२२ वर्षीय बने गाउँपालिका अध्यक्ष

बुबाको विरासत सम्हाल्दै राजाबाबु
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट २२ वर्षीय राजाबाबु यादव विजयी भएका छन् । उनी सर्लाहीमा सबैभन्दा कम उमेरमा पालिका प्रमुख बन्न सफल भएका हुन् । आफ्नै काकालाई फराकिलो मतान्तरले जितेका यादव संविधानसभा सदस्य शिवपुजन राय यादवका छोरा हुन् ।

२२ वर्षीय बने गाउँपालिका अध्यक्ष

उनी बुबाको विरासत सम्हाल्न राजनीतिमा होमिएका हुन् । काठमाडौंमा बीबीएस पढिरहेका उनलाई बुबाले गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिन लगाएका थिए ।

जोसजाँगरका साथ प्रचारमा जुटेका २२ वर्षीय यादव रामनगर गाउँपालिकाको अध्यक्षमा ४ हजार ८१ मत ल्याएर विजयी भए । उनले नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवलाई १ हजार ६ सय ८९ को फराकिलो मतान्तरले पराजित गरेका हुन् । हरिनन्दनले भने २ हजार ३ सय ९२ मत ल्याए । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै गीता देवीले ३ हजार ५ सय २३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २ हजार ६ सय ३७ मत प्राप्त गरिन् ।

राजाबाबुको जितमा बुबा शिवपुजनको ठूलो योगदान छ । उनी राजनीतिमा स्वस्फूर्त होमिएका हैनन् । बुबाकै निर्देशनमा आफूले उम्मेदवारी दिएको राजाबाबुले बताए । ‘म काठमाडौंमा पढिरहेको एक विद्यार्थी हो, बुबाले भनेपछि उम्मेदवारी दिएँ,’ उनले भने, ‘मतदाताको मन जितेर निर्वाचित भएको हुँ, विकास हुन नसकेको मेरो पालिका बनाउने जिम्मा लिन्छु ।’ उनले बुबा शिवपुजनको साथ सहयोगमै पालिकामा अगाडि बढ्ने बताए । यसअघिका गाउँपालिका अध्यक्ष कांग्रेसका कृष्णप्रसाद वर्माको गत असार २० मा निधन भएको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७९ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?