कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि धरानको मतगणना स्थगित

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । धरान–२० को मतपत्रमा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका समर्थकहरुले नाराबाजी गर्दै निर्वाचन कार्यालयतर्फ बढेका थिए । 

मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि धरानको मतगणना स्थगित

धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान २० मा खसेको १८ वटा बदरमतमध्ये माओवादीको ११ र एमालेको २ बाँकी मत कांग्रेसको रहेको थियो । सर्वदलीय बैठकले हस्ताक्षर नगरेको मतपत्र बदर गर्ने निर्णय गरेको थियो । वडा नम्बर २० मा २०२१ मत खसेको थियो । गणना हुँदा नेपाली कांग्रेसका वडाध्यक्षका उमेदवार पदम लिम्बुले ४ मत बढी ल्याएर निर्वाचित हुन लागेका थिए ।

१ हजार ३ सय मत गनिसकेपछि बाँकी मतको परिणाम सार्वजनिक गर्न लाग्दा विवाद उत्पन्न भएको हो । माओवादीले हस्ताक्षर नभएका मतपत्रमा माओवादीको चुनाव चिन्हमा लगाएको छापको पनि सदर गर्दै गणना गर्नु पर्ने र निर्वाचन अघिकृत पुष्करराज नेपाललाई कारबाही गर्न माग गरेको छ ।

यसैबीच मतगणना स्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीले पनि थेग्न नसक्ने भएपछि निर्वाचन कार्यालयले नेपाली सेनालाई अग्रपंक्तिमा उतारेको छ । माओवादी केन्द्रका धरान नगर अध्यक्ष मनोज भट्टराई र सचीव विदुर महतले मतदान अधिकृतले नियतवश गरेको लापरबाहीले जनताको मतको अवमूल्यन भएको ठहर गरेको जनाएको छ । माओवादीले विज्ञप्ति जारी गर्दै मतदान अधिकृतलाई कारबाही गर्न र वडा २० को पुन: निर्वाचन गर्न माग गरेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?