२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पोखरामा वडा गुमाउँदै एमाले, अग्रता बढाउँदै धनराज

दीपक परियार

पोखरा — पोखरा महानगरमा बुधबार दिउँसोसम्म ३६ हजार ८ सय १३ मत गणना गर्दा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले निरन्तर अग्रता बनाइरहेका छन् ।

पोखरामा वडा गुमाउँदै एमाले, अग्रता बढाउँदै धनराज

गठबन्धनका तर्फबाट उम्मेदवार आचार्यले एमालेका कृष्णबहादुर थापालाई १ हजार ९ सय ५९ मतले पछि पारेका छन् । आचार्यले १५ हजार २ सय ८८ र थापाले १३ हजार ३ सय २९ मत ल्याएका छन् । उपमेयरमा भने गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले झिनो मतले अग्रता जारी राखेकी छन् । उनको १५ हजार ५ सय २५ मत आउँदा एमालेकी मञ्जुदेवी गुरुङले १५ हजार २ सय २५ मत प्राप्त गरेकी छन् ।

मेयरमा राप्रपाका शंकर खरालले १ हजार ५ सय ५६ मत प्राप्त गर्दा अटेरी समूहका स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले ८ सय ६६ मत ल्याएका छन् ।

पोखरामा यसअघि जितेका वडा समेत एमालेले गुमाउँदै गएको छ । हालसम्म एमालेले वडा १ र ५ मात्रै जितेको छ । कांग्रेसले वडा २, ३, ४, १२, १३, २३, २४ र २६ जितेको छ । गणना भइरहेका वडा ७, २० र २५ मा कांग्रेसको अग्रता छ । यीमध्ये वडा १, ५, १३, २०, २४, २५, २६ यसअघिको चुनावमा एमालेले जितेको वडा हुन् ।

०४८ देखि एमालेको गढ मानिएको वडा २४ को अध्यक्ष यसपल्ट कांगेसले जित्यो । १३ र २६ मा अघिल्लो वर्षको परिणामलाई उल्ट्याउँदै कांग्रेसले जितेको हो । ०७४ मा पोखराका ३३ मध्ये एमालेले २२ र कांग्रेसले ११ वटा वडा जितेको थियो ।

पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेकोमा १ लाख ४३ हजार २ सय २६ (६८.९६ प्रतिशत) मत खसेको थियो ।


प्रकाशित : जेष्ठ ४, २०७९ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?