१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कर्णालीमा भत्किए किल्ला

आफ्नै आधार इलाकामा माओवादी कमजोर, अघि बढ्दै कांग्रेस
कृष्णप्रसाद गौतम

सुर्खेत — स्थानीय तह निर्वाचन ०७४ मा कर्णालीमा एमालेले २७ र कांग्रेस र माओवादीले २५/२५ स्थानमा जितेका थिए । त्यतिबेला देशभरि १ सय २६ सिट जितेको माओवादीले कर्णालीमा सबैभन्दा बढी स्थानमा विजय हासिल गरेको थियो । तर गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनका मत परिणाम आउँदै गर्दा दलहरूको प्रादेशिक समीकरणमा ठूलै फेरबदल हुने संकेत देखिँदै छ । 

कर्णालीमा भत्किए किल्ला

बुधबार रातिसम्म कर्णालीका ७९ स्थानीय तहमध्ये ६८ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा माओवादीले १९ स्थानीय तहमा मात्रै जित हासिल गरेको छ । अघिल्लो स्थानीय तहभन्दा चार स्थानीय तहमा जित थप्दै कांग्रेसको ३० स्थानीय तह जितिसकेको छ भने एमाले १२ र एकीकृत समाजवादीले ३ ठाउँमा जित हासिल गरेका छन् ।

माओवादीले कर्णालीलाई आफ्नो किल्ला बताउँदै आए पनि स्थानीय निर्वाचनका प्राप्त परिणामले माओवादी कमजोर बनेको देखिन्छ । जित हासिल गरेका ठाउँमा पनि अघिल्लो चुनावको भन्दा कम मतान्तरले जित हासिल गरेको देखिन्छ भने मतगणना बाँकी रहेका स्थानमा पनि माओवादीले भारी अग्रता हासिल गर्न सकेको देखिन्न । माओवादी कमजोर भएको एउटा उदाहरण हो, रुकुम पश्चिमको मुसीकोट । माओवादी नेता एवं अर्थमन्त्री जनार्दन शर्मा चुनावको सामुन्ने एक साता गृहनगरमा खटिएका थिए । तर बुधबार रातिसम्मको मत परिणाम हेर्दा मुसीकोटमा माओवादीका नगर प्रमुख वसन्तकुमार शर्मा झन्डै दुई सय बढी मतान्तरले पछि छन् । कतिसम्म भने शर्माकै वडा मुसीकोट–५ मा कांग्रेस उम्मेदवार समीरजंग मल्ल विजयी भए ।

रुकुम पश्चिमकै बाँफिकोट गाउँपालिका अध्यक्षमा कांग्रेसका जनककुमार बाँठाले माओवादीका चन्द्रबहादुर केसीलाई पराजित गरे । ‘माओवादी कमजोर भइसकेको उदाहरण यो पनि हो,’ नागरिक अगुवा गोविन्द केसी भन्छन्, ‘राजनीतिमा कोही पनि बाहुबली हुन्न भन्ने सन्देश अर्थमन्त्रीकहाँ पुग्न जरुरी छ ।’ अर्थमन्त्रीकै जिल्लामा यसअघि १३ वडा मात्र जितेको कांग्रेसले अहिलेसम्म ३३ वडा जितिसकेको छ । अझै १० वडामा उसको अग्रता छ । ‘कर्णाली हाम्रो आधार इलाका हो, तर शर्माकै कारण कार्यकर्ता रुष्ट भएको जारी मत गणनाले देखाइरहेको छ,’ माओवादी छोडेर त्रिवेणी गाउँपालिका–१ मा स्वतन्त्रबाट वडाध्यक्ष निर्वाचित सुन्दर ओली भन्छन्, ‘अब शर्माजीहरूले कार्यकर्तालाई दासकै व्यवहार नगरे हुन्छ ।’

माओवादीका धेरै नेता–कार्यकर्ताले पाँच दलीय सत्ता गठबन्धनका कारण कर्णालीमा माओवादी झनै बलियो हुने अपेक्षा राखेका थिए । ‘जनयुद्ध’ को आधार क्षेत्र पनि भएकाले र प्रभावशाली नेताको गृह जिल्ला भएकाले उनीहरूमा ठूलो अपेक्षा थियो । अधिवक्ता दुर्गाप्रसाद सापकोटा सत्ता गठबन्धन भए पनि आफ्नो आधार इलाकामा माओवादी कमजोर देखिएको बताए । ‘सर्वहारा पार्टीमा एक त उम्मेदवार पैसावाला मात्र चयन भए,’ उनले भने, ‘त्यसमा पनि माओवादी नेताहरूको अस्वस्थ प्रतिस्पर्धा भयो ।’ उनका अनुसार जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीको आन्तरिक प्रतिस्पर्धाले माओवादी कमजोर भएको हो ।

कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्ला कालीकोटमा पनि माओवादीलाई उल्ट्याउँदै कांग्रेस अघि बढेको छ । कालीकोटको तिलागुफा नगरपालिकामा माओवादीलाई हराएर कांग्रेसका शंकर उपाध्याय नगर प्रमुख बनेका छन् । कर्णालीमा सत्ता गठबन्धनकै अर्को ‘अंशियार’ एकीकृत समाजवादीले ३ ठाउँमा (२ ठाउँमा निर्विरोध) बाहेक अन्यत्र कहीं जित्न सकेको छैन । स्थानीय निर्वाचन ०७४ मा पहिलो बनेको पार्टी एमाले तेस्रो बनेको छ । कांग्रेसको गढ पनि धेरै ठाउँमा भत्किएको छ । दैलेखको नौमुले र गुराँससहित उसले ५ पालिका गुमाएको छ ।

कसको किल्ला कसले भत्कायो ?

अघिल्लो स्थानीय तह निर्वाचनमा दैलेखमा ११ मध्ये ७ वटा पालिका जितेर पहिलो बनेको एमाले यसपटक ४ वटासहित दोस्रोमा खुम्चिएको छ । एमालेले ठूलो क्षति बेहोर्दा त्यसको फाइदा कांग्रेस र माओवादीले लिएको हो । अघिल्लोपल्ट ४ पालिका जितेको कांग्रेसले यो पटक ५ पालिका जित्यो तर आफ्नो वर्चस्व रहेको गुराँस र डुंगेश्वर गाउँपालिका गुमायो ।

०७४ मा कुनै पनि पालिका र वडासमेत नजितेको माओवादीले चुनावी गठबन्धनको फाइदा उठाउँदै भगवतीमाई र नौमुले गाउँपालिकामा जित निकालेको छ । जाजरकोटको बारेकोट गाउँपालिका कांग्रेसको हातबाट एमालेले खोसेको छ भने सदरमुकाम खलंगा पनि सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले आफ्नो पोल्टामा पारेको छ । सुर्खेतको चिन्गाड गाउँपालिका कांग्रेसबाट एमाले र लेकबेसी एमालेबाट कांग्रेसले खोसेको छ भने चौकुने एमालेबाट माओवादी केन्द्रले नेतृत्व आफ्नो पक्षमा पारेको छ । यसअघि हुम्लाको अदानचुलीमा एमालेले जित हासिल गरेकामा योपल्ट कांग्रेस उम्मेदवार विजयी बनेका छन् । जुम्लाको सिञ्जा गाउँपालिका कांग्रेसबाट माओवादी र हिमा गाउँपालिका माओवादीबाट कांग्रेसले लिएको छ ।

त्यस्तै, यसअघि माओवादीले जितेको तातोपानीमा यसपालि कांग्रेस उम्मेदवार विजयी बने । कालीकोटमा माओवादी किल्ला मानिने तिलागुफा कांग्रेसको हातमा गएको छ । नरहरिनाथ एमालेबाट कांग्रेस, सान्नीत्रिवेणी माओवादीबाट स्वतन्त्र र खाडाचक्रमा एमालेबाट स्वतन्त्र, महाबै कांग्रेसबाट माओवादी, एमालेबाट शुभकालिका माओवादीले नेतृत्व पाएको छ ।

एमालेले जितेको मुगुको खत्याड यसपटक कांग्रेसले लिएको छ भने रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका माओवादीबाट कांग्रेसले आफ्नो पोल्टामा पार्‍यो । सल्यानमा यसअघि एमालेले जितेका बन्गाडकुपिन्डेमा माओवादी, कपुरकोटमा समाजवादी र सिद्धकुमाखमा कांग्रेस नेतृृत्वमा आएको छ । माओवादीको ‘गढ’ भनेर चिनिएको कुमाखमा एमाले र कांग्रेसले गठबन्धन गरेर माओवादीलाई हराएका छन् ।

स्वतन्त्रको पक्षमा नतिजा

अहिलेसम्म कर्णालीमा ४ स्वतन्त्र उम्मेदवारले आफ्नो पक्षमा जित निकालेका छन् । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी १ हजार ८ सय २२ मत ल्याएर विजयी भए भने सदरमुकाम खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमलबहादुर शाही, डोल्पाको डोल्पोबुद्धको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ र जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?