कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार केसी विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार केसी विजयी

तुलाराम पाण्डे

कालिकोट — कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी विजयी भएका छन् । उनले १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका हुन् । केसीका प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३ सय २५ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकी पार्वती सिँह १ हजार ६ सय ८१ मत ल्याएर विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १ हजार २ सय २२ मत पाएकी छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०२:४६
प्रतिक्रिया
पठाउनुहोस्

कालीकोटका २ पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी

तुलाराम पाण्डे

कालीकोट — कालिकोटको सदरमुकामको खाडाचक्र नगरपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका एकीकृत समाजवादीका नेता कमलबहादुर शाही विजयी भएका छन् । ५ दलीय गठबन्धनले नेपाली कांग्रेसलाई नगर प्रमुखमा भाग दिएपछि दलीय ह्वीप नमान्ने अडानसहित उनले नगर प्रमुखमा उम्मेदवारी दिएका थिए ।

माओवादी केन्द्रसहित साविको दाहा र पाखाका सबैजसो वडामा कांग्रेस, राप्रपा, राष्ट्रिय जनमोर्चासँग साझा उम्मेदवारको रुपमा चर्चामा रहेका शाहीले एमालेका जिल्ला अध्यक्ष तथा खाडाचक्रका निवर्तमान नगर प्रमुख जसीप्रसाद पाण्डेलाई ३ सय १० मतले पछि पार्दै विजयी भएका हुन् । शाहीले एकीकृत समाजवादीले टिकट दिन आनाकानी गरेपछि स्वतन्त्रमा उम्मेदवारी दर्ता गरेका थिए । २ हजार ९ सय १९ मत ल्याई उनी नगर प्रमुखमा विजयी भए ।

‘चुनाव नसोचेकै हुँदो रहेछ‚’ नगर प्रमुखमा विजयी शाहीले भने‚ ‘२० वर्षदेखि जनताको सेवामा लागेको फल बल्ल पाइयो ।’ खाडाचक्रको शिक्षा, पूर्वाधार विकास, गरिबी र भोकमरी अन्त्य । युवा स्वरोजगारी उनको प्राथमिकता छन् ।

एमालेको राम्रो जनाधार मानिने खाडाचक्रमा २ वटा वडा कांग्रेस, २ वटा एकीकृत समाजवादी र ६ वटा वडा माओवादीको पोल्टोमा परेको छ ।

यसैगरी यहाँको शान्नित्रिवेणी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रले शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका मुम्राका मोहनबहादुर केसीलाई टिकट नदिएपछि पुतली चुनाव चिह्न लिएर उम्मेदवारी दर्ता गराएका उनी विजयी भएका छन् । ५ दलीय गठबन्धनले माओवादी केन्द्रलाई पालिका अध्यक्ष र एकीकृत समाजवादीलाई उपाध्यक्षको भाग दिएपनि उनले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका थिए ।

यहाँको शुभकालिका गाउँपालिका एकीकृत समाजवादीको भागमा परेपछि माओवादी केन्द्रका गोविन्दप्रसाद आचार्यले नेपाली कांग्रेसका धर्मा शाहीलाई उपाध्यक्ष दिएर गठबन्धन गरे । एमाले र समाजवादी छुट्टाछुटै प्रतिस्पर्धामा उत्रिए । पार्टी विभाजन नहुँदासम्म एमालेको किल्ला मानिने शुभाकालिका समाजवादी र एमालेका दुई अध्यक्ष लड्दा पराजित भए । आचार्यले काग्रेससँग गठबन्धन गरेर २ हजार ४ सय ९ मत ल्याए भने एकीकृत समाजवादीका पुष्पराज आचार्यले १ हजार ५ सय ९५ र एमालेका भरतराज धितालले १ हजार ५ सय मत ल्याएर पराजय भोगे । उपाध्यक्षमा पनि गठबन्धनको तर्फबाट कांग्रेसकी धर्मा शाहीले २ हजार ३४ मत पाएर विजयी भइन् ।

कालीकोटकै पलाता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा माओवादी केन्द्र विजयी भएको छ ।

त्यस्तै, सत्ता गठबन्धनले यहाँको तिलागुफा नगरपालिका माओवादी केन्द्रका भागमा परेपछि कांग्रेसका शंकर उपाध्यायले एमालेका महेन्द्रबहादुर शाहीलाई उपमेयर दिएर छुट्टै गठबन्धन गरे । उपाध्यायले माओवादी केन्द्रका दिनेश चदरालाई ३ सय ८६ मतले हराउँदै विजयी भए भने उपप्रमुखमा एमालेका महेन्द्रबहादुर शाहीले बाजी मारे । नगर प्रमुखमा उपाध्यायले २ हजार ९ सय १६ मत पाए भने उपप्रमुखमा एमालेका शाही २ हजार ७ सय ५० मत पाएर विजयी भए ।

प्रकाशित : जेष्ठ २, २०७९ २०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×