महाकुलुङको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका सूर्य र विपना विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकुलुङको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका सूर्य र विपना विजयी

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अन्तिम मतपरिणाम सार्वजनिक भए अनुसार अध्यक्षमा कांग्रेसका सूर्य बहादुर कुलुङले २ हजार १ सय मत र उपाध्यक्षमा पनि कांग्रेसकै विपना कुलुङले १ हजर ९ सय २९ मतसहित विजयी भएको निर्वाचन अधिकृत टेकनाथ अधिकारीले जानकारी दिए ।


उनका अनुसार सूर्य कुलुङका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सागर किरातीले १ हजार ६ सय २६ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकै उपाध्यक्ष पदकी उम्मेदवार छविमाया कुलुङले १ हजार ४ सय ८३ प्राप्त गरेकी थिइन।

यस्तै नेकपा एमालेका भक्त कुलुङले अध्यक्षमा १ हजार ४ सय ५२ र उपाध्यक्षमा शुभधनी कुलुङले १ हजार ७ सय ३३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

७ हजार ७ सय ८४ मतदाता रहेको महाकुलुङमा ५ हजार ४ सय ४१ मत खसेको थियो । उक्त पालिकामा यसअघि माओवादी केन्द्रबाट अध्यक्ष र नेपाली कांग्रेसबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।

प्रकाशित : जेष्ठ २, २०७९ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्

सोताङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका खिलराज बस्नेत निर्वाचित

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार खिलराज बस्नेत निर्वाचित भएका छन् । यसअघि एमालेले जितेको उक्त पालिकामा एमालेका उम्मेदवारलाई १ सय २८ मतले पछि पार्दै कांग्रेस महासमिति सदस्य बस्नेत पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले १ हजार ६ सय ४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार प्रकाश कार्कीले १ हजार ५ सय २० मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार दिपक खड्काले १ हजार ३ सय ५३ मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उम्मेदवार अन्जु नाछिरिङ विजयी भएकी छन् । उनले १ हजार ६ सय ६९ मत ल्याउँदा एमाले उम्मेदवार मनसरी राईले १ हजार ६ सय ३४ मत पाएकी छन् ।

५ वटा वडा रहेको सोताङ गाउँपालिकाका ३ वडामा कांग्रेस र २ वडामा एमालेले जित हासिल गरेको छ । वडा नम्बर १ मा कांग्रेसका जंगबहादुर गुरुङ, वडा नम्बर २ मा नेकपा एमालेका श्याम राई, वडा नम्बर ३ मा नेपाली कांग्रेसका गोकर्ण बस्नेत, वडा नम्बर ४ मा कांग्रेसकै दिप राई र वडा नम्बर ५ मा नेकपा एमालेका मानवीर राई वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×