निर्वाचितलाई पुनः पराजित भनेपछि बर्दियाको गुलरियामा विवाद- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

निर्वाचितलाई पुनः पराजित भनेपछि बर्दियाको गुलरियामा विवाद

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिका ४ का अजमेर अली नाउ एमालेबाट खुल्ला सदस्य पदमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्‍यो । घोषणालगत्तै उनका समर्थकले खुसियाली मनाउँदै र्‍याली निकाले ।

घोषणा गरेको ४ घण्टापछि उनी पराजय भएको सूचना निर्वाचन कार्यालयले पुनः सार्वजनिक गर्‍यो । आइतबार बेलुकी निर्वाचित घोषित अजमेर ४ मतले पराजित भएको घोषणापछि एमाले समर्थक आक्रोशित भएका छन् । ‘कांग्रेसका इस्राइल नाउलाई १ हजार १ सय ४६ मतले निर्वाचित गराइयो‚’ अजमेरले गुनासो पोखे । म पराजित भएको भए मलाई किन निर्वाचित भनियो, ‘उनले भने‚ ‘यो धाँधली हो । धाँधली गरेर कांग्रेसलाई निर्वाचित गराइयो ।’ उनले आफ्नो बेइजति गराइएको भन्दै मतगणना गर्ने कर्मचारीले गम्भीर लापरबाही गरेको आरोप लगाए । उनले मतगणकहरूमाथि छानबिन गरी कारबाही हुनुपर्ने भन्दै आक्रोश पोखे ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मतगणनामा धाँधली भएको भन्दै मतगणना कार्य केहीबेर रोकेका थिए । वडा नम्बर ८ को मतपेटिका खोलिएकाले मतगणना गर्न दिने सहमति भएको छ । माओवादीका मेयरका उम्मेदवार गेहेन्द्र ढकालले जबसम्म पुनः मतगणना हुँदैन तबसम्म वडा नम्बर ९ देखि १२ वडासम्मको मतगणना गर्नु नहुने बताएका छन् । यो व्यवस्थापनका कमीकमजोरी भएको उनले जनाए ।

मतगणनास्थलमा गुलरिया नगरपालिकाका कर्मचारी फेरिनुपर्ने एमालेले माग गरेको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्

गुलरिया–१ मा कांग्रेसको प्यानल विजयी

कमल पन्थी

बर्दिया — सदरमुकाम गुलरिया नगरपालिका–१ मा कांग्रेसको वडाध्यक्षसहित पूरै प्यानल विजयी भएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवार जोगिराम थारुसहित पूरै प्यानल विजयी भएको हो । 

निर्वाचन कार्यालयका अनुसार थारुले १ हजार ३ सय ३९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका राम सुमरिन यादवले १ हजार ४ मत प्राप्त गरेका हुन ।

तेस्रो स्थानमा माओवादी केन्द्रका योगेश राजीले २ सय ४८ मत पाएका छन् । जिल्लाको आठ पालिकाको नतिजा अहिले सम्म प्राप्त भएको छैन ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×