३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

संविधानसभा सदस्य चौलागाईं गाउँपालिका अध्यक्षमा निर्वाचित, उपाध्यक्षमा कांग्रेसका लामा

नगेन्द्र अधिकारी

काभ्रे — तत्कालीन संविधानसभा सदस्य रेणुका चौलागाईं चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेका जितराम लामालाई ७ सय ६५ मतले पछि पार्दै गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार चौलागाईं अध्यक्षमा निर्वाचित भएकी हुन् ।

संविधानसभा सदस्य चौलागाईं गाउँपालिका अध्यक्षमा निर्वाचित, उपाध्यक्षमा कांग्रेसका लामा

रेणुकाले ६ हजार २ सय २८ मत प्राप्त गरिन् भने एमालेका लामाले ५ हजार ४ सय ६३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा सत्ता गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका शेरबहादुर लामा विजयी भएका छन् । लामाले ७ हजार २ सय १९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी बबिता खरेल (गौतम) ले ३ हजार ५ सय ४९ मत प्राप्त गरिन् ।

संविधानसभा सदस्यसमेत रहेकी चौलागाईंले जनतासँग प्रत्यक्ष जोडिने कार्यकारी भूमिकामा रहनको लागि स्थानीय तहमा उम्मेदवार बनेको र जनताले अनुमोदन गरेको प्रतिक्रिया दिइन् । २०५१ सालमा नै विद्यार्थी संगठनमा आवद्ध भएकी चौलागाईं प्रहरीले धरपकड गर्न थालेपछि २०५४ सालमा माओवादीको पूर्णकालीन कार्यकर्ता बनेकी थिइन् ।

२०५६ सालमा महिला संगठनको जिल्ला अध्यक्ष बनेकी उनी १ वर्ष माओवादीले गठन गरेको जनमुक्ति सेनामा प्लाटुन कमाण्डरको भूमिकामा थिइन् । २०५८ सालमा सेनाको गिरफ्तारीमा परेकी उनी २०६४ सालमा समानुपातिकतर्फ संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् ।

यसपटक चौरीदेउराली गाउँपालिकाका बहुमत वडाहरूमा पनि माओवादी केन्द्रले नै जितेको छ । ९ वडामध्ये माओवादीले वडा नं ३, ४, ५, ८, ९, कांग्रेसले वडा नं १, ६ र ७ र एमालेले वडा नं २ मा जित हासिल गरेको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका दिनानाथ गौतम र उपाध्यक्षमा माओवादी केन्द्रकै ताराकुमारी चौलागाईं निर्वाचित भएका थिए ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?