तुलसीपुर उपमहानगरपालिकामा पुन: मतगणना सुरु

दाङ — प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा रोकिएको तुलसीपुर उपमहानगरपालिकाको मतगणना फेरि सुरु भएको छ । नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षका उम्मेदवारले एक/एक जना प्रतिनिधि राख्ने सहमतिपछि मतगणना सुरु भएको हो ।

निर्वाचन अधिकृतले पाँचदलीय गठबन्धनका पाँच जना प्रतिनिधि र एमालेको एउटा मात्रै प्रतिनिधि राख्ने भनेपछि एमालेले विरोध गरेको थियो । एमाले कार्यकर्ताले नाराबाजी गरेपछि मतगणना रोकी सर्वदलीय छलफल गरिएको थियो । सहमतिपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए ।
तुलसीपुरमा मंगलबार रातिदेखि मात्रै मतगणना सुरु भएको थियो । तुलसीपुर १७ मा एमालेका वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि वैशाख ३० को मतदान जेठ ३ मा सरेको थियो । मंगलबार वडा नं. १७ मा मतदान सकेपछि मतगणना सुरु भएको हो ।
प्रकाशित : जेष्ठ ४, २०७९ १९:३४