३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हेलिकप्टर चार्टर गरेर स्वतन्त्र उम्मेदवारी, गठबन्धन–एमालेलाई हराउँदै वडाध्यक्षमा विजयी

‘पार्टीले टिकट नदिएपछि मैले हेलिकप्टर चढेर यहाँ आउन र जानमात्रै डेढलाख बढी खर्च गरेको छु । पार्टीले नपत्याएपछि जनताले पत्याउँछन् भन्ने मेरो विश्वास थियो ।’
आश गुरुङ

लमजुङ — माओवादी केन्द्रले टिकट नदिएपछि पार्टीको वडा सचिव ३२ वर्षीय श्याम गुरुङ (मीन) ले उम्मेदवारी मनोनयन दर्ता गराउन अन्तिम समयमा हेलिकप्टर चार्टर गरेर आउनु पर्‍यो । पार्टीको केन्द्रीय तहबाटै दबाबमा परेका उनले अन्तिम समयमा हेलिकप्टरको साहरा लिनु परेको बताए ।

हेलिकप्टर चार्टर गरेर स्वतन्त्र उम्मेदवारी, गठबन्धन–एमालेलाई हराउँदै वडाध्यक्षमा विजयी

५ वर्ष जापान बसेर फर्केपछि समाजसेवा र राजनीतिमा सक्रिय मीनले आफ्नो गाउँ दूधपोखरी गाउँपालिका–३ को वडाध्यक्षमा दाबी गरे । वडा हुँदै पालिकाबाट सिफारिस भए पनि जिल्लाले उनलाई टिकट दिएन ।

सत्ता गठबन्धनले माओवादी केन्द्रको भागमा परेको दूधपोखरी–३ मा पार्टीले औतराम तामाङलाई टिकट दिए । एमालेले प्रितम गुरुङलाई टिकट दियो । अघिल्लो निर्वाचनमा दूधपोखरी गाउँपालिकाको ६ वटा वडामध्ये यही वडामात्रै एमाले–माओवादी चुनावी एकताबाट एमाले उम्मेदवारले जितेका थिए ।

वैशाख १२ गते उम्मेदवारी मनोनयनको दिन थियो । पार्टीले टिकट दिएमा वारेसनामाबाट उम्मेदवारी मनोनयन गराउने उनको सोचाइ थियो । ‘उम्मेदवारी आजै दिनु छ । बिहान १० बजेसम्म टिकट कसले पायो भन्ने थाहा छैन । टिकट अर्कैले पायो भनेपछि म हेलिकप्टर चढेर काठमाडौंबाट आएको हुँ,’ उनले भने, ‘चुनाव म जित्छुभन्दा भन्दै पार्टीले अरुलाई नै दियो । तर, मैले चुनाव जितेर देखाइदिएँ ।’

लमजुङको दूधपोखरी गाउँपालिका–३ का वडाध्यक्षमा स्वतन्त्र विजयी श्याम गुरुङ (मीन) वडाध्यक्षमा जितेपछि बुवाआमाको बीचमा ।

आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गरेको र अन्तिम समयमा पनि नझिकेको भन्दै पार्टीले उनलाई कारबाही गरिसकेको छ । मनोनयन झिक्न अनेकन दबाब र प्रलोभन दिए पनि नमानेको उनले बताए । निर्वाचन कार्यालयले उनलाई चुनाव चिन्ह गुलाफ दियो । मनोनयन गरेर हेलिकप्टरमै फर्किएका उनी केही दिनपछि गाउँ फर्किए । चुनाव चिन्ह पाएपछि प्रचारप्रसारमा लागे ।

रोजगारीको सिलसिलामा सन् २०१४ मा जापान गएका श्याम २०१९ मा फर्किए । उनी फर्किएपछि देशमा कोरोना महामारी चल्यो । कोरोना संक्रमण जोखिमबाट गाउालेलाई बचाउन विभिन्न निकायसँग समन्वय गरी स्वास्थ्य सुरक्षा सामानलाई गाउँ पुर्‍याए । काठमाडौंमा पहिलेको दूधपोखरी समाज र पछि भएको चम्पावती समाजको उपाध्यक्षमा रहेर सेवा गरिरहेका उनले गाउँगाउँमा स्वास्थ्य सामग्री पुर्‍याए । ‘पार्टीमा कति सहयोग–असहयोग भन्दा पनि मलाई जनताले चिनेका छन् । मैले जनताको सेवा गरेको छु । चुनाव म नै जित्छु भनेर लागें । चुनाव त जितियो,’ उनले भने ।

श्रीमती मीना पाइजा पुन गुरुङ अहिले जापानमै छन् । काठमाडौंको बालुवाटारमा डेरा छ । बुवा टेकबहादुर गुरुङ र आमा गोमा गाउँमै बस्छन् । ४ दाजुभाइमध्ये उनी जेठा हुन् । ‘पार्टीले टिकट नदिएपछि मैले हेलिकप्टर चढेर यहाँ आउन र जानमात्रै डेढलाख बढी खर्च गरेको छु । पार्टीले नपत्याएपछि जनताले पत्याउँछन् भन्ने मेरो विश्वास थियो,’ उनले भने ।

आइतबार सम्पन्न मतपरिणाम अनुसार श्यामले २ सय २८ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका औतराम तामाङले २ सय २४ ल्याए । एमालेका मानबहादुर घलेले ८१ मत ल्याए ।


प्रकाशित : जेष्ठ ४, २०७९ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?