माधवकुमार नेपालको गृहनगर गौरमा नेकपा एस विजयी

शिव पुरी

रौतहट — रौतहटको गौर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एकीकृत समाजवादीका शम्भु साह २ हजार ६ सय २६ मत अन्तरले निर्वाचित भएका छन् । साहले ६ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् ।   

माधवकुमार नेपालको गृहनगर गौरमा नेकपा एस विजयी

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अजयकुमार गुप्ताले ३ हजार ७ सय ५५ पाए । गुप्ता निवर्तमान नगरप्रमुखसमेत हुन् ।

नगरउपप्रमुख पदमा एकीकृत समाजवादीकै शैलकुमारी साह ४ हजार ८ सय ०९ मत पाई निर्वाचित भएकी छन् । साहकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शाहजान खातुनले ३ हजार ६ सय ८५ मत पाइन् । २०७४ सालको निर्वाचनमा साह गुप्तासँग पराजित भएका थिए । निर्वाचित साहको पार्टीले गौर नगरपालिकाको १, २, ३, ४, ६, ७ र ९ नम्बर वडामा जित हासिल गरेको छ । ५ मा स्वतन्त्र र ८ मा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय गौरले जनायो ।

गौर नगरपालिका एकीकृत समाजपादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर भएको नगरपालिका हो । यसअघि लोसपाले जितेको गौरमा अहिले बहुमत वडासहित एकीकृत समाजवादीले जितेको छ ।

एकीकृत समाजवादीले रौतहटको राजदेवी नगरपालिकामा पनि जित हात पारेको छ । राजदेवीको मेयरमा भिखारीप्रसाद यादव र उपमेयरमा राजकुमारी देवी विजयी भएका छन् । त्यस्तै वृन्दावन नगरपालिकामा पनि एकीकृत समाजवादी पार्टी अगाडि रहेको छ ।

अहिलेसम्मको परिणामअनुसार एकीकृत समाजवादी पार्टी ८ पालिकामा विजयी भएको छ भने १२ मा अगाडि रहेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?