२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

तीनवटा मत हराएको भन्दै पाँचपोखरी थाङपालमा विवाद

चार वटा मतको अर्धकट्टी नभएपछि पुनः मतगणना गर्न कांग्रेसको माग‍
अनिश तिवारी

सिन्धुपाल्चोक — पाँचपोखरी थाङपाल गाउँपालिका ५ गुन्सामा चारवटा मतपत्र हराएपछि पुनः मतगणना गर्नुपर्ने माग राख्दै कांग्रेससहित अन्य दलका कायकर्ताले मतगणनालाई रोकेका छन् । बिहीबार बेलुकीदेखि बीचैमा अवरुद्ध मतगणना सुरु गर्नका लागि धेरैपटक छलफल गर्दा पनि सहमति नजुट्दा अहिलेसम्म मतगणना नथालिएको हो ।

तीनवटा मत हराएको भन्दै पाँचपोखरी थाङपालमा विवाद

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विकास रिजालका अनुसार अहिले मतपत्र हराएको विवाद मिलाउन आवश्यक छलफल र बहस चलिरहेको छ ।

स्थानीय कांग्रेसका क्षेत्र नं. २ का महाधिवेशन प्रतिनिधि कालिका गोलेले मतगणनाको क्रममा तीन मत हराएको र चारवटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएको बताए ।

‘अहिले चारवटा मतको फरकमा वडाको चुनावको रोकिएको छ । मतदान अधिकृत र अन्यले जबर्जस्ती परिणाम सुनाउँछौ भनेर पेलिरहेका छन् । तीन मत नै हराएको छ, रिकाउन्ट हुनुपर्छ भन्दा अधिकृत र प्रतिद्वन्द्वीले दलका उम्मेद्वारले मानेका छैनन्,’गोलेले भने । उनका अनुरुप पाँचपोखरी थाङपाल गाउँपालिका ५, गुन्सामा १ हजार २ सय ३ मत खसेकोमा आहिलेसम्म एमालेका उम्मेदवार काले गोले ४ सय ६० र कांग्रेस रवि थिङ ४५६ मत ल्याएका छन् ।

दुवैबीच चार मतको मात्रै अन्तर देखिएको छ । यसअघि एमालेका कार्यकर्ताले पुनः मतगणना हुनुर्ने माग राख्दै मंगलबार गाउँपालिकामा निवेदन लेखेर कांग्रेसले बुथ क्याप्चर गरेको आरोप लगाएको उनले उल्लेख गरे । गुन्साका निर्वाचन अधिकृत कृष्ण सुवेदीले एमालेको पक्ष लिएर ‘बदर मतलाई पनि मैले भनेको सदर हुन्छ’ भनेको गोलेले आरोप लगाए ।

‘उनले त्यसो भनेर पेलेको देखियो, उनमा निष्पक्षता देखिएन । डाम मात्रै देख्ने तर इन्क छाप नदेख्ने मतपत्र कसरी सदर हुन्छ ?,’ उनले प्रश्न गरे । यसअघि पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले, राप्रपाजस्ता मुख्य दलले कसैलाई छिर्न नदिई बुथ कब्जा गर्दै मतदान गरेकाले विश्वसनीय नभएको भन्दै स्थानीय र कार्यकर्ता आक्रोशित भएका थिए ।

अहिले गुन्साको विवादबीच झडप हुने अवस्था बनेपछि सुरक्षाकर्मीले सम्हाल्न चारैतिर गस्ती बढाएको जिल्ला प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । ‘मतपत्र हराएको विवाद छ; त्यो अवस्थालाई हेर्न सुरक्षाकर्मी अलर्ट भएर खटिएका छन्,’ उनले भने ।

प्रकाशित : जेष्ठ ४, २०७९ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?