गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा एमाले विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा एमाले विजयी

प्रमुखमा चौधरी दोहोरिए
दुर्गालाल केसी

दाङ — सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका नरुलाल चौधरी बहुमतसहित पुन: निर्वाचित भएका छन् ।

चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका छन् । उनले ३१ हजार ७ सय २८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् ।

चौधरी २०७४ मा पनि प्रमुखमा निर्वाचित भएका थिए । ०७४ मा उनले २२ हजार ३० मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत पाएका थिए । माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए । चौधरीले यसपटक ९ हजार ६ सय ९८ मत बढाएका हुन् । उनी हाल एमाले पोलिटब्युरो सदस्य तथा दाङ जिल्ला इञ्चार्ज छन् ।

उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसी ४९ मतान्तरले विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत प्राप्त गरेका छन् । डाँगी २०७४ मा प्रमुखमा प्रतिस्पर्धा गरेर एमालेका चौधरीसँग पराजित भएका थिए ।

डिसी विधवा महिला सरोकार केन्द्रको अध्यक्ष भएर लामो सयम सामाजिक आन्दोलनमा क्रियाशिल थिइन् । उनले घरेलु हिंसा पीडित महिलाको संरक्षणका लागि सेफ हाउस सञ्चालन गर्नुका साथै सहकारी संस्था र महिला मानवअधिकार रक्षक सञ्जालको पनि नेतृत्व गरिसकेकी छन् । उनी अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष पनि हुन् ।

घोराहीमा एमालेले १९ मध्ये १३ वडा जितेको छ भने कांग्रेसले ५ र माओवादी केन्द्रले एक मात्र वडा जितेको छ । एमालेले १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १४, १७ र १८ नम्बर वडा जितेको छ । कांग्रेसले १०, १३, १५, १६ र १९ नम्बर र माओवादी केन्द्रले ९ नम्बर वडा मात्र जितेको छ । एमालेले २०७४ भन्दा वडा बढाएको छ । पहिले ८ वडा जितेकोमा अहिले ५ वडा बढाएर १३ पुर्‍याएको छ । कांग्रेसले पहिले जितेकामध्ये एक र माओवादी केन्द्रले दुई वडा गुमाएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०५:४०
प्रतिक्रिया
पठाउनुहोस्

तुलसीपुर उपमहानगरपालिकामा पुन: मतगणना सुरु

दुर्गालाल केसी

दाङ — प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा रोकिएको तुलसीपुर उपमहानगरपालिकाको मतगणना फेरि सुरु भएको छ । नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षका उम्मेदवारले एक/एक जना प्रतिनिधि राख्ने सहमतिपछि मतगणना सुरु भएको हो ।

निर्वाचन अधिकृतले पाँचदलीय गठबन्धनका पाँच जना प्रतिनिधि र एमालेको एउटा मात्रै प्रतिनिधि राख्ने भनेपछि एमालेले विरोध गरेको थियो । एमाले कार्यकर्ताले नाराबाजी गरेपछि मतगणना रोकी सर्वदलीय छलफल गरिएको थियो । सहमतिपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए ।

तुलसीपुरमा मंगलबार रातिदेखि मात्रै मतगणना सुरु भएको थियो । तुलसीपुर १७ मा एमालेका वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि वैशाख ३० को मतदान जेठ ३ मा सरेको थियो । मंगलबार वडा नं. १७ मा मतदान सकेपछि मतगणना सुरु भएको हो ।

प्रकाशित : जेष्ठ ४, २०७९ १९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×