जुम्लामा तीन पालिकामा कांग्रेस, एकमा माओवादी केन्द्र विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

जुम्लामा तीन पालिकामा कांग्रेस, एकमा माओवादी केन्द्र विजयी

डीबी बुढा

जुम्ला — यहाँका चार पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा तीन पालिकामा नेपाली कांग्रेसले जितेको छ भने एउटामा नेकपा माओवादी केन्द्रले जित निकालेको छ । अझै ४ पालिकाको मतपरिणाम आउन बाँकी छ । पातारासी गाउँपालिकामा नेपाली कांग्रेसका पुर्णसिंह बोहोरा, हिमा गाउँपालिकामा लक्ष्मणबहादुर शाही र कनकासुन्दरी गाउँपालिकामा दामोदर आचार्यले जितेका छन् । सिंजामा माओवादी केन्द्रका पुर्णप्रसाद धितालले जितेका हुन् । 

माओवादी केन्द्रले सिंजामा नेपाली कांग्रेसको गढ भत्काएको छ । कांग्रेसले हिमामा नेकपा माओवादी केन्द्रको गढ भत्काउदै विजय भएको हो । पातारासी गााउँपालिकामा नेपाली कांग्रेसका पुर्णसींह बोहरा २ हजार ७६८ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी हरिबहादुर बुढाले २ हजार ६६८ मत प्राप्त गरे ।

पातारासीमा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया रोकायाले जितिन् । उनले २ हजार ७५४ मत प्राप्त गरी विजयी भएकी हुन । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ती बुढाले २ हजार ४६३ मत प्राप्त गरिन ्।

जुम्लाको सिंजा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल १ सय ५० मतान्तरले विजयी भएका छन् ।

उनले एक हजार ९ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वीनेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८३९ मत प्राप्त गरे । माओवादी केन्द्रकी शितला २०७४ को स्थानीयतहको निर्वाचनमा उपाध्यक्षमा पराजित भएकी थिइन् । धिताल नेमकिपाबाट अध्यक्षमा चुनाव लडेर हारेका थिए ।

उपाध्यक्षमा माओवादी केन्द्रकी शीतली रोकायले १ हजार ९५६ मत प्राप्त गरी विजयी हुंदा निकटतम प्रतिद्वन्द्वीनेपाली कांग्रेसकी रजनकला शाहीले १ हजार ६९ मत प्राप्त गरिन् । कनकासुन्दरी र हिमा दुबै गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् ।

कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा २ हजार ८ सय ७ मत प्राप्त गरी दामोदर प्रसाद आचार्य विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धनबहादुर रावतले २ हजार ५ सय ६२ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकी प्रेमकली बुढा २ हजार ३ सय मत प्राप्त गरि विजयी भएकी हुंदा उनकी प्रतिद्वन्द्वी माओवादीकी रिता खत्रीले १ हजार ९४५ मत प्राप्त गरिन् । हिमा गाउँपालिका अध्यक्षमा १ हजार ८ सय ७२ मत प्राप्त गर्दै लक्ष्मण शाही विजयी हुंदा उपाध्यक्षमा सुर्पना शाहीले १ हजार पांच १८ मत प्राप्त गरी विजयी भइन् ।

जुम्लाको चन्दनननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतको अग्रता कायमै छ । तातोपानी र तिलामा कांग्रेसको अग्रता छ । गुठिचौर गाउँपालिकामा एकीकृत समाजवादीका जनक थकालीले अग्रता कायम राखेका छन ।

जुम्लामा कुल मतदाता ६७ हजार सात सय ४४ रहेकामा यो पटक जम्मा ५१ हजार नौ सय तीन मत खसेको थियो। कुल ७६ दशमलव १९ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्

वडाको नेतृत्वमा कान्छो पुस्ता

पर्वत पोर्तेल

काँकडभिट्टा — पूर्वोत्तर झापाको बुद्धशान्ति गाउँपालिका–१ मा एमालेका ३२ वर्षीय अनिल वाग्लेको प्यानलैले सोमवार विजयको झण्डा फहरायो । २०७४ को निर्वाचनमा झण्डै दोव्वर उमेरका भीमकुमार नेवार (कांग्रेस) ले जितेको यो वडालाई यसपालि वाग्लेको टिमले कव्जा गर्‍यो । 

वाग्ले जस्ता जोश र उत्साह बोकेका कान्छो पुस्ताका तन्नेरीलाई झापाका मतदाताले यसपटक धेरै वडामा पत्याएका छन् । अव वुढाखाडालाई हैन, युवा जमातलाई नेतृत्व हस्तान्तरण गर्नुपर्छर् भन्ने सन्देश ती युवाहरुको जितले दिएको छ ।

‘युवाले नयाँ र प्रभावकारी काम गर्छन् भन्ने आम मतदाताको बुझाई बढ्दै गएको देखिन्छ’, स्वतन्त्र विश्लेषक सागर शिवाकोटी भन्छन्, ‘अव वडादेखि नै पुस्तान्तरण जरुरी छ भन्ने सन्देश यो जितले दिएको छ ।’

बुद्धशान्तिकै छिमेकी अर्जुनधारा १ मा पनि ३२ वर्षका उपेन्द्र बस्नेत (कांग्रेस) को काँधमा वडाको नेतृत्व आइलागेको छ । अघिल्लो निर्वाचनमा एमालेका गजाधर खतिवडाले यो वडामा जितेका थिए । यसपटक पार्टीको विश्वास जितेर उम्मेदवार भएका बस्नेतले मतदाताको मन पनि जिते । ‘यो समग्र युवा वर्गको जित हो’, उनले छोटो प्रतिक्रिया दिए ।

झापाका अधिकांश वडामा नेपाली कांग्रेस, एमाले, माओवादी या राप्रपाले मात्रै जितिरहेका बेला निक्कै कम जनाधार भएको एकीकृत समाजवादी पार्टीले एमाले अध्यक्ष केपी ओलीकै निर्वाचन क्षेत्र कमल गाउँपालिका–१ मा प्यानलै जितेको छ । संयुक्त गठबन्धनको समर्थनमा वडा अध्यक्षको उम्मेदवार बनेका ३१ वर्षे युवा अशोक सुब्बाको जित अहिले जिल्लामा ‘चिया गफ’को विषय बनेको छ ।

‘एकीकृृत समाजवादीले ल्याउँदा निकटम प्रतिद्धन्द्वी नेकपा (एमाले) का श्यामबहादुर कार्कीले १ हजार ३४ मत ल्याएका थिए । कार्की ६० वर्ष नाघेका उम्मेदवार थिए । त्यही भएर पनि बुढापाकालाई भन्दा युवालाई जिताउन मतदाता अग्रसर वनेको देखियो । ‘हामीले पार्टी हेरेनौँ’, मतदाता श्यामकुमार राईले भने, ‘काम गर्न सक्ने मान्छे चुन्यौ ।’ अघिल्लो पटक एमालेका तारानाथ न्यौपानेको प्यानलै विजयी वनेको यो वडामा सुव्बाले जित उल्टाएका छन् ।

राप्रपाका ३४ वर्षीय हेमवहादुर कार्कीले पनि भद्रपुर–३ मा प्यानलै जित्दै कांग्रेसका नेता कृष्ण सिटौलाको क्षेत्रमा धावा वोलेका छन् । नजिता आउन बाँकी जिल्लाका अधिकांश वडाहरुमा युवाकै वर्चश्व छ ।

झापामा २५ वर्ष भन्दा कम उमेर समुहका ५४ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमा २ जना प्रमुख र चार महिला उपप्रमुखका प्रत्यासी थिए । यसपटक युवालाई टिकट दिने कुरामा राप्रपा सवभन्दा वढी उदार देखियो ।

प्रकाशित : जेष्ठ ३, २०७९ ११:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×