दोहोरिने लोभले पराजित


काठमाडौँ — २०७४ को स्थानीय तह निर्वाचनमा अछामको चौरपाटी गाउँपालिकामा एमालेका हर्कबहादुर साउद कांग्रेसका भीमबहादुर साउदलाई १ मतको अन्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका थिए । यस पटक हर्कबहादुरले एकीकृत समाजवादीका तर्फबाट पुनः अध्यक्षमा प्रतिस्पर्धा गरे तर उनलाई तेस्रो स्थानमा सीमित गर्दै भीमबहादुर अध्यक्ष निर्वाचित भए ।



अघिल्लो निर्वाचनमा इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष निर्वाचित डिकेन्द्र इधिंगो र उपाध्यक्ष निर्वाचित सुनिता सुब्बाले पनि दोहोरिने चाहना पूरा गर्न सकेनन् । त्यतिबेला पराजित भएका हेमन्त राई र विनोदकुमार नेम्बाङ यस पटक इधिंगो र सुब्बालाई हराउँदै अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भए ।
स्थानीय तहमा पुनः दोहोरिने लोभ गर्दा पराजित हुने यी केही प्रतिनिधि पात्र हुन् । पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका अन्य जनप्रतिनिधिले समेत यस्तै नतिजा व्यहोरिरहेका छन् । दैलेखमा ७ जना प्रमुख–उपप्रमुख दोहोरिन चाहेकामा कसैको पनि सपना पूरा हुन सकेन । गुराँस गाउँपालिकाका खेमराज वली र दीपाकुमारी बीसी, नौमुले गाउँपालिकाका भदे बुढा र अमृता सिंह, डुंगेश्वर गाउँपालिकाका नगेन्द्र मल्ल, महाबु गाउँपालिकाका जंगबहादुर शाही र भैरवी गाउँपालिकाकी पदमकुमारी बिष्ट पनि यस पटक पराजित भएका छन् ।
दार्चुलाका १३ जनप्रतिनिधि यस पटक पनि प्रतिस्पर्धामा थिए तर दुई जनाबाहेक सबै पराजित भए । मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी र लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले मात्र जित दोहोर्याएका छन् । मतगणना जारी रहेका कतिपय स्थानीय तहमा पनि निवर्तमान जनप्रतिनिधिका लागि पुनः कुर्सीमा पुग्नु चुनौतीपूर्ण देखिएको छ । सुदूरपश्चिम प्रदेशमा मात्र ५१ जना प्रमुख–उपप्रमुख पुनः प्रतिस्पर्धामा थिए । सोमबार साँझसम्म २२ जना पराजित भइसकेका छन् । मतगणना जारी रहेका १८ जनाले पनि जित्ने सम्भावना कम बन्दै गएको छ । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेसका नृपबहादुर वडका लागि पुनः नगरप्रमुख बन्ने सपना चुनौतीपूर्ण बन्दै गएको छ । सोमबार रातिसम्मको मतगणनामा वडलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले २ हजार ३ सयभन्दा बढी मतले पछाडि पारेका छन् ।
कर्णाली प्रदेशमा ४१ जना प्रतिनिधि पुनः निर्वाचनमा सहभागी भएका थिए । तीमध्ये डोल्पामा ४ जना निर्विरोध र अन्य ४ जना प्रतिस्पर्धाबाट निर्वाचित भएका छन् ।
मत परिणाम कुरिरहेका बाँकी २६ जनामध्ये आधाको अवस्था पराजय उन्मुख छ । कालीकोटको खाँडाचक्र र सान्नीत्रिवेणी नगरपालिकामा स्वतन्त्र उम्मेदवारले निवर्तमान प्रमुखलाई पराजित गरेका छन् । खाँडाचक्रमा एमालेबाट पुनः प्रमुखमा उठेका जशीप्रसाद पाण्डेलाई स्वतन्त्र उम्मेदवार कमलबहादुर शाहीले पराजित गरेका छन् । एकीकृत समाजवादीनिकट उनलाई माओवादी केन्द्रले सहयोग गरेको थियो । सान्नीत्रिवेणीमा माओवादी केन्द्रबाट निर्वाचित निवर्तमान नगर प्रमुख डम्बरबहादुर शाहीलाई सोही दलका बागी उम्मेदवार मोहनबहादुर केसीले पराजित गरेका हुन् ।
पदमा रहँदा जनताको मन जित्न नसक्नु नै जनप्रतिनिधिका लागि पुनः पदमा दोहोरिने सपनाको बाधक हो । अधिकांश जनप्रतिनिधिले गत निर्वाचनमा जनतासँग गरेका बाचा पूरा गर्न सकेनन् । यसले गर्दा उनीहरूलाई यस पटक मत माग्न पनि कठिन भयो । ‘भोट माग्न जाँदा जनताले अघिल्लो पटक चुनाव जिताएकै थियौं तर न विकास दिनुभयो न जागिर दिनुभयो भन्दै असन्तुष्टि व्यक्त गरे,’ गाउँपालिका अध्यक्षमा पराजित कर्णालीका एक उम्मेदवारले भने, ‘तर हामीलाई चुनावका बेला बाध्यता, सीमा र समस्या सुनाउने छुट थिएन ।’ जनताको गुनासो र असन्तुष्टिमा प्रतिस्पर्धी उम्मेदवारले फाइदा लिएको उनले बताए ।
कतिपयले जानाजान जोखिम मोलेर चुनाव लड्दा हार व्यहोरेका छन् । अघिल्लो पटक माओवादी केन्द्रबाट बागलुङको ताराखोला गाउँपालिका प्रमुखमा निर्वाचित प्रकाश घर्तीमगरले यस पटक टिकट नपाएपछि बागी उम्मेदवारी दिए । उनलाई पार्टीका उम्मेदवार धनबहादुर विकले पराजित गरे । पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका उपाध्यक्ष रहेकी मीनाकुमारी राना पार्टीले टिकट नदिएपछि उपाध्यक्षमै बागी उठिन् । सोमबार रातिसम्म कांग्रेसकी कला भुजेलले ५ हजार १ सय ३३ मत ल्याउँदा उनले ९० मतमात्रै पाएकी छन् ।
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल पहिलो पटक निर्वाचित हुँदा जनतालाई सन्तुष्ट पार्ने गरी काम गर्न नसक्नु हारको प्रमुख कारक हुन सक्ने बताउँछन् । ‘पदमा रहेकासँग जनताका धेरै अपेक्षा हुन्छन् तर काम गर्ने आधार कम भएपछि असन्तोष बढेर चुनावमा प्रकट हुन्छ,’ उनी भन्छन्, ‘यसका साथै चुनाव हार्नुमा उम्मेदवारका व्यक्तिगत कारण पनि सहयोगी हुन सक्छन्, पदमा रहँदा कस्तो प्रदर्शन गर्न सक्यो भन्नेले पनि धेरै अर्थ राख्छ ।’ चुनावी गठबन्धन भएपछिको उथलपुथलको अवस्थाले समेत हारजितमा भूमिका खेलेको हुन सक्ने उनले बताए ।
मतदाताको नयाँपनको रुचिलाई दलहरूले उम्मेदवार तय गर्दा बेवास्ता गरेको कारण पुराना जनप्रतिनिधि पराजित भएको खनालको भनाइ छ । विशेषगरी युवाले नयाँ विकल्प खोज्दा जनप्रतिनिधिमा दोहोरिने सपना पूरा हुन नसकेको उनले बताए । ‘राष्ट्रिय राजनीतिमा देखिएको उथलपुथल, मतदाताको नयाँपनको रुचि र कतिपय स्थानीय कारणले पनि पुनः निर्वाचित हुन अवरोध गरेको हुन सक्छ,’ उनले भने । पुनः निर्वाचित हुन नसकेका उम्मेदवारले आफ्नो व्यक्तिगत कमजोरीभन्दा पनि दलभित्रको आन्तरिक किचलोलाई हारको कारकका रूपमा देखाउने गरेका छन् । कांग्रेसका उम्मेदवारले अन्तरघात भएका कारण हार व्यहोर्नुपरेको बताउने गरेका छन् भने एमालेका उम्मेदवारले विपक्षमा बनेको बलियो गठबन्धनलाई कारक देखाएका छन् ।
गुराँस गाउँपालिका अध्यक्षमा पराजित भएपछि खेमराज ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बागी तानेको नाटक मञ्चन गरियो, सबै हिसाबकिताब गरेर चुनाव हराउनकै लागि मिलेमतोमा विज्ञप्ति निकाल्न लगाई चुनाव हराइयो ।’ गुराँसमा कांग्रेसकै पमबहादुर मल्लले बागी उम्मेदवारी दिए पनि मतदानको अघिल्लो दिन उनले विज्ञप्ति निकालेर ओलीलाई समर्थन गरेका थिए । २०७४ को निर्वाचनका बेला ओलीले अर्को पटक अध्यक्ष बनाउने भनेर प्रतिबद्धता दिए पनि पुनः आफैं उठेपछि बागी हाल्नुपरेको उनको भनाइ थियो । कालीकोटको सान्नीत्रिवेणीमा नगर प्रमुख पराजित डम्बरबहादुर शाहीले पनि पार्टीका नेताहरूकै कारण पराजित हुनुपरेको बताएका छन् । ‘मलाई टिकट त दिइयो तर बागी उम्मेदवारलाई जित्ने वातावरण बनाउने काम भयो,’ उनले भन्ने गरेका छन् । हिमाली जिल्लाहरूमा भने अधिकांश उम्मेदवार पुनः निर्वाचित भएका छन् । डोल्पामा ७ जना दोहोरिएका छन् । हुम्लाको खार्पुनाथमा कर्णबहादुर रावल पुनः निर्वाचित भएका छन् । मनाङका चारमध्ये तीन पालिकामा पहिलेकै अध्यक्ष दोहोरिएका छन् । मुस्ताङको लो–घेकर–दामोदरकुण्डमा लोप्साङ छोम्पेल बिष्ट, बारागुङ मुक्तिक्षेत्रमा रिङजिङ नामगेल गुरुङ र मुगुको मुगुमकर्मारोङमा छिरिङ क्याप्ने लामा पुनः निर्वाचित भएका छन् ।
प्रकाशित : जेष्ठ ३, २०७९ ०५:५४