गोरखाको चुमनुव्रीमा फर्जी मत खसेको भन्दै माओवादीले मतगणना गर्न दिएन

हरिराम उप्रेती

गोरखा — मतदान सकिएको चार दिनसम्म चुमनुव्री गाउँपालिकाको मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटता रहेको चुमनुव्रीमा दुई दिन लगाएर आइतबार मतपेटिका संकलन भएको छ । तर, सर्वदलीय वैठकले मतगणना गर्ने निर्णय गर्न नसक्दा मतगणना सुरु हुन नसकेको हो । माओवादी केन्द्रले ल्हो मावि मतदान केन्द्रमा फर्जी मत खसेको आशंका गर्दै मतगणना गर्न मानेको छैन ।

गोरखाको चुमनुव्रीमा फर्जी मत खसेको भन्दै माओवादीले मतगणना गर्न दिएन

उसले पुन मतदानको माग राख्दै मतगणना रोक्न जेष्ठ १ गते निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको थियो । चुमनुव्रीको निर्वाचन अधिकृतको कार्यालयले ल्हो मावि मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षा निकाय प्रमुखसँग केन्द्रको मतदान प्रक्रियाबारे स्पष्टिकरण सोधेको थियो ।

केन्द्रमा खटिएका कर्मचारीसँग लिएको स्पष्टिकरण सहितको पत्र चुमनुव्री निर्वाचन अधिकृतको कार्यालयले आवश्यक निर्देशनका लागि सोमबार निर्वाचन आयोग पठाएको थियो । कार्यालयको पत्रपछि आयोगले मतगणना सुचारु गर्न सोमबार नै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ ।

आयोगले तत्काल मतगणना सुरु गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन गर्दै सुरक्षा ब्यवस्था मिलाउन प्रशासनलाई भनेको छ । तर, मंगलबारसम्म मतगणना सुरु भएको छैन । मतगणना सुचारु गर्न मंगलबार पनि सर्वदलीय वैठक जारी रहेको चुमनुव्री गाउँपालिकाका निर्वाचन अधिकृत नानीवावु पोखरेलले बताए ।

‘विहान पनि वैठक बस्यो, आजबाटै मतगणना सुरु गर्न छलफलको अन्तिम तयारीमा छौँ,’ उनले भने, ‘सहमति नजिक छौँ, वैठक सकेर आजबाटै मतगणना शुरु हुन्छ ।’ ७ वडा रहेको चुमनुव्रीमा २१ मतदान केन्द्र छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?