काभ्रेको बनेपा-८ को वडाध्यक्षमा महिला निर्वाचित- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

काभ्रेको बनेपा-८ को वडाध्यक्षमा महिला निर्वाचित

नगेन्द्र अधिकारी

काभ्रे — जिल्लामा पहिलो पटक वडाअध्यक्षमा महिला निर्वाचित भएकी छन् । बनेपा–८ मा कांग्रेसका तर्फबाट उम्मेदवार रहेकी शुभलक्ष्मी मानन्धर विजयी भएकी हुन् ।

नेपाल महिला संघ काभ्रेकी अध्यक्ष रहेकी मानन्धरले १४ सय ४५ मत ल्याएकी थिइन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका श्यामकाजी मानन्धरले १०४६ मत ल्याएका थिए ।

भर्खरै शिक्षक पदबाट राजीनामा दिएर वडाअध्यक्षको उम्मेदवार बनेकी मानन्धर बनेपाको डुबान समस्या हल गरेर, अरनिको राजमार्गमा आकाशे पुल बनाउने र लायकु दरबारको संरक्षण गर्ने आफ्नो प्राथमिकतामा रहेको बताइन् । टिकट पाउन सहज नै भएको अनुभव गरेकी उनले जित्न पनि त्यति कठिन नभएको बताउँछिन् ।

जिल्लाका १ सय ३५ मध्ये ११ वडा अध्यक्ष पदमा महिला उम्मेदवार प्रतिस्पर्धामा थिए । अन्तिम परिणाम आइसकेका मध्ये भुम्लु–६ मा सावित्री माझी, रोशी–११ मा चन्द्रमाया तामाङ र माओवादी केन्द्रले पनौती–४ मा सुशिला सुवाल भने पराजित भइसकेका छन् ।

कांग्रेसले ३, एमालेले ४, माओवादी केन्द्रले १ गरी ८ वटा वडामा महिलालाई उम्मेदवार बनाएका थिए । सामाजिक एकता पार्टी, नेकपा परिवर्तनबाट १/१ जना उम्मेदवार महिला छन् । पाँचखाल ४ को वडाअध्यक्षमा पार्वती विक स्वतन्त्र उम्मेदवार छन् । रोशी–९ मा कांग्रेसबाट मुकुमाया तामाङ, एमालेले धुलिखेल–८ मा गिता तामाङ, बनेपा–१४ मा निर्मला तामाङ, मण्डनदेउपुर–९ मा अम्बिका ठकुरी लाई उम्मेदवार बनाएको छ । सामाजिक एकता पार्टीबाट धुलिखेल–१० मा मैयादेवी श्रेष्ठ, नेकपा परिवर्तनबाट रोशी–१२ मा बुद्धिमाया तामाङ उम्मेदवार छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्

रोल्पाको सुनछहरीमा फेरि पनि माओवादीले जित्यो

एमाले, कांग्रेस र चन्द समूहको गठबन्धन पराजित
काशीराम डाँगी

रोल्पा — रोल्पाको सुनछहरी गाउँपालिकामा पुन: माओवादी केन्द्रले जितेको छ । गाउँपालिकाको अध्यक्षमा धनबहादुर पुनमगरले ३ हजार ४ सय ३९ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका चन्द समूहका नेता पुस्तमन घर्तीमगरलाई १ हजार ९ सय १४ मतान्तरले पराजित गरेका हुन् । एमाले, कांग्रेससहितको समर्थनमा अध्यक्षको उम्मेदवार बनेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पूर्व जिल्ला सचिव घर्तीमगरले १ हजार ५ सय २३ मत पाएका हुन् ।

अध्यक्ष निर्वाचित पुन नेपाल मगर संघका नेता हुन् । अघिल्लो पटक जिल्ला समन्वय समिति रोल्पाका सदस्य निर्वाचित उनी स्वायत्त मगरात आन्दोलन र मगरात मुक्ति मोर्चालगायतका आन्दोलनमा सक्रिय पुराना माओवादी कार्यकर्ता हुन् । नेपाल मगर संघ लुम्बिनी प्रदेशको नेतृत्व गरिसकेका उनी हाल मगर संघका वरिष्ठ उपाध्यक्ष छन् । उनले प्रदेशको नाम मगरात राख्नुपर्नेमा वकालत गर्दै आएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकै ननकला घर्तीमगरले ३ हजार ४ सय ९२ मत ल्याएकी छन् । उपाध्यक्ष पदमा उनका प्रतिद्वन्द्वी कांग्रेसका कोबहादुर बुढामगरले १ हजार ६ सय ११ मत ल्याएका हुन् । तेस्रोमा मंगोल अर्गनाइजेसनका उम्मेदवार छन् । अघिल्लो पटक उक्त गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमश: माओवादी केन्द्रकै आशबहादुर पुन रक्तिम र पवित्रा घर्तीमगरले जितेका थिए । एउटामा कांग्रेसले र ६ वटा वडामा माओवादी केन्द्रले जितेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १५:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×