रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछाप नगरपालिकामा अधिकांश वडासहित कांग्रेसले विजय हासिल गरेको छ । मेयरमा कांग्रेसका लबश्री न्यौपानेले एमालेका रोशन पाख्रिनलाई हराएका हुन् । 

निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार न्यौपानेले ६ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । एमालेका पाख्रिनले ५ हजार ९ सय ८६ मत पाएका थिए । पाख्रिन अघिल्लो पटक पनि कांग्रेसका नरबहादुर थापामगरसँग नगरप्रमुखमा पराजित भएका थिए ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकै बालकुमारी कार्की निर्वाचित भएकी छिन् । कार्कीले ६ हजार ६ सय ४० मत प्राप्त गरी निर्वाचित हुँदा एमालेकी सीता खत्रीले ५हजार ३ सय ४७ मत प्राप्त गरेकी छिन् ।

कांग्रेसले नगरका ९ मध्ये ६ वटा वडामा प्यानलै र १ वडामा वडा अध्यक्षसहित बहुमत सदस्य निर्वाचित गराउन सफल रहेको छ । एमालेबाट नगरप्रमुखका उम्मेदवारको वडा मात्र नभै एमालेको किल्ला भनेर चिनिएको वडा नम्बर ६ ओख्रेनीमा समेत कांग्रेसले यो पटक प्यानलै जित हात पारेको छ ।

त्यसैगरी वडा नम्बर १ गोठगाउँ र साँघुटारसमेत कांग्रेसले जितेको छ । माओवादी केन्द्रले भने २ वटा वडामा प्यानलै विजय गरेको छ । यसअघि माओवादी केन्द्रले जितेको रामपुरमा यो पटक कांग्रेसले अत्यधिक मत ल्याएर प्यानलै जितेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्

रामेछापको सुनापति गाउँपालिकामा माओवादी विजयी

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्द्रका ठूलोकान्छा तामाङ विजयी भएका छन् । नेपाली कांग्रेसका कमान खड्कालाई पराजित गरी उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ५ हजार ३ सय ९८ मत ल्याएर विजय हासिल गरेको थियो । उनका प्रतिस्पर्धी कांग्रेसका कमान खड्काले ४ हजार ८ सय ९८ मत ल्याएका थिए । तामाङ यसअघि वडा नम्बर ५ का वडाध्यक्ष थिए ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै गीता विष्ट चौलागाईं विजयी भएकी छिन् । विष्टले ५ हजार ३ सय ६० मत प्राप्त गरेर विजयी भएकी हुन । विष्टकी प्रतिस्पर्धी ५ हजार ६८ मत प्राप्त गरेकी छिन् । विष्ट यसअघि पनि उपाध्यक्ष थिइन् ।

२०७४ सालको निर्वाचनमा पालिकाका सम्पूर्ण पदमा निर्वाचित भएको माओवादी केन्द्रले यस पटक पनि १ वडा अध्यक्ष र ४ जना वडा सदस्य गुमाएको छ । वडा नम्बर ३ हिलेदेविमा कांग्रेसका वडा अध्यक्ष १ मतले पराजित भएका थिए भने ४ जना सदस्य विजयी भएका थिए । एमालेले भने १ जना प्रतिनिधि पनि विजयी गराउन सकेन । एमालेका अध्यक्ष उम्मेदवार २ हजार ३१ मतमा सीमित हुन पुगेका छन् ।

योसँगै रामेछापका २ वटा गाउँपालिकामा मतगणना सकिएको छ । सोमबार अपरान्ह गोकुलगंगा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षलगायत अधिकांश पदमा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७९ १७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×