१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लमजुङको क्व्होलासोंथारमा एमालेको 'क्लिन स्विप'

अध्यक्ष, उपाध्यक्ष र ९ वटै वडाअध्यक्षसहित सदस्यमा एमाले विजयी
आश गुरुङ

लमजुङ — क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका अध्यक्ष र सबै सदस्यमा एमाले विजयी भएको हो ।

लमजुङको क्व्होलासोंथारमा एमालेको 'क्लिन स्विप'

बुधबार राति सकिएको मतगणना अनुसार नेकपा एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गाउँपालिका (क्व्होलासोंथार) अध्यक्षमा एमालेका सूर्यप्रसाद गुरुङ विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङलाई १ हजार ३ सय ६७ मतले हराउँदै आगामी ५ वर्षका लागि क्व्होलासोंथार गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । सूर्यप्रसादले ३ हजार ८ सय ५६ मत ल्याएका छन् । प्रतिद्वन्द्वी टेकबहादुर गुरुङले २ हजार ४ सय ८९ मत ल्याएका छन् । अध्यक्षमा मंगोल नेश्नल अर्गनाइजेशनमा भुवरजंग गुरुङले ५१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गमीमाया गुरुङ निर्वाचित भएकी छन् । कांग्रेस उम्मेदवार सिर्जना गुरुङलाई १ हजार ६ सय ४९ मतान्तरमा उपाध्यक्ष हासिल गरेकी हुन् । गमीमायाले ३ हजार ९ सय ८९ मत पाएकी छन् । सिर्जनाले २ हजार ३ सय ४० मत पाएको निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेले बताए ।

वडाअध्यक्षतर्फ वडा नं. १ मा पेमा गुरुङ, वडा नं. २ मा खुसीमान गुरुङ, वडा नं. ३ मा आसबीर गुरुङ, वडा नं. ४ मा नारायण गुरुङ, वडा नं. ५ मा गीतबहादुर गुरुङ, वडा नं. ६ मा मनलाल गुरुङ, वडा नं. ७ मा लक्षुमन गुरुङ, वडा नं. ८ मा सन्तोष घले र वडा नं. ९ मा हुमराज गुरुङसहित सबै सदस्य एमालेले जितेको छ ।

२०७४ को स्थानीय चुनावमा क्व्होलासोंथर २ र ८ को अध्यक्ष र केही सदस्य कांग्रेसले जितेको थियो । यसपटक पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्य गरी ९ वटै वडाका ४७ जना जनप्रतिनिधि नै एमालेका उम्मेदवार निर्वाचित भएको सहायक निर्वाचन अधिकृत त्रिलोकचन्द्र गुरुङले बताए । सबै पदमा एमाले मात्रै निर्वाचित भएको र कांग्रेसलगायत अन्य कुनै पनि पार्टी कुनै पनि पदमा निर्वाचित नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ २३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?