१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

नरसिंहको विरासतमा रविनको प्रवेश

विनोद पाण्डे

काठमाडौँ — ललितपुर महानगरपालिका वडा नम्बर १० को स्थानीय निर्वाचन काका–भतिजको प्रतिस्पर्धामा सीमित थिएन । नरसिंह व्यञ्जनकारको विरासत वा उनका भतिज युवा रविन व्यञ्जनकारको उदय मतदानको निर्णय आउनुअघि निकै कौतहुलताको विषय थियो ।

नरसिंहको विरासतमा रविनको प्रवेश

नेपाली फुटबलमा स्थापित नाम हुन् रविन । उनले जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबाट सहिद स्मारक ए डिभिजन र च्यायसल युवा क्लबबाट 'बी' डिभिजन खेलेका थिए । युथ फुटबलमा उनी राकेश श्रेष्ठ, वसन्त गौचन र वसन्त थापाको पुस्ता हुन् । राकेश र वसन्तद्वय सँगै नेपालबाट यू १६, यू १९ र नेपाल रातोबाट खेलेका थिए ।

अघिल्लो सिजन उनी फ्रेन्ड्स क्लबका व्यवस्थापक नै थिए । कलेजदेखि नै राजनीति गर्दै आए पनि राष्ट्रिय राजनीतिमा उनी नौला हुन् । उनका ठूलोबा नरसिंह नेपाली राजनीतिको स्थानीय निर्वाचनका भेट्रान हुन् । उनले २०२९ देखि २०७४ सालसम्म गरी लगातार १० पटक वडाध्यक्षमा जित्दै आएका थिए ।

नरसिंह अधिकांश समय स्वतन्त्रमा उठ्दै आएका छन् । यसपटक पनि त्यही गरे । वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो । नरसिंहले ११ गते नै १२ बजेको साइत निकाल्दै ११ औं पटक अध्यक्ष बन्नका लागि उम्मेदवारी दर्ता गरे । रविनलाई नेपाली कांग्रेसले टिकट दिइसकेको थिएन ।

१२ गते बिहान ९ बजे रविनले कांग्रेसबाट टिकट पाउने निधो भयो । टिकट पाए लगत्तै उनले आफ्नो उम्मेदवारी दर्ता गरे । ‘त्यो दिन मैले तबा (ठूलो बुवा) लाई भेट्न पाइनँ, भोलिपल्टै बिहान गएर मैले उहाँसँग आशिर्वाद लिएको थिएँ, तबाले कांग्रेसले घात गर्न सक्छ है भनेर सचेत गराउनु भएको थियो ।’

निर्वाचनको एक सातापछि बिहीबार बिहान आएको मतपरिणाम नरसिंहले सोचेको जस्तो रहेन । उनले भने जस्तो कांग्रेसले रविनलाई घात गरेन । रविनले झन्डै ५० प्रतिसत मत ल्याए । झरेको झन्डै १७ सय मतमध्ये रविनले ८ सय २५ मत पाएका थिए । नरसिंहको नाममा ५ सय ४३ मत परेको थियो ।

वडा नं १० बाट कांग्रेसको प्यानल नै विजयी भएको हो । नेकपा एमालेले प्राय: गरी यस क्षेत्रमा उम्मेदवार उठाउँदैन र नरसिंहलाई समर्थन गर्दै आएको छ । तर उम्मेदवार नै नउठाएको एमालेको सूर्य चुनाव चिन्हमा ६४ मत परेको छ ।

वडा नं १० मा मात्र नभई व्यञ्जनकार परिवारमै यसपटक ठूलो प्रतिष्ठाको विषय बनेको थियो । व्यञ्जनकार परिवारभित्रको १ सय भोटमा काका भजितको रस्साकस्सी थियो । रविनको घरमा बिहीबार ११ बजेपछि पुग्दा विजय उत्सव देखिन्थ्यो भने दुई घर पर रहेको नरसिंहको घरमा सन्नटा देखिएको थियो । तबाकै आशिर्वाद र सल्लामा रहेर जनताको सेवा गर्ने रविनले बताए ।

ए डिभिजनको टोली फ्रेन्ड्स क्लब वडा नं १० को केन्द्रविन्दु रहँदै आएको छ । रविन र उनका दाजु रोहनसहित नरसिंहका छोरा सिद्धि व्यञ्जनकार, नरसिंहका अर्का भाइका छोरा रमेश व्यञ्जनकारले नेपाली फुटबलमा इतिहास बोकेको यस क्लबबाट खेलिसकेका छन् ।

नरसिंह यसको प्रमुख संरक्षक हुन् । फ्रेन्ड्स क्लबको विधानमा वडा नं १० बाट निर्वाचित हुने अध्यक्ष क्लबको प्रमुख संरक्षक हुने प्रावधान छ । रविनका लागि फ्रेन्ड्स क्लब त्यसै पनि पानी पँधेरो जस्तै रहेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?