरबहादुर बस्नेतलगायत दलका प्रतिनिधिले एउटै गणनामा फरक-फरक नियम हुन नसक्ने भन्दै आपत्ति जनाएका थिए । पछि आयोगको निर्देशनानुसार मतगणना फेरि सुरु गरिए पनि एकै चिह्नमा संकेत भएका अर्धकट्टीसहितका मतपत्र भेटिएपछि पुन: विवाद भएको हो ।

प्रकाशित : जेष्ठ ५, २०७९ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?