१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सन्धिखर्कमा एमालेका श्रेष्ठ र आचार्य विजयी

वीरेन्द्र केसी

अर्घाखाँची — सदरमुकामको सन्धिखर्क नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका कृष्णप्रसाद श्रेष्ठले गठबन्धनको तर्फबाट कांग्रेसकी शान्ता भण्डारीलाई १ हजार ८ सय १ मतान्तरले पराजित गरे । श्रेष्ठले ११ हजार १ सय ३५ मत ल्याएर सन्धिखर्क नगरपालिका प्रमुखमा निर्वाचित भए । भण्डारीले ९ हजार ३ सय ३४ मत ल्याइन ।

सन्धिखर्कमा एमालेका श्रेष्ठ र आचार्य विजयी

उपप्रमुखमा एमालेकी मिश्रा आचार्यले गठबन्धनको तर्फबाट माओवादीका राजेन्द्र भुसाललाई ४ सय ७८ मतान्तरले पराजित गरिन् । आचार्यले ९ हजार ६ सय ४६ मत ल्याएर विजयी भइन् । भुसालले ९ हजार १ सय ६८ मत ल्याए ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि श्रेष्ठ नगर प्रमुखमा उम्मेदवार थिए । त्यतिबेला कांग्रेस–माओवादीको चुनावी तालमेलमा कांग्रेसका कमलप्रसाद भुसालसँग ११ सय ३ मतान्तरले श्रेष्ठ पराजित भएका थिए । दोस्रो पटकमा श्रेष्ठ फराकिलो मतान्तरले विजयी भए ।

निर्वाचित श्रेष्ठको पार्टी एमालेले नगरको १२ वटा वडामध्ये वडा २, ६, ७ र ९ वडा अध्यक्षमा जित हासिल गरेको छ । माओवादीले वडा १० र कांग्रेसले वडा १, ३, ४, ५, ८, ११ र १२ वडा अध्यक्ष जितेको छ ।

सन्धिखर्क नगरपालिका नेकपा (एमाले) का केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घर भएको नगरपालिका हो । रायमाझीसँगै कांग्रेस केन्द्रीय सदस्य एवं संघीय संसदीय दलकी सचेतक पुष्पा भुसाल, केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, माओवादी केन्द्रका नेता डिलाराम आचार्यको जन्म घर हो । सबै नेताको एउटै ९ नम्बर वडामा घर पर्छ । उक्त वडा पनि एमालेले जितेको छ ।

जिल्लाका ६ स्थानीय तहमध्ये ५ पालिकाको अन्तिम मतपरिणम सार्वजनिक भएको छ । शितगंगा नगरपालिकाको मतगणना जारी छ ।

एमालेले पाणिनि र मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिकामा दुवै पद जितेको छ । छत्रदेव गाउँपालिकामा उपाध्यक्ष पद जितेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा ४ पालिका मध्ये पाणिनिमा अध्यक्ष, छत्रदेवमा दुवै पद, शितगंगा र सन्धिखर्क नगरमा प्रमुख र भुमिकास्थान नगरमा उपप्रमुख पद जितेको कांग्रेसले यसपाली छत्रदेव गाउँपालिकाको अध्यक्ष पद मात्रै जितेको छ । भुमिकास्थान नगर प्रमुखमा राजमो र माओवादीले जितेको छ । २०७४ मा एमालेले मालारानी गाउँपालिकाका दुवै पद र पाणिनिको उपाध्यक्ष पद जितेको थियो । एमालेबाट पाणिनिको उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम केही महिना अघि कांग्रेसमा प्रवेश गरेकी थिइन । कांग्रेसले उनै गौतमलाई पुनः उपाध्यक्ष पदमा उम्मेदवार बनाएको थियो । एमालेकी नर्मदा पौडेलसँग पराजित भइन ।

प्रकाशित : जेष्ठ ४, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?