कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भक्तपुरमा नेमकिपाको एकलौटी

नगर प्रमुखमा सुनील प्रजापति, उपप्रमुखमा रजनी जोशीसहित १० वटै वडामा भारी मतान्तरसहित प्यानल नै विजयी
लिला श्रेष्ठ

भक्तपुर — नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुर नगरपालिकामा यसपटक पनि ‘क्लिन स्वीप’ गरेको छ । दोस्रो कार्यकालका लागि नगर प्रमुखमा सुनील प्रजापति, उपप्रमुखमा रजनी जोशीसहित १० वटै वडामा भारी मतान्तरसहित नेमकिपाका उम्मेदवारको प्यानल नै विजयी भएको हो ।

भक्तपुरमा नेमकिपाको एकलौटी

स्थानीय तह निर्वाचन २०७४ मा पनि प्रजापति २५ हजार ७ सय ३० मत ल्याएर निर्वाचित भएका थिए । यसपटक ३ हजार ५ सय २२ मत बढाउँदै २९ हजार २ सय ५२ मत ल्याए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले ३ हजार ४७ मत मात्र प्राप्त गरे । २०७४ को निर्वाचनमा पनि कासुला प्रजापतिसँगै पराजित भएका थिए । त्यति बेला उनले ६ हजार ५ सय ६० मत ल्याएका थिए । भक्तपुर नगरमा यसपटक एमालेले पनि आफ्नो मत जोगाउन सकेन । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार विष्णु सुवालले ४ हजार २ सय १८ मत पाएका थिए भने हालका उम्मेदवार रवीन्द्र लाछिमस्युले २ हजार ४ सय ४१ मत मात्र पाए । दोस्रो कार्यकालका लागि पुनः निर्वाचित उपप्रमुख जोशीले २९ हजार ७ सय ५९ मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ९ सय ८८ र गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७ सय ७८ मत पाए । २०७४ को निर्वाचनमा जोशीले २५ हजार ७ सय ११ मत ल्याएकी थिइन् ।

नेमकिपाले वर्षौंदेखि भक्तपुरमा आफ्नो पकड बनाउँदै आएको छ । जनभावनाअनुसार काम गरेकाले जनताको साथ पाएको नेमकिपाका जिल्ला अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईं बताउँछन् । ‘किसानहरूलाई जग्गाको मालिक बनाउने र भ्रष्टाचारविरुद्धको आन्दोलनमा निरन्तर लागिरह्यौं । निर्वाचित जनप्रतिनिधि सधैं सेवा गर्ने ढंगमा अघि बढ्यौं र सेवाको राजनीति गर्‍यौं,’ उनले भने, ‘त्यसैले जनतालाई आकर्षित गरिरह्यो ।’

नगर प्रमुखमा निर्वाचित प्रजापतिको अघिल्लो कार्यकालमा शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण तथा पुनर्निर्माण, खेलकुदलगायतको क्षेत्रमा उल्लेख्य काम भएका छन् । ‘नमुना नगरका रूपमा अवलोकन/अध्ययनका लागि ७० भन्दा बढी जिल्लाका जनप्रतिनिधिहरू आउनुभयो, धेरैले भक्तपुर नगरलाई सिकाइका रूपमा पनि लिनुभएको छ,’ प्रजापतिले भने, ‘नगरवासीलाई अनुभूत हुने गरी अझै धेरै काम गर्नेछौं । हामी नहुने आश्वासन दिँदैनौं ।’

ऐतिहासिक सम्पदा संरक्षण, स्तरीय शिक्षा, सुन्दर र सफा नगर भक्तपुर धेरै स्थानीय तहका लागि सिकाइ हुन सक्ने जानकारहरू बताउँछन् । ‘भक्तपुर सिक्न चाहनेहरूका लागि सिकाइ बन्न सक्छ, शिक्षाको क्षेत्रमा विश्वविद्यालय सञ्चालन गर्न सक्ने आँट अन्य स्थानीय तहले गरेको पाइँदैन,’ साहित्यकार एवं संस्कृतिकर्मी तेजेश्वर बाबु ग्वंगले भने, ‘दशकौंदेखि भक्तपुरलाई नियालिरहेको छु, केन्द्रीय सरकारले गर्न नसकेको काम भक्तपुर नगरले गरेको छ ।’ नगरले महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायतको स्वास्थ्य सेवामा प्रभावकारी भूमिका निर्वाह गरेको उनी बताउँछन् ।

नेमकिपाले नेतृत्व लिएपछि शिक्षालाई प्राथमिकतामा राखेर साक्षरता कक्षादेखि विश्वविद्यालयसम्मको योजनाअनुरूप काम गरिरहेको छ । नगरपालिकाले ‘एक घर एक स्नातक’ को अवधारणामा सहुलियत शुल्कमा २०५६ सालमा ख्वप मावि, २०५८ मा ख्वप इन्जिनियरिङ कलेज, २०६० मा ख्वप बहुप्राविधिक अध्ययन संस्थान (डिप्लोमा इन सिभिल इन्जिनियरिङ र पीसीएल नर्सिङ), २०६५ मा ख्वप कलेज अफ इन्जिनियरिङ, शारदा मावि र शारदा कलेज गरी ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको छ ।

शिक्षालाई अझै प्रभावकारी बनाउन आर्थिक वर्ष ०७६/७७ बाट शैक्षिक ऋण दिन थाल्यो । नगर क्षेत्रभित्र स्थायी बसोबास भएका जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजदरमा ५ लाख रुपैयाँसम्मको शैक्षिक ऋणको व्यवस्था गर्‍यो । विद्यार्थीको रुचिको विषयमा स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी गर्न चाहने विद्यार्थीहरूका लागि नगरपालिकाले एकमुष्ट अथवा किस्ताबन्दीमा ऋण दिने व्यवस्था गरेको छ । नगरपालिकाले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपालभाषा विषय पढ्ने विद्यार्थीहरूलाई आकर्षित गर्न नगरपालिकाका तर्फबाट शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको प्रजापति बताउँछन् । शिक्षालाई अझ प्रभावकारी बनाउन नगरले ६ वटा शिशु स्याहार सञ्चालन गर्दै आएको छ ।

आगामी दिनमा अघिल्लो कार्यकालमा गर्न नसकेको ख्वप विश्वविद्यालय सञ्चालन गर्न निरन्तर जोड दिने, सामुदायिक विद्यालयको शैक्षिकस्तर उठाउन शिक्षक तालिम, भौतिक पूर्वाधारहरूको निर्माणमा जोड दिने, शिशु स्याहार केन्द्र वडास्तरमा विस्तार गर्ने, नगरलाई ‘सांस्कृतिक नगर’ घोषणा गर्नेलगायतको योजना रहेको नवनिर्वाचित उपप्रमुख जोशीले बताइन् ।

भक्तपुर नगरका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गर्दै आएका छन् । एक सय शय्याको ख्वप अस्पताल सञ्चालन गर्ने, यसअघिदेखि नै सञ्चालित घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाउँदै वडा–वडामा स्वास्थ्य उपचार केन्द्र विस्तार तथा विशेषज्ञ डाक्टरमार्फत स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिने, आयुर्वेदिक स्वास्थ्य उपचारलाई थप प्रभावकारी बनाउँदै वडास्तरमा सेवा विस्तार गर्ने काम भएको छ भने नगरको उपयुक्त स्थानमा प्रभातकालीन तथा सन्ध्याकालीन विचरण पार्क निर्माणको योजना छ । नगरपालिकाको फोहोर व्यवस्थापन पनि निकै प्रभावकारी छ । फोहोर उठाउन नगरपालिकाले १४० जना कर्मचारी खटाएको छ । ती कर्मचारीले हरेक दिन तीन ‘सिफ्ट’ मा काम गर्छन् । खेलकुदमा नयाँ प्रतिभा जन्माउन स्कुलहरूमा खेल शिक्षक अनिवार्य गरिएको छ । प्रत्येक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना हुँदै आएको छ ।

वरिष्ठ पत्रकार भैरव रिसालले नेमकिपाको कुशल नेतृत्वले भक्तपुरलाई बेग्लै पहिचान दिलाउन अहं भूमिका खेलेको बताए । ‘शिक्षा, स्वास्थ्य र सरसफाइ सभ्य नागरिकको आधार हो,’ रिसालले भने, ‘भक्तपुर नगरले सभ्य सभ्यताको पहिचान दिएको छ । नगरपालिकाका जनप्रतिनिधिले आफ्नो सम्पूर्ण ध्यान शिक्षा र स्वास्थ्यको विकासमा लगाएका छन् । स्वास्थ्यको अभिन्न अंग सरसफाइ पर्न आउँछ ।’ पुरातात्त्विक, सांस्कृतिक सम्पदा पुनर्निर्माणमा पालिकाको अद्वितीय योगदान रहेको उनी बताउँछन् ।

अन्य उम्मेदवारको धरौटी जफत

भक्तपुर नगर प्रमुखमा निर्वाचित नेमकिपाका उम्मेदवारबाहेक अन्य दल र स्वतन्त्र उम्मेदवारको जमानत जफत हुने भएको छ । नेमकिपाका तर्फबाट उम्मेदवार नगर प्रमुख, उपप्रमुखसहित १० वटै वडाध्यक्षलगायत नगर समिति सदस्यहरूले एकलौटी दुई तिहाइ मत प्राप्त गरेका छन् । अन्य ८ दल र ५ स्वतन्त्र उम्मेदवारले खसेको मतको १० प्रतिशत पनि पाउन नसकेपछि जमानत जफत हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नेमकिपाविरुद्ध उठेका उम्मेदवार सबैको मत जोड्दा ११ हजार २ सय ४९ मत हुन्छ । उनीहरू सबैको मतभन्दा नगर प्रमुखमा निर्वाचित प्रजापतिको मत १८ हजार ३ मत बढी छ । जमानत जोगाउन खसेको मतको १० प्रतिशत कटाउनुपर्छ । भक्तपुर नगर प्रमुखका लागि कांग्रेसका तर्फबाट रामप्रसाद कासुला, एमालेका रवीन्द्र लाछिमस्यु, राप्रपाका बद्री लाखाजु, माओवादी केन्द्रका तुलसीभक्त सुवाल, राष्ट्रिय जनमोर्चाका रामभक्त किजु, मौलिक जरोकिलोका कृष्णराम प्रजापति, नेपाः राष्ट्रिय पार्टीबाट गोपालदास बनेपाली, जनता समाजवादी पार्टीका राजाराम ढुकुछु तथा स्वतन्त्रमा सत्यराम त्वायना, अनिल लावजु, रामसुन्दर धुसु, नीलनारायण कोजु र बलराम प्रजापति गरी १४ जनाको उम्मेदवारी परेको थियो ।

000

हाम्रो पारदर्शिता जनताले रुचाए : सुनील प्रजापति, नगर प्रमुख

नेमकिपाले भक्तपुरमा निरन्तर जित्नुको कारण के हो ?

पार्टीले इमानदारीपूर्वक जनताको सेवा गर्दै आएको छ । नगरपालिकाभित्रका सबै गतिविधि पारदर्शी ढंगले गर्दै आएका कारण हाम्रो पार्टीलाई जनताले रुचाएका हुन् ।

तपाईंको भावी योजना के–के छन् ?

व्यक्तिगत योजना भन्ने हुँदैन । पार्टीले निर्वाचनका बेलामा जारी गरेको घोषणापत्र नै हाम्रो कार्ययोजना हो । पहिलेका अधुरा काम सम्पन्न गर्छौं र घोषणापत्रमा लेखिएका कुरा पूरा गर्छौं ।

नेमकिपा भक्तपुरमा मात्र केन्द्रित भएको आरोप छ नि ?

यो प्रश्न साँचो होइन । ४० भन्दा बढी जिल्लामा हाम्रा उम्मेदवार उठ्नुभएको छ । शतप्रतिशत जितेको भक्तपुर नगरपालिका हो । हाम्रो त विचारको राजनीति हो नि ∕ देशभर हाम्रा साथीले काम गरिराख्नुभएको छ ।

अन्य पार्टीका र नेमकिपाका जनप्रतिनिधिमा के फरक छ ?

नेमकिपाका जनप्रतिनिधि इमानदारीपूर्वक जनताको सेवामा खट्नुहुन्छ । पैसा कमाउने, प्रलोभनमा फस्ने भन्ने छैन । जनताको सेवामा जुनसुकै बेला पनि खट्ने, कुद्ने भन्नेमा पार्टीले नै प्रशिक्षित गरिराखेको हुँदा त्यहीअनुसार हाम्रा नेता–कार्यकर्ता साथीहरू जहिले पनि संयमित भएर काम गर्नुहुन्छ । त्यसैले अन्य पार्टीका जनप्रतिनिधिभन्दा हामी फरक भएको हो कि !

प्रकाशित : जेष्ठ ३, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?