वडाको नेतृत्वमा कान्छो पुस्ता

पर्वत पोर्तेल

काँकडभिट्टा — पूर्वोत्तर झापाको बुद्धशान्ति गाउँपालिका–१ मा एमालेका ३२ वर्षीय अनिल वाग्लेको प्यानलैले सोमवार विजयको झण्डा फहरायो । २०७४ को निर्वाचनमा झण्डै दोव्वर उमेरका भीमकुमार नेवार (कांग्रेस) ले जितेको यो वडालाई यसपालि वाग्लेको टिमले कव्जा गर्‍यो । 

वडाको नेतृत्वमा कान्छो पुस्ता

वाग्ले जस्ता जोश र उत्साह बोकेका कान्छो पुस्ताका तन्नेरीलाई झापाका मतदाताले यसपटक धेरै वडामा पत्याएका छन् । अव वुढाखाडालाई हैन, युवा जमातलाई नेतृत्व हस्तान्तरण गर्नुपर्छर् भन्ने सन्देश ती युवाहरुको जितले दिएको छ ।

‘युवाले नयाँ र प्रभावकारी काम गर्छन् भन्ने आम मतदाताको बुझाई बढ्दै गएको देखिन्छ’, स्वतन्त्र विश्लेषक सागर शिवाकोटी भन्छन्, ‘अव वडादेखि नै पुस्तान्तरण जरुरी छ भन्ने सन्देश यो जितले दिएको छ ।’

बुद्धशान्तिकै छिमेकी अर्जुनधारा १ मा पनि ३२ वर्षका उपेन्द्र बस्नेत (कांग्रेस) को काँधमा वडाको नेतृत्व आइलागेको छ । अघिल्लो निर्वाचनमा एमालेका गजाधर खतिवडाले यो वडामा जितेका थिए । यसपटक पार्टीको विश्वास जितेर उम्मेदवार भएका बस्नेतले मतदाताको मन पनि जिते । ‘यो समग्र युवा वर्गको जित हो’, उनले छोटो प्रतिक्रिया दिए ।

झापाका अधिकांश वडामा नेपाली कांग्रेस, एमाले, माओवादी या राप्रपाले मात्रै जितिरहेका बेला निक्कै कम जनाधार भएको एकीकृत समाजवादी पार्टीले एमाले अध्यक्ष केपी ओलीकै निर्वाचन क्षेत्र कमल गाउँपालिका–१ मा प्यानलै जितेको छ । संयुक्त गठबन्धनको समर्थनमा वडा अध्यक्षको उम्मेदवार बनेका ३१ वर्षे युवा अशोक सुब्बाको जित अहिले जिल्लामा ‘चिया गफ’को विषय बनेको छ ।

‘एकीकृृत समाजवादीले ल्याउँदा निकटम प्रतिद्धन्द्वी नेकपा (एमाले) का श्यामबहादुर कार्कीले १ हजार ३४ मत ल्याएका थिए । कार्की ६० वर्ष नाघेका उम्मेदवार थिए । त्यही भएर पनि बुढापाकालाई भन्दा युवालाई जिताउन मतदाता अग्रसर वनेको देखियो । ‘हामीले पार्टी हेरेनौँ’, मतदाता श्यामकुमार राईले भने, ‘काम गर्न सक्ने मान्छे चुन्यौ ।’ अघिल्लो पटक एमालेका तारानाथ न्यौपानेको प्यानलै विजयी वनेको यो वडामा सुव्बाले जित उल्टाएका छन् ।

राप्रपाका ३४ वर्षीय हेमवहादुर कार्कीले पनि भद्रपुर–३ मा प्यानलै जित्दै कांग्रेसका नेता कृष्ण सिटौलाको क्षेत्रमा धावा वोलेका छन् । नजिता आउन बाँकी जिल्लाका अधिकांश वडाहरुमा युवाकै वर्चश्व छ ।

झापामा २५ वर्ष भन्दा कम उमेर समुहका ५४ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमा २ जना प्रमुख र चार महिला उपप्रमुखका प्रत्यासी थिए । यसपटक युवालाई टिकट दिने कुरामा राप्रपा सवभन्दा वढी उदार देखियो ।

प्रकाशित : जेष्ठ ३, २०७९ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?