३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चन्द समूहको परीक्षा

गत फागुनमा सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा फर्किएको चन्द समूह निर्वाचनमा जाने विषयमा विभाजित नै भयो, राजनीतिक जोखिम मोलेर केही स्थानीय तहमा उम्मेदवारी दिए पनि प्रभावकारी उपस्थिति देखाउन भने सकेन 

रोल्पा/प्यूठान/कपिलवस्तु/कालीकोट — २०७७ फागुन २१ मा सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द समूहले स्थानीय तह निर्वाचनमा सोचेजस्तो नतिजा हासिल गर्न सकेन । निर्वाचनमा जाने कि नजाने भन्ने विवाद चर्किंदै विभाजनसम्म पुगे पनि पार्टीका नेता–कार्यकर्ताले कालीकोट, प्यूठान, रोल्पा र कपिलवस्तुमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्यूठानका दुई वडामा जित हासिल गरेको चन्द समूहले आफ्नो जनाधार र सीमितता बुझ्ने मौका पाएको छ ।

चन्द समूहको परीक्षा

यसअघिको स्थानीय तहको निर्वाचनमा रोल्पाका सुरक्षा निकाय प्रमुखहरूको एउटै चिन्ता हुन्थ्यो– निर्वाचन बिथोल्ने तत्त्वले कतिबेला के बिगबिगी मच्चाउने हुन् ? २०७४ को स्थानीय निर्वाचन बहिष्कारको नीति लिएको चन्द समूहकै नेताहरू स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा होमिएपछि यस पटक सुरक्षा निकायलाई त्यस्तो चिन्ताले उतिधेरै सताएन । रोल्पाका चार स्थानीय तहमा चन्द समूहका नेताहरूले स्वतन्त्रमा उम्मेदवारी दिएका थिए । गंगादेव गाउँपालिकामा चूडामणि वली, थबाङ गाउँपालिकामा दलजित रोका, सुनछहरी गाउँपालिकामा पुस्तमन घर्तीमगर र सुनील स्मृति गाउँपालिकामा कमल थापा अध्यक्षमा उठेका थिए । चारै स्थानीय तहमा चन्द समूहका स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा माओवादीका उम्मेदवारसँग भएको थियो ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गंगादेवका उम्मेदवार वली पार्टीले जित हासिल गरे नमुना गाउँ बनाउने नारा लिएर चुनावमा होमिएका थिए तर चौथो स्थानमा सीमित भए । उनले भने, ‘बहुमतले जित्छु भन्ने लागेको थियो तर संसदीय दलहरूको चुनावी रणनीति बुझ्न सकिएन । जित्न दिइएन ।’ गंगादेवमा कांग्रेसका हरिबहादुर पुनले जित हासिल गरेका छन् । सुनछहरी गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लडेका चन्द समूहका पुस्तमन घर्तीमगर पनि निकटतम प्रतिद्वन्द्वीमा सीमित भए । कांग्रेस र एमालेसँग गठबन्धन गरेर प्रतिस्पर्धा गरे पनि पुस्तमनलाई माओवादीका धनबहादुर पुनमगरले दोब्बरभन्दा धेरै मतले जिते । जनतालाई निर्वाचनका लागि साक्षर बनाउन नसक्दा र केही अन्तर्घात भएकाले जित असम्भव भएको चन्द समूहका स्थानीय नेताको दाबी छ । थबाङ गाउँपालिकामा चन्द समूहले स्वतन्त्र उम्मेदवार दलजित रोकालाई अध्यक्ष पदमा समर्थन गरेको थियो । चन्द समूहकै दुई जनाले दिएको उम्मेदवारी फिर्ता गराएर पार्टी दलजितको समर्थनमा उभिएको थियो तर यहाँ पनि माओवादी नेता ऋषिकेशव बुढामगरले जित हासिल गरे ।

नेकपाका जिल्ला इन्चार्ज केशबहादुर बाँठामगर सुवासले तल्लो तहसम्म संगठन हुनु आवश्यक भएको स्वीकार गरे । उनले भने, ‘हामी अभियानजस्तै राजनीतिक गतिविधि चलाउँदै आयौं तर निर्वाचनमा भाग लिने र जनसमर्थन पाउने बेग्लै विषय रहेछ ।’ उनले जनतासँग यस पटक निर्वाचनका माध्यमबाट आफ्ना एजेन्डा खुलेआम भन्न पाएकामा खुसी लागेको बताए । ‘हाम्रा नेताले निर्वाचनमा सफलता पाउन सकेनन् तर जनतालाई अझ नजिकबाट आफ्ना योजना र विचार सुनाउन पायौं,’ उनले भने ।

रोल्पाका चारै स्थानमा हार ब्यहोरे पनि चन्द समूहका उम्मेदवारले प्यूठानमा दुई वडाध्यक्ष पदमा जित हासिल गरे । जिल्लाको माण्डवी गाउँपालिकाका १ मा बामबहादुर बुढामगर र वडा ४ मा दिलबहादुर गमालले अध्यक्ष जिते । यी दुवै वडामा कांग्र्रेस र माओवादीसँग तालेमल गरेका चन्द समूहका उम्मेदवारले एमालेका प्रतिस्पर्धीलाई जितेका हुन् ।

महासचिव नेत्रविक्रम चन्दको गृहनगर कपिलवस्तुको शिवराज नगरपालिकामा चन्द समूहका भेषराज भुसालले नगरप्रमुखमा उम्मेदवारी दिएका थिए । जारी मतगणनामा उनी पाँचौं स्थानमा छन् । यही नगरपालिकाको वडा ९ मा भने चन्द समूहले सोचेजस्तो नतिजा ल्याउन सकेन । यहाँ चन्द समूहका मालबहादुर घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । वडामा माओवादीका रामगोपाल चौधरी थारूले ७ सय ८२ मत ल्याएर जित निकाले भने चन्द समूहका घर्ती ५ सय १७ मत ल्याएर तेस्रो भए । सदस्यमा पनि माओवादीका जोखबहादुर पुन र रामनरेश थारूले निर्वाचन जित्दा चन्द समूहका रमेश चौधरी र विजयविक्रम शाह पराजित भए । त्यस्तै महिला सदस्यमा माओवादीकी लक्ष्मी भट्टराई विजयी भइन् । चन्द समूहकी स्वतन्त्र उम्मेदवार सविताकुमारी घर्ती दोस्रो बनिन् । दलित महिला सदस्यतर्फ माओवादी केन्द्रकै सरिता विकले चुनाव जितिन् । एमालेकी फूलमाया सुनार दोस्रो र चन्द समूहकी शान्ति दमाई तेस्रो भइन् ।

चन्द समूहले सबैभन्दा धेरै उम्मेदवारी कालीकोटमा दिएको थियो । ३ नगरपालिका र ६ गाउँपालिकामा प्रमुख, उपप्रमुख र ८२ वटा वडामध्ये आधामा चन्द समूहले उम्मेदवारी दिएको थियो । तर, कुनै पनि स्थानमा चन्द समूहका उम्मेदवारले जित हासिल गर्न सकेनन् । चन्द समूहका उम्मेदवार धेरै ठाउँमा चौथो स्थानमा सीमित भएका छन् ।

नरहरिनाथ गाउँपालिको अध्यक्षमा उम्मेदवारी दिएका चन्द समूहका केन्द्रीय सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज एटम बीसीले मनोनयन दर्ता गर्ने क्रममा भ्रष्टाचारी, दलाली र राष्ट्रघातीको दिन सकिएको बताएका थिए तर उनले भनेजस्तो भएन । चन्द समूहको ‘प्रभाव क्षेत्र’ मै उनी चौथो स्थानमा सीमित भए ।

२०६४ मा उनी माओवादीको जिल्ला इन्चार्ज हुँदा त्यही क्षेत्र घर भएका चन्द समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माले पहिलो संविधानसभा चुनावमा २७ हजार मत ल्याएर जितेका थिए । त्यतिबेला कांग्रेस, एमाले, नेमकिपा, जनमोर्चा, राप्रपा सबैले पाएको मत जोड्दा पनि उनको जति पुगेको थिएन । तर, चन्द समूहले राम्रो नतिजा निकाल्न सकेन । चन्द समूहका कालीकोट इन्चार्ज कर्णबहादुर भण्डारीले भने जनमत परीक्षण गरौं भन्ने थियो, परीक्षण भयो ।

२०७४ को स्थानीय तह चुनावमा चन्द समूहका कार्यकर्ताले नरहरिनाथ–६ माल्कोटमा मतपेटिका फुटाएर आगो लगाइदिएका थिए । पार्टीका प्रभावशाली नेता विश्वकर्माको गृहनगर भए पनि नरहरिनाथमा चन्द समूहका उम्मेदवारले जितको खाता खोल्न सकेनन् । खाँडाचक्र नगरपालिकामा अध्यक्षमा उम्मेदवारी दिएका चन्द समूहका हस्त विश्वकर्माले १ सय १८ मत मात्रै पाए ।

रास्कोट नगर प्रमुखमा त चन्द समूहका धिरेन्द्रा उपाध्याय नै उठेकी थिइन् । संविधानसभा २०६४ की समानुपातिक सदस्य रहेकी उपाध्याय चुनावी प्रतिस्पर्धामा एमाले, माओवादी, एकीकृत समाजवादी र कांग्रेसको गठबन्धनभन्दा पछि परिन् । चन्द समूहले डर, त्रास देखाएर प्रभाव क्षेत्र बनाए पनि जनसमर्थन नभएकाले चुनाव जित्न नसकेको माओवादी नेता धनजित शाहीले बताए । उनले भने, ‘बाहिर हल्ला चलाएजस्तो जनताको समर्थन छैन । यो कुरा चुनावमा पुष्टि भयो ।’

प्रकाशित : जेष्ठ ५, २०७९ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?