कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

लुम्बिनीमा ६ घण्टा बिताएर फर्किए भारतीय प्रधानमन्त्री मोदी

दीपेन्द्र बडुवाल

लुम्बिनी — बुद्ध जयन्तीका अवसरमा यहाँ भ्रमणमा सोमबार बिहान आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा ६ घण्टा बिताएर अपरान्ह फर्किएका छन् । यहाँस्थित अन्तराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा बुद्ध जयन्ती समारोह सम्बोधन गरेलगत्तै उनी भारतीय वायु सेनाका हेलिकप्टरमार्फत फर्किएका हुन् ।

लुम्बिनीमा ६ घण्टा बिताएर फर्किए भारतीय प्रधानमन्त्री मोदी

बिहान १० बजेर ४० मिनेटमा लुम्बिनी उत्रिएका उनी अपरान्ह साढे ४ बजे यहाँबाट फर्किएका हुन् । उनले सम्बोधनका क्रममा बुद्ध जयन्तीको अवसरमा उपस्थित भएर विश्वभरिका बासिन्दालाई शुभकामना दिने अवसर मिलेको खुसी व्यक्त गरे । बुद्धको जन्मस्थलमा आउने अवसर आफ्ना लागि अविश्वसनीय भएको उनले बताए । उक्त समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए ।

उक्त समारोहमा सहभागी हुनुअघि मोदी लुम्बिनीको होटल पवन प्यालेसमा आयोजना भएको द्विपक्षीय भेटवार्तामा सहभागी भएका थिए । त्यहाँ प्रधानमन्त्री देउवाले समकक्षीका लागि दिवा भोज आयोजना गरेका थिए । उक्त होटलमा विभिन्न ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम भएको थियो । दुई प्रधानमन्त्रीबीच ‘वान टु वान’ कुराकानी भएका थिए ।

होटलमा विश्रामका लागि जानुअघि मोदीले सोमबार बिहान मायादेवी मन्दिरमा पूजा गरेका थिए । भने लुम्बिनीको पश्चिमी विहार क्षेत्रमा भारतीय संस्कृति मन्त्रालयले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन(आईबीसी) विहारस्थल पुगेका थिए । त्यहाँ दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त विहारको शिलान्यास गरेका छन् ।

सोमबार बिहान १० बजेर ४० मिनेटमा भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनीमा उत्रिएका मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरुले स्वागत गरेका थिए । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र अगाडि तयार हेलिप्याडमै पुगेर प्रधानमन्त्री र मन्त्रीहरूले मोदीलाई स्वागत गरेका थिए । पहेलो कुर्ता पहिरिएका मोदीले हेलिकप्टरबाट उत्रिएलगत्तै सञ्चारकर्मी र उपस्थित व्यक्तिलाई हात उठाएर अभिवादन गरेका थिए ।

प्रकाशित : जेष्ठ २, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?