१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पाल्पाको रम्भा गाउँपालिकामा मतगणना सुरु गर्न आयोगको निर्देशन 

माधव अर्याल

पाल्पा — पाल्पाको रम्भा गाउँपालिकामा वैशाख ३१ गते अपरान्ह स्थगित भएको मतगणना कार्य शुक्रबारबाट गरिने भएको छ । निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको मतगणना सुरु गर्न निर्वाचन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

पाल्पाको रम्भा गाउँपालिकामा मतगणना सुरु गर्न आयोगको निर्देशन 

आयोगले प्रशासनलाई विशेष सुरक्षा व्यवस्था गरेर भए पनि मतगणना गर्न निर्देशन दिएको छ । कर्मचारी सदरमुकाम तानसेनबाट लगेर भए पनि मतगणना गर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जिल्ला निर्वाचन कार्यालयले कर्मचारी व्यवस्थापन गर्न लागिसकेको बताए । उनले कर्मचारी व्यवस्थापन हुनासाथ मतगणनाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउने बताए ।

वैशाख ३१ गते अपरान्ह रम्भा गाउँपालिका–५, ताहुँको मतगणना सकिएर जोड्ने क्रममा ७४ मत बढी भेटिएपछि बढेको विवादपछि मतगणना रोकिएको थियो । विवादले गर्दा बिहीबारसम्म मतगणना कार्य अघि बढ्न सकेको थिएन । २०७९ जेठ ४ गते नै आयोगले पत्र पठाएर मतगणना गर्न निर्देशन दिएपछि सोहीअनुसार अघि बढेको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताए । उनका अनुसार बिहीबार कर्मचारी व्यवस्थापन र शुक्रबार सकेसम्म बिहान मतगणना कार्य प्रारम्भ गरिने छ ।

रम्भामा रहेका नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, मंगलोल नेशनल अर्गनाइजेशन पार्टीले संयुक्त विज्ञप्ति जारी गरेर मतगणना कार्यमा संलग्न कर्मचारीहरुलाई नियमानुसार विभागीय कारवाही तथा पुन: मतदानका लागि माग गर्दै आएका छन् । उता नेकपा एमाले रम्भा गाउँ कमिटीले विज्ञप्ति जारी गरेर मतगणना सुरु गर्न माग गरेको छ । एमालेले जनताको मतको कदर गर्दै मतपेटिका सुरक्षित गर्नसमेत माग गरेको छ ।

मतगणना तुरुन्त सुरु गरी संविधान र कानुनबमोजिम जनताको दिएको मतको कदर गर्दै शान्तिपूर्ण वातावरणमा मतगणना कार्य सम्पन्न गरी मतपरिणाम घोषणा गर्न माग गरेको छ । नेपाली कांग्रेस रम्भा गाउँ कार्य समितिका अध्यक्ष ऋषिराम अर्यालले विज्ञप्ति जारी गरेर मतगणनामा सहभागी कर्मचारीहरुको गतिविधि शंकास्पद पाइएकाले मत परिणामलाई स्वीकार नगरी पुन: मतदानको माग गरेको छ ।

रम्भाका चार दलले निर्वाचन अधिकृत कार्यालय रम्भाले ५ नम्बर वडाको गणनामा देखिएको नतिजाप्रति पनि असहमति रहेको जनाएका छन् । दलहरुले मतगणना कार्यमा आवश्यक सीसीटीभी व्यवस्था नगरेको, मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिलाई सहभागी नगराइएको, आवश्यक बिजुली बत्ती व्यवस्था नगरेको आरोप लगाएका छन् ।

साथै दलका भातृसंघसंगठनमा रहेका गाउापालिकामा कार्यरत कर्मचारीहरुको प्रयोग गरिएको, मतगणना स्थगित भइसकेपछि पनि दलका प्रतिनिधि नराखिएको, एकपक्षीय व्यक्तिहरुलाई प्रवेश दिइएको, मतपेटिका आध्यारो तथा अन्य सामग्री भएका स्थानमा राखिएको जनाएका छन् । रम्भा गाउँपालिकामा खटिएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले सर्वदलीय बैठक बसेर पनि कुनै टुंगोमा पुग्न नसकेको बताए ।

प्रकाशित : जेष्ठ ५, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?