३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दलित एकजुट भएर वडामा जित

डीबी बुढा

जुम्ला — कनकासुन्दरी–८ को दलित बस्तीमा आइतबार बेग्लै उत्साह थियो । नहोस् पनि किन, दलहरूले टिकट वितरणमा भेदभाव गरेको भन्दै यहाँका दलितहरूले वडाध्यक्ष र तीन सदस्य पदमा प्यानल बनाएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । मुख्य दलको दबदबा चिर्दै प्यानल नै विजय भएपछि बस्तीमा खुसी छायो । 

दलित एकजुट भएर वडामा जित

स्वतन्त्र उम्मेदवार धनबहादुर कामीले २ सय ८८ मत ल्याएर वडाध्यक्ष पद जिते । उनका प्रतिद्वन्द्वी कांग्रेसका मातृकाप्रसाद उपाध्यायले भने २ सय २० मत ल्याए । वडा सदस्यमा गोल दमाई र कर्णजित सार्कीले जिते । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भइन् । एक मात्र महिला सदस्य पद भने कांग्रेसकी रामुदेवी काफ्लेले जितिन् । ०७४ को स्थानीय तहको निर्वाचनमा यहाँ एमालेले जितेको थियो ।

यसपाला वडाध्यक्ष जितेका धनबहादुर पहिले एमालेकै सक्रिय कार्यकर्ता थिए । एमाले फुटेर एकीकृत समाजवादी बनेपछि उनी त्यतै लागे । तर पार्टीले टिकट दिएन । उनलाई लाग्यो, ‘ठूला दलमा हाम्रो कुनै भाउ छैन । बस्तीको हकहितका निम्ति सबैलाई मनाएर स्वतन्त्रमै भए पनि उठ्छु ।’ उम्मेदवारी दर्ताको केही दिनअघि धनबहादुरले गाउँ भेला डाके । अनि प्यानल नै बनाएर स्वतन्त्र उठ्ने निर्णय गरे । उनले भने, ‘चुनावमा दलित मतदाता किन्न पाइन्छ भन्दै हेपाहा नजरले हेर्थे । दलित बस्तीमा विकास नदिने र दलित हकअधिकारका बारेमा बोलिदिने नगरेकोले सिंगो बस्ती एकजुट हुनुपरेको हो ।’

कनकासुन्दरी–८ मा ६ गाउँ छन्– सञ्जेलबाडा, सुमलगाउँ, कुलालबाडा, रोकायाबाडा, भट्ट भण्डारीबाडा र पाउसेरा गाउँ । यीमध्ये सञ्जेलबाडा, सुमलगाउँ, कुलालबाडा दलित बाहुल्य गाउँ हुन्, जहाँ २ सय २५ घरका ६ सय दलित मतदाता छन् । यस वडामा १३ सय मतदाता थिए । एक हजार ४२ मत खसेको थियो ।

यहाँ जातकै आधारमा हुने छोइछिटो उस्तै छ । दलितहरूले धारा पँधेरामा सहजै पानी भर्न पाउँदैनन् । दलितबस्तीको चिहान घाटसमेत गैरदलितले नापी नक्सा गरेका छन् । अहिले पनि दलित र गैरदलित बीचको आर्यघाट फरक छ । बिहेबारीमा एकै भोजभतेर चल्दैन । स्थानीय चुना कामीले भनिन्, ‘दलितले कहिल्यै सुख मनले बस्न पाएनौं । सधैं अरूको पिसानीमा पर्‍यौं । चुनावमा भोट बैंक बन्यौं । अघिपछि केही पाएनौं ।’ वडाध्यक्षमा जितेका धनबहादुरले जनभावनाअनुसार काम गर्ने बताए । ‘यो पटक एकता नै बल हो भन्ने प्रमाणित गरेका छौं । गैरदलितको पनि गुनासा सम्बोधन गर्छौं,’ उनले भने ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?