बझाङ केदारस्युँको अध्यक्षमा समाजवादीका बोहरा विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

बझाङ केदारस्युँको अध्यक्षमा समाजवादीका बोहरा विजयी

वसन्तप्रताप सिंह

बझाङ — केदारस्युँ गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीका गणेशबहादुर बोहरा विजयी भएका छन् । नेकपा एमालेका लोकेशबहादुर भण्डारीलाई १ हजार ९ सय १३ मतलेपछि पार्दै बोहरा विजयी भएका हुन् ।

अध्यक्ष बोहराले ४ हजार ३२१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी भण्डारीले २ हजार ४०८ मत पाएका छन् । अध्यक्षमा विजयी भएका बोहरा यसअघि वडा नम्बर ८ का वडाअध्यक्ष हुन् । हालसम्म सुदूरपश्चिम प्रदेशभरी एकीकृत समाजवादीबाट जित्ने बोहरा एकमात्रै पालिका प्रमुख हुन् ।

यस्तै, पालिकाको उपाध्यक्षमा ३ हजार ९३१ मतसहित नेपाली कांग्रेसकी मनिषा धामी विजयी भएकी छन् । उनी एमालेकी नारा गुर्धामीलाई १ हजार ७८२ मत अन्तरले पार्दै विजयी भएकी हुन् । गुर्धामीले २ हजार १४९ मत प्राप्त गरेकी छन् । विजयी भएका उम्मेदवारलाई नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सम्मिलित चुनावी गठबन्धनको समर्थन रहेको थियो ।

९ वटा वडा रहेको यस पालिकाको वडा नम्बर एकमा नेपाली कांग्रेसका वीरबहादुर भण्डारी, दुईमा एकीकृत समाजवादीका शेरबहादुर विष्ट, तीनमा समाजवादीकै वीरबहादुर खाती विजयी भएका छन् ।

त्यस्तै, चार नम्बर वडामा एमालेका कल्यान मल्ल र पाँचमा मोहन ठगुन्ना, वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका विजय धामी र वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार चन्द्र धामी, वडा नम्बर ८ मा एकीकृत समाजवादीका सुरेश जेठारा र वडा नम्बर ९ मा कांग्रेसका नन्दलाल बोहरा विजय भएको निर्वाचन अधिकृतको कार्यालय केदारस्युँले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्

बझाङको खप्तडछान्ना गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

वसन्तप्रताप सिंह

काठमाडौँ — बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उत्तमकुमार रोकाया र उपाध्यक्षमा माओवादी केन्द्रका विष्णु थापा निर्वाचित भएका छन् । बहुमत वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धन उम्मेदवार विजयी भएका हुन् । खप्तडछान्नामा कांग्रेस एमालेबीच चुनावी गठबन्धन भएको थियो ।

नवनिर्वाचित अध्यक्ष रोकायाले ३ हजार १ सय ४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लोकेन्द्रबहादुर सिंहले २ हजार ७ सय ३८ मत मात्र प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा निर्वाचित थापाले ३ हजार २ सय ३२ मत प्राप्त गरेका छन् । उनको प्रतिस्पर्धी देवकी जोशीले २ हजार ३ सय ३ मत पाएको निर्वाचन अधिकृत खगेन्द्रबहादुर सिंहले जानकारी दिए ।

गाउँपालिका १ मा एकीकृत समाजवादीका देविभक्त जोशी, २ मा माओवादी केन्द्रका ज्योतिप्रकाश बोगटी, ३ मा कांग्रेसकी गौरी अधिकारी र ४ मा एमालेका ईश्वर रोकाया निर्वाचित भएका छन् ।

त्यस्तै वडा नम्बर ५ मा एमालेका रामबहादुर सिंह, ६ एमालेकै तेज खड्का र ७ मा कांग्रेसका रमानन्द जोशी वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×