कांग्रेस-एमालेको गठबन्धन तोड्दै रोल्पाको परिवर्तनमा माओवादी विजयी

काशीराम डाँगी

रोल्पा — कांग्रेस–एमालेको गठबन्धन तोड्दै रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सुकबहादुर बुढामगर थमन १ सय ८२ मतले कांग्रेसका विश्वकुमार चन्दलाई पछि पार्दै विजयी भएर साख जोगाएका हुन् । 

कांग्रेस-एमालेको गठबन्धन तोड्दै रोल्पाको परिवर्तनमा माओवादी विजयी

बुढामगरले ३ हजार ३ सय ११ मत पाए भने प्रतिद्वन्द्वी चन्दले ३ हजार १ सय २९ मत प्राप्त गरे । चन्द कांग्रेस र एमालेबीचको गठबन्धनका साझा उम्मेदवार थिए । रोल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रहेका चन्द युवा व्यवसायीसमेत हुन् । चन्द कांग्रेसका युवा नेता हुन् । बुढामगर भने यसअघि वडा ५ राङ्कोटका वडाध्यक्ष निर्वाचित भएका थिए । अघिल्लो पटक ६ वटै वडा र अध्यक्ष तथा उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकै कलादेवी खत्रिनी विजयी भएकी छन् । पूर्वलडाकु कमान्डर स्वर्गीय नेपबहादुर खत्री ‘परिवर्तन’ की जीवन संगिनी उनले ३ हजार ३ सय ८७ मत प्राप्त गरिन् । उनकी प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी एमालेकी सपना रोका घर्तीमगरले २ हजार ३ सय ४८ मत पाएकी थिइन् ।

उपाध्यक्ष निर्वाचित हुँदा खत्रिनीले सपनालाई १ हजार ३९ मतले पछि पारेकी हुन् । खत्रिनीले युद्धमा पतिसँगै दाइ र भान्जासमेत गुमाएकी थिइन् । अघिल्लो पटक जितेका जनप्रतिनिधिले गाउँपालिकाको नाम खत्रिनीकै पतिको नामबाट नामाकरण गरेको थियो ।

अघिल्लो पटक जिल्लामै सबै वडासहित फराकिलो अन्तरले माओवादी केन्द्रले उक्त गाउँपालिकामा जित हासिल गरेको थियो । सबै ६ वटा वडा रहेको उक्त गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित १, २, ४ र ५ वडामा माओवादी केन्द्रले जितेको हो । अन्य दुई वटामा कांग्रेसले जितेको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?