कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कैलालीका चार पालिकामा रेशम चौधरीको पार्टीका उम्मेदवारको अग्रता

मोहन बुडाऐर

धनगढी — कैलालीको  पूर्वी भेगका चार वटा स्थानीय तहको प्रमुख/उप प्रमुखमा नागरिक उन्मुक्ति पार्टी जितको नजिक पुगेका छन्। बुधवार दिउँसो १ बजे सम्मको मत गणनामा नागरिक उन्मुक्तिका उम्मेदवारले आफनो मतान्तरलाई धेरै बढाएका छन्। 

कैलालीका चार पालिकामा रेशम चौधरीको पार्टीका उम्मेदवारको अग्रता

अखण्ड सुदूरपश्चिम र थारुवान/थारुहट आन्दोलनबाट सिर्जित टिकापुर हिंसात्मक घटनाका अभियुक्त रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति ३ महिनाअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको थियो । उक्त पार्टीले स्थानीय तहको निर्वाचन माध्यम आफ्नो पहिलो जग टीकापुरसहित वरपरकै जानकी , जोशीपुर र भजनी नगरपालिकामा बसाउन खोजेको राजनीतिक बिष्लेषकहरुले प्रारम्भिक मत गणनाको रुझानलाई हेरेर बताउन थालेका छन् ।

‘टीकापुर हिंसात्मक घटनाको प्रत्यक्ष प्रभावमा परेका थारु बाहुल्य स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीप्रति साहनुभूति प्रकट भएको देखिन्छ’ टीकापुरका भरत अधिकारीले भने,'अब स्थानीय नेतृत्व नागरिक उन्मुक्तिलाई जनताले दिनुको अर्थ सामाजिक सद्भाव कायम राख्ने जनादेश दिनु पनि हो ।’

बुधबार दिउँसोसम्मको मत गणनाको परिणामअनुसार टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्तीका रामलाल डगौराले अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसका उम्मेदवार पछ्याइरहेका छन् । हरेक वडाबाट मतान्तर बढ्दै गएको छ।

भजनी नगरपालिकामा उन्मुक्ति पार्टीका केवल चौधरीले फराकिलो मतान्तरले अग्रता लिएका छन्। त्यहाँ माओवादीका शेरबहादुर चौधरीले पछ्याइरहेका छन् । यो २०७४मा माओवादीले जितेको स्थानीय तह हो। माओवादीका चौधरी पुनः दोहोरिन खोजेका हुन्।

२०७४मा कांग्रेसले जितेको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। बुधवार रातीसम्म परिणाम आउने सम्भावना रहेको छ । नागरिक उन्मुक्ती पार्टीका चित्रबहादुर चौधरीले अग्रता लिएका छन् । उनलाई राप्रपाले पच्छयाइरहेको छ ।

पहिला फोरमले जितेको जानकी गाउँपालिका पनि उन्मुक्तिका गणेश चौधरी अग्रता लिएका छन्। उनको पछिपछि कांग्रेसका परशुराम महतौ (कठौरिया) छन् ।


प्रकाशित : जेष्ठ ४, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?