कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सन्थालबाट पहिलो पालिका उपाध्यक्ष

देवनारायण साह

मोरङ — मोरङको जहदा गाउँपालिका उपाध्यक्षमा हन्ना सोरेन निर्वाचित भएकी छन् । अल्पसंख्यक सन्थाल समुदायबाट उक्त पदमा निर्वाचित हुने उनी पहिलो हुन् । कांग्रेस उम्मेदवार उनले ५ हजार ५ सय ४५ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी माओवादीकी गुलाबकुमारी महतोले ३ हजार ५ सय १२ मत पाएकी छन् । 

सन्थालबाट पहिलो पालिका उपाध्यक्ष

हन्नाको जितमा सन्थाल समुदायमा हर्ष छाएको छ । पुरानो बसोबासी भए पनि सन्थाल समुदाय राजनीतिमा गतिलो स्थान बनाउन पछाडि परेको मानिन्छ । २०६८ को जनगणनाअनुसार सुनसरी, मोरङ र झापामा गरी ५१ हजार ७ सय २० सन्थाल समुदायको जनसंख्यामध्ये जहदा गाउँपालिकामा मात्रै ६ हजार २ सय २४ छ । स्थानीय शिक्षक सूर्यनारायण हास्दाका अनुसार प्रकृतिका पुजारी मानिने सन्थाल समुदाय शिक्षामा पछाडि र ७५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । ‘हन्नाको जित हाम्रो समुदायका लागि गणतन्त्रकै उपलब्धि भएको छ,’ उनले भने ।

सिंगो सन्थाल समुदाय शिक्षामा पछाडि परे पनि हन्नाले दुई छोराहरूलाई उच्च शिक्षा पढाएकी छन् । उनका दुई छोरामध्ये जेठो सदानन्द हेमरम भारतको बेंग्लोरमा आईटीमा इन्जिनियरिङ र कान्छो छोरा आशिष हैदरावादमा एनिमेसनमा स्नातकोत्तर गर्दै छन् ।

‘छोराहरू बाहिर पढ्ने भएकाले पनि घरभित्रको कामको चाप परेन र सामाजिक काममा पनि खटिन पाएँ,’ हन्नाले भनिन्, ‘त्यही कामले मलाई जित्न सघायो ।’

निम्न मध्यम वर्गीय परिवारकी हन्ना पति सेमला हेमरमले स्थापना गरेको गैरसरकारी संस्था भ्रातृ सामुदायिक कल्याण समाजमार्फत स्थानीयस्तरमा महिलाका लागि व्यावसायिक कार्यक्रमको संयोजक भएर काम गर्दै आएकी थिइन् । विराटनगरस्थित कोसी क्याम्पसबाट शिक्षामा स्नातक हन्नालाई शैक्षिक पृष्ठभूमिले पनि आत्मविश्वासी बनायो ।

जहदाको उपाध्यक्षमा कांग्रेस र एमाले दुवै पार्टीले सन्थाल समुदायबाट नै गाउँपालिका उपाध्यक्षमा उम्मेदवार उठाएका थिए । कांग्रेसबाट सोरेन र एमालेबाट अनिता हाँस्दा सतार उपाध्यक्षको प्रतिस्पर्धामा थिए । २ हजार ९ सय ३८ मत पाएकी हाँस्दा चौथो स्थानमा रहिन् । ‘सुरुमा आफ्नै सन्थाल समुदायलाई विश्वासमा लिन निकै मिहिनेत गर्नुपर्‍यो अनि मात्रै अन्य समुदायमा पनि माहोल बन्दै गयो,’ हन्नाले भनिन् ।

सुरुमा सामाजिक कामबाट समाजको परिवर्तनमा लागे पनि त्यतिमात्रैले नहुँदो रहेछ भन्ने बुझेर राजनीतिमा आउनुपरेको उनले बताइन् । आफूजस्तो पढेलेखेकी महिलाले पनि मधेस र पछाडि परेको अल्पसंख्यक समुदायबाट राजनीतिमा आउन सहज नभएको उनले सुनाइन् ।

‘सन्थाल मात्रै नभई गाउँपालिकाभरिका अल्पसंख्यक, आदिवासी, विपन्न, गरिब वर्गका लागि काम गर्नुछ,’ उनले भनिन् । जहदाको अध्यक्षमा कांग्रेसका जितेन्द्रप्रसाद साह विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?