स्याङ्जाको आँधीखोलामा एमालेका पौडेल निर्वाचित- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जाको आँधीखोलामा एमालेका पौडेल निर्वाचित

प्रतीक्षा काफ्ले

स्याङ्जा — आँधीखोला गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका विश्व पौडेल विजयी भएका छन् । प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमराज पौडेललाई ८ सय २६ मतले पछाडि पार्दै पौडेल विजयी भएका हुन् । पौडेलले ५ हजार १ सय ७७ मत ल्याएका छन् भने प्रेमराजले ४ हजार ३ सय ५१ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रमुख प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामचन्द्रप्रसाद पौडेललाई १ हजार ४ सय ५६ मतान्तरको फरकमा उपाध्यक्ष पदमा एमालेकै सीता थापा विजयी भएकी छन् । थापाले ५ हजार २ सय ७३ मत ल्याएकी छन् भने, रामचन्द्रले ३ हजार ८ सय १७ मत प्राप्त गरेका छन् । यसभन्दा अघि आँधीखोलामा एमालेबाटै अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका थिए ।

यस्तै आँधीखोलाको १ नम्बर वडामा एमालेका पवनकाजी अधिकारी निर्वाचित भएका छन् । यसैगरी २ नम्बर वडामा एमालेकै कमलप्रसाद पौडेल, ३ मा कांग्रेसका शेरबहादुर कार्की, ४ मा एमालेका सिंहबहादुर क्षेत्री, ५ मा एमालेका कृष्णप्रसाद पनेरु र ६ मा कांग्रेसका नवीन ढकाल निर्वाचित भएको निर्वाचन अधिकृत डिल्लीराम पौडेलले जानकारी थिए । यसभन्दा अघिल्लो स्थानीय तहको निर्वाचनमा आँधीखोलाका ६ वटा वडामा एमाले विजयी भएको थियो । यसपटकको निर्वाचनमा आफ्ना २ वटा वडा गुमाउन पुगेको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ २३:४६
प्रतिक्रिया
पठाउनुहोस्

स्याङ्जाको फेदीखोला गाउँपालिकामा दोहोरिए एमालेका सुवेदी

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुवेदी पुन: निर्वाचित भएका छन् । सोमबारको अन्तिम मतपरिणामअनुसार उनले १ सय ३२ को मतान्तरले कांग्रेसका लक्ष्मीप्रसाद बराललाई हराए ।

सुवेदीले ३ हजार ८ सय ३६ मत ल्याउँदा बरालले ३ हजार ७ सय ४ मत ल्याए । उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ निर्वाचित भएकी छन् ।

नेकपा माओवादीका शिवप्रसाद पराजुलीलाई १ हजार ५ सय ९९ मतान्तरले पछाडि पार्दै विजयी भएकी गुरुङले ३ हजार ९ सय ३८ मत प्राप्त गरेकी छन् भने, पराजुलीले २ हजार ३ सय ७९ मत प्राप्त गरेका छन् ।

यसैगरी ५ वटा वडा रहेको फेदीखोलामा क्रमश: १ मा कांग्रेसका अमृत क्षेत्री, २ मा एमालेका अभिलाष गुरुङ, ३ मा कांग्रेसका कृष्णबहादुर रानाभाट, ४ मा कांग्रेसकै ख्यामनारायण पौडेल र ५ मा कांग्रेसकै डिलबहादुर गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत विनोद पौडेलले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २, २०७९ २०:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×